स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा चार करोड

  • पदम बडाल
प्रकाशित मिति :

दार्चुला । दार्चुला जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७५ को व्यवस्थाअनुसार योजनाहरू छनोट गरिएको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ ।
नेपाल सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत प्रतिनिधि सभाका प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ बजेट व्यवस्था गरेको थियो । दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्ना नेतृत्वको कार्यक्रम निर्देशक समितिले बजेट बाडफाट गरेको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ ।
प्रतिनिधि सभाका सदस्यद्वय ठगुन्ना र दिलेन्द्रप्रसाद बडूको सहमतिमा छनोट गरिएका योजनाहरूले सडक र बाटोमा प्राथमिकता दिएका छन् ।
कार्यक्रम अन्तर्गत आठ वटा सडक निर्माण गर्न एक करोड ९३ लाख रुपैयाँ छुट्याइएको छ । दत्तु—थाप्ला—भगवती—मालिकार्जुन सडक निर्माणमा ५० लाख रुपैयाँ छुट्याइएको छ । दत्तु—थाप्ला खण्डमा २५ लाख र मालिकार्जुन—भगवती खण्डमा २५ लाख रुपैयाँ खर्च गरिने जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले बताए ।
त्यस्तै, शैल्यशिखर नगरपालिकामा देथला रानीशिखर आगर सडक, मालिकार्जुन र लेकम गाउपालिका जोड्ने भर्तोला लाली सडक र महाकाली नगरपालिकाको वडा नम्बर ५ मा बाटो निर्माणका लागि ३०/३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै कार्यक्रम अन्तर्गत दुहु गाउँपालिकाको जनविकास मावि बारबाजको छात्रबासका लागि ५० लाख, नौगाड गाउँपालिकाको गणेशविनायक मावि सिप्टीको फिल्ड निर्माण र अपिहिमाल गाउँपालिकाको निमावि सितीको भवन निर्माणका लागि २०/२० लाख विनियोजन गरिएको छ ।
त्यसैगरी महाकाली नगरपालिकामा रहेको कैलाशपति निमाविको घेरपर्खाल र शौचालय निर्माणका लागि १५ र लेकम गाउँपालिकाको प्रावि टकना भवन निर्माणका लागि १७ लाख रुपैयाँ विनियोजन गरिएको जिल्ला समन्वय समितिको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, कार्यक्रम अन्तर्गत ३० लाख रुपैयाँ मन्दिर निर्माणका लागि विनियोजन गरिएको छ । नौलो मन्दिर हुती र द्वालपाटा मन्दिर, दुर्गा मन्दिर ताकु गुल्जर तथा ऐरीटोल मन्दिर निर्माणका लागि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी लास्कुखोला जलविद्युत भौतिक निर्माणका लागि १६, मडगाउँमा सामुदायिक भवन निर्माणका लागि १५ र शैल्यशिखर वडा नम्बर ८ को सहकारी भवन निर्माण सुधार तथा चुकान खोनपानीका लागि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    Comment Here!