काँग्रेस संसदीय दलद्वारा निर्मलाका लागि न्याय अभियानमा ऐक्यवद्धता

प्रकाशित मिति :

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलद्वारा कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि जारी अभियानमा ऐक्यवद्धता जनाइएको छ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि निर्मलाका लागि न्या अभियान अन्तर्गत जारी धर्नामा प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावल, दलका प्रवक्ता डिल्लीराज पन्त, प्रदेश सभा सदस्य उमा देवी बादी सहितले ऐक्यवद्धता व्यक्त गरे ।
सो अवसरमा प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सांसद रावलले बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक दोषिलाई अहिलेसम्म सरकारले पक्राउ गरि सार्वजनिक गर्न नसक्नु लज्जास्पद भएको बताए ।
उनले भने– चार महिना अघि भएको निर्मला बलात्कार र हत्या घटनाका विरुद्ध देशभरी आन्दोलन भइरहेको छ । निर्मलाका लागि न्याय अभियानमा आम नागरिक समेत आन्दोलित भएका छन्, तर वर्तमान सरकार भने केही पनि नभएको जस्तो कानमा तेल हालेर बसेको छ ।
प्रमुख प्रतिपक्ष नेता रावलले प्रदेश सभामा निर्मला बलात्कार तथा हत्या घटनाको सत्यतथ्य तथा वास्तविक दोषि पत्ता लगाउन बारम्बार आवाज उठाएको स्मरण गरे । उनले चेतावनी दिए– प्रदेश तथा संघीय सरकारले छिटो घटनाका वास्तविक दोषि पत्ता लगाएन भने हामी संसद बैठक अवरुद्ध गर्न बाध्य हुने छौं ।
धर्नामा ऐक्यवद्धता जनाउदै प्रदेश सभामा काँग्रेसका प्रवक्ता सांसद डिल्लीराज पन्तले काठमाडौंमा उपचारमा रहेका निर्मलाका बुवा यज्ञराज तथा न्यायको माग गर्दै भएको आन्दोलनमा घाइते भएकाहरुको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले बहन गर्नुपर्ने बताए ।
यसैबीच, प्रमुख प्रतिपक्षी दलका नेता रावलसहित काँग्रेसका सांसदहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रहरी उपरीक्षक कुवेर कडायत सहित अधिकारीहरुसंग निर्मला बलात्कार तथा हत्याकाण्डको प्रहरी प्रशासनबाट जारी अनुसन्धानबारे जानकारी लिएका थिए ।
सांसदहरुको टोलीलाई प्रहरी उपरीक्षक कडायतले सिआइवीको टोलीले निर्मलाको बलात्कार र हत्यामा संलग्न भएको आशंकामा पछिल्लो पटक काठमाडौंमा प्रदिप रावललाई नियन्त्रण लिएको जानकारी दिएका थिए । प्रहरी उपरीक्षक कडायतका अनुसार प्रदीपलाई शंका गर्ने केही आधार भेटिएको र उनको बयानका आधारमा थप तीन जनालाई बिहिबार काठमाडौं पठाइएको बताए ।
स्रोतका अनुसार प्रहरीले विशाल, दिनेश र पवन चौधरीलाई धनगढी विमानस्थलहुदै काठमाडौं पठाएको छ ।

    Comment Here!