एचआइभी संक्रमितहरूका लागि गोरेटो बनाउँदै

  • धनराज विक
प्रकाशित मिति :

लम्की । “बिहान ५ बजे उठ्छु । छोराछोरीलाई खाना खुवाएर स्कूल पठाउँछु । त्यसपछि साइकल चढेर एचआइभी संक्रमितलाई भेट्न र उनीहरूको अवस्थाबारे जानकारी लिन गाउँतिर जान्छु । दिनभरि एचआइभी संक्रमितहरूलाई भेटेर सुखद:ुख साटेर साँझ घर फर्किन्छु” एचआइभी संक्रमित ३० वर्षीया सरिता साउँद आफ्नो दिनचर्याबारे भन्छिन्– “हरेक दिन एचआइभी संक्रमितहरूको इच्छाशक्ति बलियो बनाउने प्रयास गर्ने गर्दछु ।” कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मा बसोबास गर्ने सरिताको १४ वर्षअघि डोटीमा विहे भएको थियो । तर, उनको दाम्पत्य जीवन दश वर्ष मै समाप्त भयो । एचआइभी/एड्सबाट पीडित उनका श्रीमानको मृत्यु भएपछि उनको जीवनमा बज्रपात आइलाग्यो ।
सरिताले आफ्नो जीवनकथा सुनाइन्– “बाल्यकाल पनि माइतीघरमा दु:खमै बित्यो । बुवाले दुइटा विवाह गरेको कारण घरमा सधैं कलह भइरहन्थ्यो । २०६१ सालमा म १६ वर्ष थिए । कक्षा ९ मा पढ्दै थिए । त्यतिबेलै डोटीबाट मलाई विहेका लागि माग्न आए । साँझको बेला उनीहरू मलाई माग्न आएका थिए, अर्कोदिन बिहान मलाई उनीहरूको साथमा मलाई पठाइदिए । यसका साथै मेरो पढ्ने सपना समाप्त भयो । आफ्ना आँसु आफैभित्र लुकाउँदै म कलिलो उमेरमा माइती घर छोडेर पोइली घरतर्फ लागे ।”
सरितालाई उनीहरूले घर (डोटी) नलगी भारतको पञ्जाब लगेर गए । विहेको केही वर्षसम्म उनीहरूको जीवन सामान्य थियो । जेनतेन दिन कटिरहेको थियो । तर, तीन वर्षपछि उनका दु:खका दिन शुरु भयो । उनको श्रीमान्को कानमा घाउ भयो । उपचारका जचाउँदा उनमा एचआईभी/एड्सको संक्रमण देखियो । त्यतिबेला उनको माइलो छोरा चार महिनाको गर्भमा थियो । श्रीमानलाई एचआइभी/एड्स देखिएपछि उल्टै सरितामाथि नै आरोप लगाइयो । उनले ती कष्टपूर्ण दिनको स्मरण गरिन्– “श्रीमानले उल्टै मलाई ‘तेरै कारण मलाई एड्स रोग सर्‍यो’ भनेर गालीगलौज गर्न थाले । हामीबीच झगडा भयो । हामी दुबैजना फेरि स्वास्थ्यजाँचका लागि गयौं । डाक्टरले मेरा श्रीमानमा नै एचआईभी/एड्स संक्रमण रहेको बताए ।”
उनका श्रीमानले उनलाई आफूमा एड्स रोग नभएको भनेर फकाउन खोजे । डाक्टरले पनि झुटो रिपोर्ट बनाईदिएका कारण सरिताले पनि विश्वास गरिन् । उनीहरू २०६५ सालमा नेपाल फर्के । उनीहरू चौमालामा बसोबास गर्न थाले । “मैले पटकपटक स्वास्थ्य जाँच गराए । मलाई एचआईभी संक्रमण देखिएन । श्रीमान् मलाई घर छोडेर फेरि भारतमा रोजगारी गर्न गए” उनले सम्झिइन्– “चौथो पटक गर्भवति भएकी थिए । माइती घर (चुहा) आएको बेला फेरि स्वास्थ्य जाँच गराए । त्यतिबेलासम्म मलाई पनि एचआईभी संक्रमण भइसकेको रहेछ ।”
तीन छोरी र एक छोराकी आमा सरिताको अवस्था पागल झैं भयो । “दिनरात रुनुभन्दा अर्को उपाय थिएन । पटकपटक मर्ने विचार गरे, तर छोराछोरीको मायाले आत्महत्या गर्न सकिन” उनी भन्छिन्– “मैले कसैलाई जानकारी नदिएर टीकापुरमा रहेको नवकिरण प्लसमा १४ दिनसम्म औषधि सेवन गरे । त्यहाँ मेरो थुपै्र एचआईभी संक्रमितहरूसँग भेट भयो । उनीहरूले मलाई सम्झाए । मेरो मन बलियो भयो र बाँच्ने इच्छा जाग्यो ।” चार वर्षअघि भारतबाट घर फर्किएका उनका श्रीमानको उपचारका क्रममा मृत्यु भयो । उनको जीवनमा एकपछि अर्को बज्रपात भइरह्यो । उनको घरपरिवारबाट उनीमाथि अवहेलना, गाली, दुत्कार शुरु भयो । “अति भएपछि म माइतीघर फर्किए” दैनिक मजदूरी गरेर छोराछोरीको लालनपालन गर्दै आएकी सरिता भन्छिन्– “म जस्तै अनाहकमा एचआईभी संक्रमित भएका दिदीबहिनी दाजुभाइलाई बाँच्ने इच्छाशक्ति बृद्धि गर्न म त्यसपछि नियमित रूपमा एचआईभी संक्रमितहरूसँग घरदैलोमा भेटघाट र छलफलको एक्लो अभियानमा जुटेकी छु ।”
सरिताको अनुभवमा समाजमा लुकेर रहेका एचआइभी संक्रमितहरूका कारण समस्या झन् बल्झिने गरेको छ । त्यसैले नै उनी अहिले एचआइभी संक्रमितहरूलाई उपचार पद्धतिमा ल्याउन तथा उनीहरूमा बाँच्ने इच्छा जागृत गर्न एकल अभियानमा जुटेकी छन् ।
उनले २०७३ सालमा गोरेटो नेपाल नामक संस्था दर्ता गरिन् । अहिले सो संस्थामा सचिव पदमा कार्यरत सरिताले गोरेटो नेपालले एचआइभी संक्रमितहरूका लागि नि:शुल्क काम गरिरहेको बताइन् ।
गोरेटो नेपालले लम्कीचुहा नगरपालिकाका दश वटा वडामा दश वटा एचआइभी संक्रमितहरूको समूह निर्माण गरेको छ । सरिताका अनुसार लम्कीचुहा नगरपालिकामा दुई सय ३५ जना एचआइभी संक्रमित छन् । तीमध्ये एक सय पाँच जना एकल महिला, ६१ जना महिला, चार जना बालबालिका र ६५ जना पुरुष रहेका छन् ।
लम्कीचुहा नगरपालिकाका ४० वर्षीया एचआइभी संक्रमित पार्वती थापाले आफ्नो अनुभव सुनाइन्– “मेरो आत्मबल कमजोर भएको थियो । सधैं चिन्ताले पिरल्थ्यो । कहिलेकाँही मर्ने सोच आउँथ्यो । गोरेटो नेपालकी सरिता बहिनीले सम्झाउँन थालेपछि मलाई बाँच्ने ईच्छा जाग्यो ।”
एचआइभी संक्रमितहरूको क्षेत्रमा कार्यरत नवकिरण प्लस, टीकापुरका कार्यक्रम संयोजक अर्जुन ज्ञवाली भन्छन्– “कैलाली जिल्लामा एचआइभी संक्रमित धेरै भएको गोदावरी नगरपालिका हो भने दोस्रो लम्कीचुहा नगरपालिका हो ।”
गोरेटो नेपालका अध्यक्ष धनप्रसाद जैशी (४७) पनि एचआइभी संक्रमित हुन् । लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवा बस्ने धनप्रसाद एचआइभी संक्रमितको पहिचानका साथ काम गर्दै आएका छन् । “एचआइभी संक्रमण फैलिन नदिन समाजमा जागरण ल्याउन जरुरी छ” उनले भने ।
धनप्रसादले १६ वर्षसम्म भारतमा रोजागारी गरेका थिए । उनका शब्दमा : बेलाबखत म घर आउने जाने गर्दथे । २०६३ सालमा घर आएको बेला पखाला लाग्यो । औषधि खाँदा पनि निको भएन । पछि भारत गएर स्वास्थ्य जाँच गराउँदा एचआइभी संक्रमित देखियो । मलाई विश्वास लागेन । बेहोस भए । एड्स रोग लागेको मान्छे मर्छन भनेको सुनेको थिए । मैले कुनै गलत काम गरेको थिइन्, तर पनि यो रोग लाग्यो । यसले मलाई जीवनभर पीडा भइरहेको छ । उनले भने– “मेरो टाउकामा समस्या भएका कारण अपरेसन गर्नु पर्‍यो । सायद अपरेसन गर्ने क्रममा गलत सुईका कारण एचआइभी संक्रमण भएको हुनुपर्छ ।
उनलाई डाक्टरले नियमित रूपमा औषधि सेवन गरे दश वर्ष बाँच्न सकिने बताएपछि उनमा बाँच्ने आशा जाग्यो । “अहिले बाह्र वर्ष भयो, बाँचिरहेको छु” उनी भन्छन्– “श्रीमतीमा पनि एचआइभी संक्रमित देखियो । हामी २०६३ सालमा भारतबाट घर फर्कियौं । गाउँ समाजले तिरस्कार गर्न थाले । मैले मेरो रोगबारे सबैलाई जानकारी गराए । त्यतिबेला सँगै सुते पनि रोग सर्छ भन्ने गलत बुझाईका कारण हामी घरपरिवारबाट अलग बस्यौ । अहिले घरपरिवारमा मिलेर बसेका छौं । समाजले पनि राम्रो व्यवहार गर्न थालेका छन् ।”
समाजमा अहिले पनि एचआइभी संक्रमितप्रति तिरस्कारको भाव रहने गरेको छ । घरपरिवारदेखि समाजबाट दिनहुँ जसो प्रहार हुने अपहेलना, तिरस्कारका कारण कतिपय एचआइभी संक्रमितहरू जीवनमा अगाडि बढ्ने कुनै मार्ग नपाएर भौतारिरहेका हुन्छन् । घरपरिवार, समाजको तिरस्कारका कारण अँध्यारोमा भौतारिरहेका एचआइभी संक्रमितहरूका लागि सरिता अगाडि बढ्ने गोरेटो बनाउन सधैं एकलव्य भावले तल्लिन छिन् ।

    Comment Here!