धर्म र समाजलाई कुरूप बनाएका विभेद्का अवशेषहरू

  • गणेश नेपाली
प्रकाशित मिति :

भनिन्छ, ‘परिवर्तन भएको छ । पहिलेभन्दा अहिले धेरै परिवर्तन भएको छ । परिवर्तन विस्तारै हुन्छ । परिवर्तन आफै हुन्छ’ पीडितबाट जातीय छुवाछूतका विरुद्ध यस्ता अभिव्यक्ति तब आउँछन्, जब अनेकौं विभेदको कुचक्रमा जकडिएर आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, शैक्षिक हैसियत गुमाउँदै आएका जातिहरू विश्वमा हुँदै आएका मानव मर्यादाका आन्दोलन र क्रान्तिद्वारा प्रभावित भएर त्यसको प्रवाहमा जोडिँदै प्रगतिशील, लोकतान्त्रिक, समाजवादी, जनवादी लगायतका राजनीतिक र आर्थिक आन्दोलन र क्रान्तिहरूद्वारा उत्साहित भएर हरेक क्षेत्रमा समानता खोज्छन् । त्यतिबेला उत्पीडित समुदायलाई मौजुदा परिस्थितिमा नै चित्त बुझाउन अप्रत्यक्ष दवाव दिइन्छ ।
स्वतन्त्रता र समानताको आन्दोलनमा रगत, पसिना बगाएको, साक्षर मात्र होइन कि उच्चशिक्षा स्वदेश र विदेशमा अध्ययन गरेको वर्तमान पुस्ता विभेद्का पक्षमा मौनता धारण गरेर बस्न सक्तैन र बसिरहेको पनि छैन । जसरी अध्ययन र रोजगारीका लागि पाश्चात्य मुलुक पुगेका नेपालीहरूले जातीय संकीर्णताको दायरा युरोप, अमेरिकासम्म पुर्‍याएका छन् । हँुदाहँुदा यहाँसम्मकी बेलायतमा आफ्नै घर भएका ९० प्रतिशत नेपालीले नेपाली दलितलाई आफ्नो घरमा भाडामा डेरा दिँदैनन् भन्ने एउटा सर्वेक्षणले देखाएको छ । सन् २०१८ मा छोरा, बुहारीलाई भेटेर अष्ट्रेलियाबाट फर्किएकी एक दलित महिलाका अनुसार आइतबारका दिन सार्वजनिक उद्यानमा घुमिरहेका नेपालीहरूसँग भेट हुँदा सबै खुशी हुने, तर जात थाहा भएपछि बोल्न समेत अप्ठ्यारो मान्ने गर्दछन् ।
‘पहिलेभन्दा परिवर्तन भएको छ’ भन्नेहरूले यस्ता समाचार पढ्छन् कि पढ्दैनन् ? अथवा थाहा पाएर पनि बुझ पचाउँछन् कि ? कमसेम देशमा जातीय छुवाछूत २००७ साल जस्तो छैन । २०४६ सालभन्दा पहिले जस्तो नि छैन । केही परिवर्तन भएको यथर्थतालाई हृदंगम गर्नैपर्छ । २०४६ सालपूर्व पनि देशका तराई क्षेत्रका केही शहर र सदरमुकामका बजार क्षेत्रका चिया पसल, होटेल, लजहरूमा जातीय छुवाछूत थिएन । बसोबास क्षेत्रमा भने ती सदरमुकाम र शहरी क्षेत्रमा पनि जातीय छुवाछूत चरम थियो । जुन अवस्था वर्तमानमा पनि सदरमुकाम समेतका बस्तीहरूमा २००७ सालपूर्व अथवा २०४६ सालपूर्व कै अवस्थामा विद्यमान छ भने पीडित समुदायले अन्यायका विरुद्ध बोल्दा कसरी भन्न सक्छन् कि ‘परिवर्तन आफैं हुन्छ भनेर अथवा परिवर्तन त भएको छ नि ?’ भनेर ।

यो समाजमा हामी कोही पीडित छौं, कोही पीडक छौं । कोही जानेर बुझेर अथवा शिक्षित भएर पनि छौं कोही भने साँच्चै नबुझेर छौं ।

मानिसले बसोबास गर्ने गाउँ र शहरी क्षेत्रमा हिजो पनि परिवर्तन भएको थिएन, आज पनि परिवर्तन भएको छैन । अझ पनि हाम्रा बस्ती, मन्दिरहरूमा जातीय विभेद कायमै छ । कोही असल सज्जनले विभेद अन्त्य गर्ने हिम्मत गरेर आफ्नो घरको पूजाआजा, धार्मिक अनुष्ठानमा दलित समुदायलाई सहभागी गराए भने सामाजिक झमेला, सगोत्रीहरूको कचकच तथा गैरदलितबाट उपहासको पात्र बन्नुपर्ने अवस्था कायमै छ । अनि कहाँ भएको छ, जातीय छुवाछूतको अन्त्य ? अनि कसरी भन्न सकिएला कि बिस्तारै परिवर्तन भइरहेको छ वा परिवर्तन त भएको छ नि ? भनेर । एउटै टोलमा बसेर पनि अपरिचित झैं संवादहीन हुनुपर्छ, केवल जातीयता कै कारण । राजनीति गर्ने, सार्वजनिक ओहोदामा पुगेर नीति निर्माण तहसम्म पुगेकाहरू पनि विवाह जस्ता सामाजिक, धार्मिक सांस्कृतिक संस्कारहरूमा दलित र गैरदलित समुदायका लागि भिन्दाभिन्दै भान्सा बनाउन उद्यत हुन्छन् भने यो विभेदपूर्ण अभ्यासको कहिले अन्त्य होला ? बिडम्बना, त्यस्ता घटना दोहोरिदा ती घटना विशेष मुद्दा नै बन्न सक्तैनन् । यद्यपि, ती गाउँवस्तिमा सरकारको उपस्थिति नहुन सक्छ । तर, सरकार चलाउने पार्टी र अन्य पार्टीहरूको उपस्थिति राम्रै हुँदा पनि यस्ता सामाजिक अन्यायपूर्ण व्यवहारप्रति त्यस्तै संस्थाका प्रतिनिधिहरू मौन बस्छन् । समानता, स्वतन्त्रता, मानव अधिकार र मानव मर्यादाका लागि राजनीति गर्छौ भन्नेहरू कसका स्वाभिमानका लागि राजनीति गरिरहेका छन् ? के उनीहरू दलित समुदायको अधिकारका लागि लडेका होइनन् ? बरु हाम्रा नेताले हाम्रो पार्टीले मात्रै सामाजिक न्यायका क्षेत्रमा धेरै गरेको छ भनेर लेघ्रो तान्छन् । उनका नेता र पार्टीले गरिसकेपछि उनीहरूको कर्तव्य सकिदैन । बरु उनीहरूको कर्तव्य अझ बढ्छ । जातीय छुवाछूत विद्यमान ग्रामीण बस्तिका राजनीतिक दलका कार्यकर्ताका लागि चुनौति बढेर जान्छ । जुन चुनौतिसामु कार्यकर्ताहरू पराजित भइरहेका छन् । जबकी हृदयदेखि नै राजनीतिक दलको सदस्य भएका कार्यकर्ताहरू प्रमुख जिम्मेवार हुन वस्ती वस्तीमा समानता र स्वतन्त्रताको अभ्यास गराउने अभियानका उनीहरूको दलको वैचारिक धरातल अनुसार ।
एक सरकारी प्राविधिक कर्मचारी जसले आफ्नो छोराको विवाहमा आफ्नै टोलका छिमेकी दलितहरूलाई निम्ता दिएनन् । विवाह समाप्त भएपछि एक साँझ टोलभरीका दलितहरूलाई जतिसुकै खर्च भए पनि भोज खुवाउने कुरा गरे, तर त्यस टोलका दलित युवाहरूले विरोध गरेपछि ती प्राविधिक सरकारी कर्मचारीको सामन्ती अभिष्ट पूरा हुन सकेन । निम्ता दिनु वा नदिनु उनको अधिकारको कुरा हो, तर सामन्ती अभिष्टको अभिव्यक्तिले नेपाली समाजमा जातीय सामन्ती अभ्यास कति मात्रामा छ भन्ने कुरा यस्ता घटनाले पुष्टि गर्दछन् । यो घटना कुनै जिल्लाको सदरमुकामको जिल्ला प्रशासन कार्यालय नजिकको वस्तीको हो । सायद, त्यस्तै भएर होला त्यहाँका दलितहरूको प्रतिक्रियाको प्रतिफल जोखिमपूर्ण नभएको । ग्रामीण वस्तीका दलितहरू मन नलागेर पनि त्यस्तो सामन्ती भोज खान बाध्य हुन्थे होलान् ।
अन्तरजातीय विवाह गर्ने जोडीहरूको अवस्था यति गाह्रो हुन्छ कि उनीहरूले गाउँ छोड्नुपर्ने, उनीहरूको दलित परिवारले नै विस्थपित हुनुपर्ने, असुरक्षित हुनुपर्ने जस्ता अनिष्ट दलित पक्षका लागि आइलाग्छन् । अन्तरजातीय प्रेम विवाह भएका युवा युवतीले राणाकालमा पनि असुरक्षित हुनुपर्दथ्यो, आज पनि त्यस्तै भयावह अवस्था छ भने जातीय छुवाछूत र विभेद कहाँ कम भएको छ ? यो अवस्थालाई हेर्ने हो भने विस्तारै परिवर्तन नै भएको छैन भन्न सकिन्छ । चिया पसल वा होटेलसम्मको परिवर्तनमा चित्त बुझाएर बस अरू त यति छिट्टै हुँदैन भन्न चाहेको प्रतीत हुन्छ कथित उच्च वर्णहरूले । यो समाजले कहिले महशुस गर्ला दलित समुदायको परिवर्तन र मुक्तिको आकांक्षा ? लाग्छ यो समाज ढुंगा समान छ चेतनासून्य ।
देशको संघीय राजधानी र प्रान्तीय राजधानीहरूमा दलित सांसदहरूले डेरा नपाएका समाचार बाहिर आए । अध्ययन र रोजगारीको शिलशिलामा राजधानी लगायतका शहरहरूमा पुगेका दलितहरूले नागरिकतामा उल्लेखित थर अनुसार डेरा पाउन कठिन हुने र डेराका लागि नागरिकतामा उल्लेखित थर लुकाउनुपर्ने बाध्यतालाई थर वा जात ढाटेको भन्नु कति उपयुक्त होला ? अनि शहरको केन्द्रमा अवस्थित मन्दिरमा भजन गाइरहेको दलितलाई मन्दिरबाट बाहिर निकालिन्छ । जातीयताका कारण यसरी बाहिर निकालिदा अपमानित भएको दलितप्रति सहानुभूतिसम्म नहुने यो समाजमा जातीय दुव्र्यहार गर्ने पठित धर्माचार्यलाई बचाउन सम्पूर्ण किसिमका प्रयास हुने गरेका छन् ।
यी र यस्ता रूपका अनेकौं घटनालाई दलित समूदायले दिनहुँ सामना गर्न बाध्य हुनुपरेको छ । हरेक दिन प्रत्येक दलितलाई आफू दलित भएका कारण उपेक्षित हुनुपरेको, उत्पीडित हुनुपरेको, अपमानित हुनुपरेको तिक्तता बोध हुने गर्दछ । जन्मेदेखि मृत्युसम्म अनेक संस्कारहरू अवलम्बन गरिँदा गरिने अभ्यासहरूलाई सामाजिक रूपमा जात अनुसार निर्वाह गर्न निर्देशित भइरहँदा विभेद छताछुल्ल भएको स्पष्ट छ । यसरी सतहमा हाम्रो जीवन पद्धतीसँगै विभेद र छुवाछूत देखिँदा पनि परिवर्तन भएको छ अथवा भइरहेको छ भन्नु सोच र चिन्तनमा केही न केही गडबडी छ भन्ने बुझ्नुपर्ने हुन्छ । एउटा समुदायले सामाजिक विभेद कै कारण आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक, सांस्कृतिक रूपमा सधैं र जहातही अपमान, उत्पीडन, अन्याय र उपेक्षा छ भन्ने निष्कर्ष निकालेको छ । अर्को समुदाय विभिन्न बहानामा विभेद र छुवाछूतलाई बचाई राख्न चाहान्छ ।
वर्तमानको सबैभन्दा ठूलो उपलब्धि भनेको विद्यालय तथा विश्वविद्यालयको शिक्षामा सहज अध्ययन अध्यापनको अवस्था हो । तथापि, शैक्षिक क्षेत्रमा आर्थिक हैसिययत अनुसारको शैक्षिक संस्थामा अध्ययनको अवस्था आर्थिक विभेद र असमानता स्पस्ट देखिए पनि अब जातीय विभेद शैक्षिक संस्थामा प्रवेश नै गर्नका लागि भने छैन । विभेद अन्त्य भएका क्षेत्रलाई पनि बिर्सन मिल्दैन । यद्यपि, दलित समुदायका विद्यार्थी, शिक्षक, प्राध्यापकहरूको कथाव्यथा फरक होला, तर पनि विभेद रहित प्रवेशलाई भने सकारात्मक परिवर्तन मान्नै पर्छ । संविधानले प्रत्याभूत गरेका अधिकार समेतलाई यो समाजले तह लगाउन सकेको छ । ऐन, नियम र कानूनलाई विभिन्न बहाना र चाहनामा निरीह बनाई कमजोर जाति, वर्ग र समुदायलाई ठाडो उठ्न नदिने समाज सभ्य हुन सक्तैन । हामी यस्तै समाजका सदस्य हौं । यो समाजमा हामी कोही पीडित छौं, कोही पीडक छौं । कोही जानेर बुझेर अथवा शिक्षित भएर पनि छौं कोही भने साँच्चै नबुझेर छौं । सार्वजनिक स्थान र कार्यक्रमहरूमा कहिलेकाही कोही व्यक्ति यस्ता पनि देख्छौं जो पानी, चिया, खाजा र खाना खानुपर्दा विभिन्न बहाना बनाएर या त नखाने अथवा कसैले थाहा पाएको छैन जस्तो ठानेर सबैभन्दा पहिले खाईसक्ने चतुरे संकीर्णहरू हुन्छन् । यो सबै घटना हाम्रा समूदायमा दोहोरिरहने विभेदहरू हुन् ।
त्यसैकारण हाम्रो समूदायको विभेद र छुवाछूतलाई प्रश्रय दिने तहका अधिकांश व्यक्तिहरू छुवाछूत बचाई राख्न चाहन्छन् । अब कुनै पनि बहानामा जातीय छुवाछूत बचाउनु भनेको हिन्दू समाजको चेहरालाई कुरूप बनाउने दागका अवशेषहरू ? थाती राखेर हाम्रो समाज सुन्दर छ भनी दावी गर्नु हो । यो दावीको अब सर्बत्र निन्दा हुन्छ र भइरहेको छ । सुतुर्मुर्गले झै जमीनमा टाउको लुकाएर पूरा शरीर जमीन बाहिर हुँदाहुँदै पनि आफूलाई कसैले नदेखेको भ्रममा पर्नु हो । हिंस्रक जनावरको आक्रमणमा पर्दा या आधीतुफान आउदा सुतुर्मुर्गले बच्ने यो उपाय उपनाउछ रे । हाम्रो समाज धर्म र समाज भित्रका विकृति, विसंगति र कमी कमजोरीहरूलाई थाती राखेर अन्य धर्मका अगाडि रक्षात्मक अवस्थामा रहेको छ । अब धर्ममा पुनर्जागरण ल्याइएन भने हाम्रो समाज त वैदिक युगमा साम्यवादी थियो भन्नुको कुनै अर्थ रहने छैन । जीवन पद्धतिलाई परिमर्जन गर्दा सबै जातिका ऋषिमूनीहरू बसेर व्यापक छलफल पछि सहमतिमा पुग्थे भनेर हाम्रो समाजको प्राचीन प्रजातान्त्रप्रति गौरव गर्नुको कुनै अर्थ रहने छैन । हाम्रो समाजको मौलिक साम्यवाद र लोकतन्त्रको प्राज्ञिक व्याख्या र विश्लेषणको कुनै अर्थ रहने छैन ।
धार्मिक दृष्टिकोणले हिन्दू धर्म र समाजका विरुद्ध अन्य धर्मावलम्वीहरूले प्रहार गरिरहन सजिलो आधार यिनै दागका अवशेषहरू नै हुन् । संसारमा सबैले आफ्नो धर्म उत्कृष्ट भनिरहँदा र समानताको अभ्यासहरू गरिरहँदा विभेद र छुवाछूत झेलिरहेकाहरू समानतायुक्त समूहतिर आकर्षित हुनु स्वाभाविक हुने हुँदा हिन्दू धर्मलाई खुचिनबाट जोगाउन जे जति बाँकी रहेका विभेदयुक्त धब्बा छन्, समयमै हटाउन जरुरी छ । होइन भने भारतीय उपमहाद्वीपमा नेपाल र भारतमा सीमित भएको हिन्दू धर्म भविष्यमा कहाँ कहाँ साँगुरिने सम्भावना छ ? ध्यान दिनु अपरिहार्य छ ।

    Comment Here!