अझैं ट्युवको सहारामा नदी तर्दै

प्रकाशित मिति :

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३, बाफीगाउँका स्थानीयहरु अझैं पनि ट्यूवको सहारामा सेती नदी वारपार गर्न बाध्य छन् ।
बाफीगाउँमा जानका लागि गत वर्ष जिल्ला समन्वय समिति डोटीले पुल बनाउने निर्णय गरी केही महिनाअघि समूहगाडको गेरुपानी नजिक झोलुंगे पुल निर्माण गरिएकोमा त्यो पुल उद्घाटन हुन नपाउँदै भत्किएको थियो ।
पुल उद्घाटन हुन नपाउँदै भत्किएपछि स्थानीयहरु पहिलेको जस्तै ट्यूवको भरमा नदी पार गर्नु परिरहेको बाफीगाउँका कलिभान साउदले बताए ।

‘हामी गरिबको भाग्य नै यस्तै हो, पुलमा हिँड्न नपाउँदै भत्कियो । फेरि त्यही ट्यूब काम लाग्ने भयो’ उनले भने ।
स्थानीयले असार, साउनको भेलामा अन्यत्रबाट यात्रा गरे पनि त्यस गाउँका स्थानीयहरु हिउँदे महिनामा सधैँ ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य छन् । सेती नदीमा ज्यान जोखिममा राखेर ट्यूबमा यात्रा गर्ने गरेको नजिकैको केआइ सिंह राजमार्गमा हिँड्ने नेता तथा मन्त्रीहरुले देखे पनि उनीहरुको बारेमा कसैले नबोलेको स्थानीयको आरोप छ ।
सेती नदीमा जोखिम मोलेर यात्रा गर्दा अहिलेसम्म दर्जनौँले ज्यान गुमाइसकको स्मरण आफूसँग अझै ताजै रहेको अर्का स्थानीय महानन्द साउदले बताए ।
‘ट्यूबमा यात्रा गर्दा पल्टिएर कति सेती नदीमा डुबेर मरिसके’, उनले भने, ‘पुल नबने अझै कतिले ज्यान गुमाउने हुन थाहा छैन् ।’
चुनावका बेला नेताहरुले बाफी गाउँका स्थानीयका लागि पुल बनाउने आश्वासन दिए पनि चुनाव सकिएपछि कोही पनि फर्किएर नआएको स्थानीयहरुको आरोप छ । गाउँमा झण्डै दुई सय घरधुरी रहेका छन् । गाउँका स्थानीयहरुले सामान्य घरखर्चको सामान किन्न पनि नजिकैको कालागाढ भन्ने ठाउँको बजारमा आउनुपर्छ । त्यो बजारमा आउनका लागि स्थानीय महिला, केटाकेटीलगायतकाले ट्यूबको भरमा यात्रा गर्ने गरेको स्थानीयवासीहरु बताउँछन् ।
पुल नहुँदा बाफी गाउँका स्थानीयलाई निकै समस्या भएको शिखर नगरपालिका–१, कालागाढका स्थानीय चेत बोगटीले बताए । उनले भने, ‘दिउँसो त केही भइहाले नि पत्ता लागिहाल्छ । कतिपय त राति घर जान्छन, कसरी घर पुग्छन पत्तो हुँदैन् ।’
त्यस गाउँमा पुलको समस्या मात्र होइन, खानेपानी, शिक्षा, स्वास्थ्य र यातायातको पहुँचबाट पनि निकै टाढा रहेको स्थानीयवासीहरु बताउँछन् । दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बाफी गाउँका स्थानीयलाई आवतजावतमा सहज होस् भन्नका लागि पुल निर्माणको कार्य अगाडि बढाइएको बताइन् ।
‘बाफी गाउँका स्थानीयका लागि पुल त गएको वर्ष नै निर्माण भएको हो तर पुल एकाएक भत्किएपछि मैले अनुगमन गरेर तत्काल पुल बनाउन ठेकेदारसँग आग्रह गरेकी छु’, उनले भनिन, ‘निकट भविष्यमै पुल बन्छ र बाफी गाउँका नागरिकको यात्रा सहज हुन्छ ।’

    Comment Here!