लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : धार्मिक अगुवाहरूमाझ अन्तरक्रिया

प्रकाशित मिति :

धनगढी । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा बिहीबार धनगढीमा धार्मिक गुरु तथा विभिन्न सरोकारवालाहरूमाझ अन्तरक्रिया कार्यक्रम भएको छ ।
अभियानका क्रममा महिला हिंसा विरुद्ध अन्तरधार्मिक जिल्ला सञ्जाल (निरन) नेपालको आयोजनामा भएको कार्यक्रममा पण्डित, लामा, भिक्षु, पुरोहित, पाष्टर, मौलाना आदिको सहभागिता रहेको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले धर्मका नाममा कसैको पनि अधिकारको हरण गर्न नपाइने चर्चा गरिन् । उनले धर्म र संस्कारका कारण महिलामाथि भइरहेको हिंसा न्यूनीकरणका धार्मिक अगुवाहरूले अगुवाई गर्नुपर्ने बताइन् । नगर उपप्रमुख मिश्रले समाजमा छोरी भएकै कारण हुने विभेद अन्त्य गरी न्यायमूलक समाज निर्माणका लागि सबैमा आग्रह गरिन् । “धर्मका नाममा महिलामाथि हिंसा हुनु मानव अधिकारको चरम उलंघन हो” उनले भनिन्– “छोरालाई उन्माद बनाएर छोरी लुकाउन सुहाउँदैन ।”
कार्यक्रममा निरनका अध्यक्ष लालबहादुर विष्टले लैंगिक समतामूलक समाजको निर्माण गर्न सामाजिक विसंगति तथा कुरीतिको अन्त्य गर्नुपर्ने बताए । उनले समाजमा विद्यमान कुरीति र कुसंस्कारहरू धर्म शास्त्रीय आधारमा अध्यासमा आएको नभई गलत परम्पराका रूपमा विकसित भएको तथ्यगत आधार जनसमक्ष ल्याउन सबै धर्मका अगुवाहरू गोलवद्ध भएर लाग्नुपर्ने बताए ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा कैलाली बारका अध्यक्ष प्रेम चन्द, अधिवक्ता सर्जु चौधरी, सिविन नेपालका हरिलाल चौधरी, महिला पैरवी मञ्चका गोमा आचार्य, फाया नेपालका पूर्व अध्यक्ष धनपति ढुंगेल, पुरोहित धर्मभक्त जोशी, भीम तामाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सञ्जालकी धनादेवी खनालले स्वागत गरेको कार्यक्रममा ओरेक नेपालकी सरिता चौधरीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव दु:खीराम चौधरीले गरेका थिए ।

    Comment Here!