सिके राउतका पाँच गलत आधारहरू

प्रकाशित मिति :

रमण पनेरू

केही दिन यता डाक्टर सिके राउत फेरि चर्चामा छन् । उनी फेरि चर्चामा आउनुमा उनको नेपालबाट मधेस अलग्याउने वक्तव्य नै हो । सिके राउतले पहिले एबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्ता एकचोटी फेरि हेरें । सामान्यतया: विद्रोहको नारा लोकप्रिय बनाउन शोषित, उत्पीडितको सहारा नै लिने गरिन्छ । समाजमा जुनसुकै समयमा पनि शोषित, उत्पीडितहरू हुने गर्छन् । आफू उत्पीडित भएको ठान्ने असन्तुष्ट समूह जहिले पनि भेटिन्छन् । अमेरिकामा जस्तो आफैलाई प्रथम विश्व ठान्ने राष्ट्रमा समेत श्वेत नश्लवादीहरूले आफूमाथि आप्रवासीका कारण समस्या भएको भनेर ठान्नेहरू डोनाल्ड ट्रम्पको विजय गराएको सर्वविदितै छ । नत्र २१ औं शताब्दीमा मेक्सिकनहरूलाई अमेरिकाबाट निकाल्ने, मेक्सिकोको सीमामा पर्खाल लगाउने अथवा आप्रवासीलाई धपाउने लगायतका नाराले किन विजय पाउँथ्यो ?
हो, नेपालमा साच्चिकै उत्पीडितहरू छन्— ताप्लेजुङदेखि बाजुरासम्म छन् । त्यसै गरी तराईका जिल्लामा पनि उत्पीडित समुदायहरू छन् । तिनैलाई अनेक नारा दिएर विगतदेखि वर्तमानसम्म थुप्रै सिके राउतहरूले निहित स्वार्थ सिद्ध गरिरहेका छन् । आाखिर त्यही मधेसको राजनीति गरेरै कोइराला परिवार हालसम्म पनि सत्ताको केन्द्रमा छ । माओवादीले पनि मधेसी लगायतका जनताको उत्पीडनलाई नै भजाएर राजनीति गर्‍यो । एमाले पनि त्यस्तैखाले राजनीतिबाट उदाएको हो । मधेसी दलहरूले पनि त्यही उपाय अपनाए र अहिले सिके राउत पनि त्यस्तै गर्दैछन् । फरक के हो भने पहिले अधिकार मागिन्थ्यो, र अहिले प्रदेश र राज्य मागिँदैछ ।
यो लेखमा सिके राउतले आफ्नो धारणाको सार्थकता सिद्ध गर्न अपनाएका गलत आधारहरूलाई केलाउने प्रयास गरिएको छ :

१. इतिहासको गलत व्याख्या
सिके राउतले मधेसलाई स्वतन्त्र राज्यको रूपमा रहेको कुरा स्थापित गराउन गलत तथ्यको सहायता लिएका छन् । यसबारे खोजीनीति गरौँ । इमानसिंह चेमजोङको किराँतको इतिहास र संस्कृति नामक पुस्तकमा यस विषयमा धेरै उल्लेख छ । इसाको सातौँ शताब्दीमा सान मोक्वान जातिका सात सय परिवार दक्षिण चीनको युनान प्रान्त अन्तर्गतको मोक्वान क्षेत्रबाट मुङ मो रङको नेतृत्वमा बर्माहुँदै नेपालको तराई क्षेत्रमा बसोबास थाले । मोरङ (राजाको नामबाट), रंगोली (विराटनगर, राजाको दरबार भन्ने अर्थमा), मक्वानपुर (मुङ मो रङ का उत्तराधिकारी मोक्वान सान) आदि नाम त्यही बेलादेखि चलेको हो । त्यस बेला काठमाडौँमा श्रंङ चङ गम्पोको एक वर्षे शासन चलेको थियो भने मिथिला क्षेत्रमा पनि तिब्बती शासन थियो भनेर मिथिलाका शशिनाथ चौधरीले ‘मैथिली साहित्य’ नामक पुस्तकमा उल्लेख गरेका छन् । यसै कुरालाई विपि सिन्हाले मगध राज्यको अवसानमा समेत समर्थन गरेका छन् । राजा मुङ मो रङले पूर्वी किराँत र त्यस आसपासका क्षेत्रमा नियन्त्रण लिएर काठमाडौँ उपत्यकादेखि दुधकोशीसम्म खुम्बुवान, दूधकोशीदेखि मेचीको पश्चिमसम्म लिम्बुवान र मोरङ भनेर उनको अधीनमा रहेको सम्पूर्ण तराई क्षेत्रलाई नामाकरण गरी शासन गरे ।

साङलाइङ वंशका किराँती राजा विजयनारायण राईले सन् १५८४ मा स्थापना गरेको विजयपुर लिम्बुवान र मोरङको राजधानीका रूपमा सन् १७७४ सम्म स्थापित थियो । सान मोक्वान वंशका (दक्षिण चीनको युनान प्रान्तबाट आएका) किराँती राजा लो हाङ सेनले सन् १६०९ त्यसमाथि कब्जा गरे । त्यही राज्यमा राजा कामदत्त सेनलाई मारेर उनका देवान वृद्धिकर्ण राईले १७६९ देखि १७७३ सम्मको सात वर्षे शासन चलाए । तत्पश्चात त्यो नेपाल अधिराज्यमा पृथ्वीनारायण शाहद्वारा गाभियो ।

यही किराँती भूमिलाई सिके राउतले पृथ्वीनारायण शाह पूर्वको मधेसीको स्वतन्त्र राज्य भनेर दाबी गरेका छन् । खासमा डा. राउतसंग आफ्नो इतिहास नै छैन । उनी अरू कसैको इतिहासलाई आफ्नो बनाएर त्यही गलत जगमा राजनीति गरिरहेका छन् । किनकि पृथ्वीनारायण शाहले गाभ्दा त्यहा बुद्धिकर्ण राईको शासन थियो । राईहरू कहिलेदेखि मधेसी भए ? राज्य बचाउन बुद्धिकर्ण राईले अङ्ग्रेजलाई गुहारेको र उनीहरूलाई राजश्वको प्रलोभन दिएर पृथ्वीनारायण शाह विरुद्ध भड्काएको कुरा इतिहासमा उल्लेख छ । पृथ्वीनारायण शाहले चातुर्यका साथ बुद्धिकर्ण राईको हत्या गराएर विजयपुरको विद्रोह शान्त पारेका थिए । अङ्ग्रेजहरूलाई समेत बुद्धिकर्ण राईले कबोलेको कर आइन्दा नेपाल अधिराज्यले पनि निरन्तरता दिने भनी शान्त पारेका थिए । तिनै बुद्धिकर्ण राईको आत्मालाई बुढा सुब्बा भनेर अहिलेसम्म पूजा गरिन्छ । यो भूमिलाई अहिले आएर पृथ्वीनारायण शाहले खोसेको मधेसीको राज्य भन्नु न्यायसंगत हँुदैन । बरु त्यो भूभागको लागि किराँतीहरूले आवाज उठाउनु जायज हुन्छ ।

२. नश्लीय सोच
यहाँ बेलाबेला मधेसी, खस, किराँती भनेर जात र नश्लको कुरा गरिन्छ । खासमा पृथ्वीनारायणपूर्व जति बाहिरियाहरूले नेपालमा आक्रमण गरेर शासन चलाए उति सबैले त्यहाँ बस्दै आएकाहरूसंग मिसिनलाई विहेवारी चलाउनेदेखि आफ्नो जातमा मिसाउने, धर्म परिवर्तन गराउने लगायतका काममा लागेका थिए । स्थानीयसंग घुलमिल हुंदामात्र सत्ता टिक्ने स्वार्थका कारण उनीहरू त्यसो गर्न बाध्य थिए । त्यस क्रममा कति किराँती बने र पछिल्लो चरणमा हिन्दु बनाउने लहर पनि चल्यो । लिम्बु, लेप्चा, मगर, गुरुङ, तामाङ सबै फरकफरक जराबाट आए पनि सबैले अहिले आफूलाई किराँती मान्छन् । वास्तवमा किराँती भनेका सबैभन्दा पहिले मध्यपूर्वबाट आएर अफगानिस्तानदेखि बर्मासम्मको हिमाली श्रृंखला आसपास बस्ने जातिहरू थिए । तिनको चर्चा महाभारतदेखि बाइबलसम्म पाइन्छ । बाँकी जातिहरू त्यही किराँत जातिमा मिसिँदै अहिलेको किराँती समुदाय बनेको हो । खसहरू किराँती पछ्याउँदै नेपाल पसेका जाति हुन् । खस र आर्य भनेको एकै होइन । आर्यहरूले खसलाई असभ्य र तल्लो स्तरको मान्दथे भन्ने कुरा बद्रिदत्त पाण्डेको ‘कुमाउको इतिहास’ पुस्तकमा उल्लेख छ । भारतबाट विस्तारित आर्यहरूले पछि गएर हिन्दुत्वको प्रचारप्रसार गर्ने क्रममा थुप्रैको धर्म र जात परिवर्तन गराएको देखिन्छ । शाह वंशको थालनीको इतिहासले पनि त्यो कुरा बुझ्न मद्दत गर्दछ ।
हिन्दूकरणकै अभियान अन्तर्गत कुलमण्डन खान (यहाँ खान भन्नाले चंगीज खान जस्तै मंगोलियन वा किराँती जात हो) लाई राजकाजको प्रलोभन देखाएर शाह बनाएको र उनकै पुस्ताले लमजुङ, गोर्खाहुँदै आधुनिक नेपालको एकिकरण गरेको देखिन्छ । त्यही हिन्दूकरण गर्ने बेलामा धेरै किरातीले धर्म परिवर्तन गरेको र आफूलाई उच्च जातिका रूपमा स्थापित गरे । त्यसैले बेलाबेला नेपालका शाह वंश मगरका सन्तान वा मगरहरू थिए भनेर बेलाबेला चर्चा हुने गर्दछ । यसरी हिन्दु भएकाहरूले गैरहिन्दूलाई तल्लो स्तरको मान्ने र भेदभाव गर्ने गरेको भनेर पनि चेमजोङले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
सबैको नश्ल पहिचान गरे पनि सिके राउतले मधेसीको नश्लचाही बताउन चुकेका छन् । मधेसी त भूगोलका आधारमा भएको वर्गीकरण हो । इतिहासका आधारमै पनि भन्ने हो भने मोरङ राज्य अन्तर्गत किराँतीसमेत निकै पहिलेदेखि तराईमा बसोबास गर्दथे । पश्चिम तराईको कुरा गर्ने हो भने त्यहाँ थारूहरूको बाहुल्य पाइन्छ । थारू समुदाय आफूलाई मधेसी भन्दा सांस्कृतिक, भाषिक र ऐतिहासिक हिसाबले भिन्न ठान्छन् । उनीहरूलाई मधेसका नाममा आफ्नो पहिचान ओझेलमा पर्ने चिन्ता छ । त्यसै गरी मधेसमा बस्दै आएका खस–आर्य मूलकलाई त राउतले मधेसीका शत्रु नै मान्छन् ।
यस परिप्रेक्षमा मधेसी को हुन् ? उनीहरूको नश्ल र मूल कहाँ को हो ? यति हँुदाहँुदै पनि देशको आधा जनसङ्ख्या मधेसीको छ भन्दा थारू, खस–आर्य, किराँती आदि सबैलाई गणना गर्न चाही पछि पर्दैनन् । मुद्दा बलियो बनाउन टाउको गन्ने तर तिनको टाउको देखाएर अधिकार चाही आफ्ना विशेष नश्लका लागि माग्ने काम राउतजस्ता नेताहरूले बारम्बार गरिरहेका छन् । नत्र आफू माथिको सांस्कृतिक दमन गरेको भनेर आरोप लगाउनेले अर्काको संस्कृतिको सम्मान र पहिचान गरेको खै ?
३. विकास नहुनुको कारणको अपव्याख्या
राउतले मधेसी विरुद्धको विभेदको कुरा गरेका छन् । मधेसमा विकास नहुनुको कारण मधेसीमाथिको विभेद भएको उनको तर्क छ । यो तर्क मधेसकेन्द्रित राजनीति गर्ने धेरै नेताको छ । मधेसमा विभेद नभएको होइन । त्यहाँ विभेद छ, तर त्यसको सारा दोष ‘खस–आर्य’माथि थुपार्नु गलत हुन्छ । हालसालै तराईका जिल्लाहरू समेत समावेश गरेर गरिएको एक अध्ययनमा सबैभन्दा गरिब जिल्ला बाजुरा र त्यसपछिका जिल्लाहरूमा कर्णालीका देखिएका छन् ।
ती जिल्ला पहिले डोटी र जुम्ला जस्ता शक्तिशाली खस राज्यको मातहत थिए । जुम्लाको सिंजाबाट नै नेपाली भाषाको उत्पत्ति भएको मानिन्छ । जुन भाषा मधेसमा लादेको भनिएको छ, त्यो भाषाका मूलभाषीको समाज अविकास र दुर्गमताको पर्याय बनेको छ । जुम्ला त्यो जिल्ला हो जो २०६३ सालको अन्त्यमा आएर मात्रै सडक सञ्जालले जोडिएको थियो ।

यो अवस्थामा खस–आर्यले भाषा लादे या अन्यलाई विभेद गरे भन्नु उचित हुँदैन । यो कुनै जातिविशेषको अर्को जाति माथिको विभेदको कारणले मात्रै भएको अविकास नभएर केन्द्रिकृत सत्ता संरचनाको कारणले भएको हो । एकीकरण ताका पुराना शासन प्रणालीहरू भत्काइए तर प्रभावकारी नयाँ शासन प्रणालीको विकास हुन पाएन । भौगोलिक विकटता लगायतका कारणले विकास हुन नसकेपछि अलिकति सम्पन्न हुने बित्तिकै सदरमुकाम जाने, अझै बढी भए तराई झर्ने र त्योभन्दा बढी भए काठमाडौँ बसाइ सर्ने क्रमले दुर्गम ठाउँमा निजी क्षेत्रबाट सम्भव हुने विकास समेत हुन सकेन । राजश्वको समानुपातिक र न्यायोचित वितरण नहुनुले दुर्गम जिल्ला दुर्गम नै रहे र केन्द्रहरूमा मात्रै धेरथोर विकास हुन थाल्यो ।
४. समुदाय भित्रकै विभेदलाई ढाकछोप
राउतले मधेसको विकासको चाबी स्वतन्त्र राज्य भएको भनेर भन्दा त्यहाको आन्तरिक विभेदहरू खाली लक्षण मात्रै भएको भनेर भनेका छन् । यो कुराको सत्यता जाच्न एउटा उदाहरण प्रस्तुत गर्नु उपयुक्त हुनेछ । एउटा टेलिभिजन कार्यक्रममा सिराहा जिल्लाको नैनपुरका दीपक मल्लिकलाई इनार छुनबाट सारा गाउँलले रोकेको र त्यसका अलावा पनि त्यस जिल्लामा थुप्रै जातीय विभेदका घटना भएको भनी देखाइएको थियो । भन्नलाई सरकारी नीति दोषी भनिए पनि त्यहाँ मल्लिकलाई इनार छुनबाट छेक्ने सरकार थिएन । त्यस्तै मधेसी विद्यार्थीहरू सहरमा कोठा लिएर बस्न जाने क्रममा कोठा पाउन समेत मुस्किल हुने गरेको त्यहा भनिएको थियो । त्यो पनि सरकारले नभएर स्थानीय मधेसी उच्चजातका मानिसहरूबाटै भएको विभेदको परिणाम थियो । एक जना दलित युवकले योग्यता हुँदाहुँदै पनि शिक्षक अथवा पियनको जागिर पाउन नसक्नुका पछाडि कथित उच्च जातका मानिसले आफ्ना छोराछोरीलाई दलितको हातबाट कुटाई खाएको देख्न नसक्नु नै हो । त्यस्तै कार्यालयका अन्य कर्मचारी दलितको हातको चिया, खाजा खान मान्दैनन् । यो सबै विभेदको कारक सरकारलाई मान्नु र छुट्टै राज्यले यसको हल गर्छ भन्नुले सिके राउतको पूर्वाग्रही सोच मात्रै हो ।
५. नाच्न नजान्ने आागन टेढो
भनिन्छ जो मान्छेसंग सीप र क्षमता छैन, काम गर्ने जाँगर छैन त्यसले आफूबाहेक सबैमा कमी देख्छ र आफ्नो असफलता र असक्षमताको सारा दोष अरूमाथि थोपर्छ । सिके राउतका बोलीले पनि त्यस्तै कथनलाई चरितार्थ गरेको छ । साझा सवालकै एक अर्काे कार्यक्रममा सप्तरी जिल्लाको विकासका बारेमा सामग्री प्रस्तुत गरिएको थियो । मधेसी नेता राजेन्द्र महतो पनि त्यसमा सहभागी थिए । उनको र राउतको बोली ठ्याक्कै मिलेको थियो । हरेक कुरामा राज्यलाई दोष दिन उनी पछि परेका थिएनन् ।
आफूले नागरिकता प्राप्त गरिसकेपछि बाबुलाई नागरिकता दिलाउने र आवाज उठ्दा माओवादीका नाममा प्रशासनमा आगो लगाएर प्रमाण नष्ट पार्ने आरोप लाग्ने गरेका राजेन्द्र महतोले पनि सप्तरीका १६ जना सांसदको संसदीय क्षेत्र विकास कोषको करिब २५ करोड रुपैयाँ कहाँ जान्छ भन्ने प्रश्नको उत्तर दिन सकेनन् । मधेसका शुभचिन्तक ती १६ जना माननीय सांसदले वार्षिक २५ करोड रुपैयाँ किन मधेसको विकास गर्न खर्च गरेनन् ? आम मधेसीले बुझ्न जरुरी छ । यी मधेसी नेताहरूले ध्यान नदिएको मोहरी नदीको सुलिसगेट मर्मत गर्ने काममा सरकारले छुट्याएको १२ लाख रुपैयाँको अपचलनका बारेमा सोध्दा समेत निर्लज्ज भएर अनभिज्ञता जनाउछन् । त्यो जिम्मा पनि सरकारकै थाप्लामा राख्छन् । अनि २५ करोडबाट २५ लाख मात्रै खर्च गर्दा पनि हजारौँ घर डुबानबाट बच्ने हुँदाहँुदै पनि त्यसो किन गर्न सकिएन भन्दा हाकाहाकी कार्यकर्ता पाल्न खर्च गरिएको हुनुपर्छ भनेर अड्कलबाजी मात्रै गर्छन्, ठोस कुरा बाहिर आउँदैन ।

मधेसको माग स्वतन्त्र राज्य भनेर बोली रहँदा मधेसी महिला भने रक्सी खाएर आफूलाई कुट्ने पतिलाई तह लगाउन प्रहरी प्रशासनले घरेलु मदिराको विक्रीवितरणमा रोक लगाए पुग्ने बताउँछन् । त्यस्तै शौचालय निर्माणमा सरकारी सहयोग मिले जनजीवन केही सहज हुने कुरा उठाउँछन् । हुलाकी सडकको निर्माण चाडो होस् भन्ने आकाङ्क्षा राख्छन् ।
यस्ता सामान्य माग भएको समाजलाई विखण्डनकारीका रूपमा उभ्याएर सिके राउत जस्ता स्वघोषित मधेसी ठेकेदारले जातीय विद्वेष बढाउने काम मात्रै गरिरहेका छन् । कार्यक्रममा मधेसमाथि विभेद भएको सिद्ध गर्न सरकारले ९० प्रतिशत राजस्व मधेसबाट उठाउने भए पनि १० प्रतिशत मात्रे बजेट मधेसका लागि विनियोजन गर्ने भनेर गलत तथ्याङ्क दिएर जनतालाई भ्रमित पारिरहँदा विद्या चापागाईंले सरकारी कागजमा ३७ प्रतिशत देखिन्छ भनेको आवाज सुन्नै नचाहने राजेन्द्र महतो अर्का अवसरवादी हुन् । काठमाडौँमा महल ठड्याएर मधेसीको सच्चा प्रतिनिधि भन्ने महतो जस्तै नेताहरूको कारण मधेस पिछडिएको हो । नत्र तिनका घरसम्मै जानका लागि पनि सडक बन्ने थिए, अन्य सेवा सुविधा पनि थपिने थिए ।
माथिका पाँच आधारअनुसार हेर्ने हो भने पीडित एक्लो मधेस मात्रै छैन, देशका अन्य कुनाकाप्चामा पनि विकासको किरण पस्न बाँकी छ । पीडक कुनै निश्चित जात र वर्गका मानिस मात्रै होइनन्, बरु सिंहको खोल ओडेका तिनै समाज भित्रका ब्वाँसा हुन् । हालको नेपाली संस्कृतिको विकासका क्रममा धेरै जातजातिका सांस्कृतिक कुराहरू आदानप्रदान भएका छन् । किराँती राजा बलिहाङले चलाएको देउसी–भैलो खस–आर्यले समेत गाउँछन्, तराईको होलीमा पहाडी पनि रमाउछन् । छठमा मधेसीले सूर्य पूजन गरिरहँदा सुदूरपश्चिममा जात्राहरू मनाइन्छन् । जानकीलाई सबैले मान्छन । भृकुटी, इमानसिं चेमजोङ, पासाङ ल्हामु, जय पृथ्वीबहादुर, आदि सबैका साझा राष्ट्रिय विभुती हुन् ।
इतिहास बन्ने क्रममा कमिकमजोरी भए होलान् । त्यसको फरक कोणबाट विवेचना गरेर सबैले गौरव गर्ने खालको इतिहास निर्माण आजको आवश्यकता हो । गलत भएका काम पनि जोगाएर भावी पुस्तालाई पाठ साबित हुने गरी राखियोस् । अझै पनि नाजी जर्मनीका पालामा बनेका बन्दी गृहहरू जोगाइएर राखिएको छ ताकि भावी पुस्ताले इतिहास दोहोर्‍याउने गल्ती नगरोस् । सामानुपातिक निर्वाचन प्रणाली, आरक्षण, सङ्घीयता, लगायतका माध्यमबाट सुनौलो भविष्य सुनिश्चित गर्ने प्रयास भइरहँदा सबैले साथ दिनु जरुरी छ । अपरिवर्तनीय बुँदा केही पनि नभएको संविधान समयसंगै परिमार्जित गरेर लैजानु कुनै कठिन कुरा होइन । बरु मतभेदहरू बढाएर शत्रुलाई फाइदा लिने अवसर थपिदिंदा भोलि देश नै नरहने स्थिति आयो भने कसलाई फाइदा पुग्ला । सिक्किम विलय भएको इतिहास छेवैमा रहँदा, नाटकीय पाराले क्रिमिया रुसमा गाभिएको बेला स्वतन्त्र मधेस दिगो हुन्छ भन्ने तर्क वाहियात र प्रायोजित तर्क मात्रै हो । जनमत सङ्ग्रह त क्रिमियामा पनि भएकै हो । जनमत सङ्ग्रहका परिणाम सधैँ सही हुन्छन् भन्ने पनि छैन । देश रह्यो भने कानुन त भोलि पनि बदलिएला, तर देशै नरहे के गर्ने ?
जय देश !

    Comment Here!