सम्पादकीय : लैंगिक हिंसा विरुद्धको ऐक्यवद्धता

प्रकाशित मिति :

विगतका वर्षहरू झैं यस वर्ष पनि लैंगिक हिंसा विरुद्धको सोह्र दिने अभियान शुरु भएको छ । यस पटकको नारा छ– लैंगिंक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार तय भएको छ । यस पटक पनि विभिन्न रचनात्मक कार्यक्रमसहित लैंगिक हिंसाबारे समाजमा जागरुकता बृद्धिका लागि प्रयास भइरहेको छ । सरकार, परिवार र समाजका साथै सम्बन्धित पक्षलाई लैंगिक हिंसा रोकथाममा प्रभावकारी भूमिका निर्वाहका लागि घच्घच्याउने खालका कार्यक्रमहरू सञ्चालन गरिदैछन् । घरभित्र तथा बाहिर महिला विरुद्ध हुने कुनै पनि किसिमका भेदभाव तथा हिंसा रोकथामका लागि राज्य तथा गैरराज्य पक्षबाट अहिलेसम्म भएगरेका प्रयासहरूको गम्भीर समीक्षा गर्दै आगामी दिनका लागि गर्नुपर्ने प्रयासबारे बहस हुनेछन् ।
कैलालीसहित सुदूरपश्चिम प्रदेशमा महिला हिंसा विरुद्धको सोह्र दिने अभियान सञ्चालन भइरहेका कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्डको चर्चा सान्दर्भिक हुन्छ । बालिका निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पुगिसकेको छ, तर अहिलेसम्म सरकारले न त घटनाको सत्यतथ्य पत्ता लगाएको छ, न घटनाका वास्तविक दोषिलाई पक्राउ गर्ने तथा सार्वजनिक नै गरेको छ । बालिका छोरीका लागि न्यायको माग गर्दागर्दा उनका बुबाको मानसिक अवस्था दिनप्रतिदिन चिन्ताजनक बन्दै गएको छ । बालिका निर्मलाका अभिभावक, आफन्तजन मात्रै होइनन्, देशभरीबाट न्यायका लागि निरन्तर आवाज उठिरहेका छन् । देशबाहिर पनि यो घटनाप्रति निकै चिन्ता र चासो व्यक्त भइरहेको छ । तर, निर्मलाले न्याय कहिले न्याय पाउँछिन् ? कसैले पनि भन्न सकिरहेका छैनन् । महिला हिंसा विरुद्धको सोह्र दिने अभियान सञ्चालन भइरहेका निर्मला र उनी जस्ता हिंसा र हत्याको मारमा परेका हजारौं नारीको स्मरण जरुरी छ ।
कतिपय सन्दर्भमा कतिपय कार्यक्रम फगत औपचारिका पुरा गर्नका लागि मात्रै आयोजना हुने गरिएका हुन्छन्, होलान् । कतिपय सन्दर्भमा कतिपय पक्षबाट यस्ता अभियानलाई रमिताका रूपमा व्याख्या गर्ने दुस्प्रयास पनि हुने गरेका छन् । तर, महिलामाथि हुने कुनै पनि किसिमको भेदभाव तथा हिंसाबाट मुक्तिको सवाल महिलाको आत्मसम्मान, अधिकार तथा समानताको हकको सवाल हुन् । आत्मसम्मानपूर्वक तथा बिना कुनै डरभय र हिंसा समाजमा बाँच्न पाउने अधिकारको सवाल हो । हाम्रा सामाजिक, सांस्कृतिक संरचना, अभ्यास र प्रचलनका कारण एक्काइसौं शताब्दीमा समेत महिलाले घरभित्रै र बाहिर भेद्भाव र हिंसा भोग्नु परेको दुर्भाग्यपूर्ण अवस्थाको पूर्णरूपमा अन्त्यको सवाल हो । गर्भदेखि मृत्युसम्म महिला भएका कारण पीडा सहनुपर्ने अवस्था जारी रहनु निश्चय पनि सभ्य समाजका लागि कलंक हो भन्ने सवाल हो ।
हामी अहिले विश्वकै उत्कृष्ट राज्य प्रणालीमा छौं । संविधान, कानूनले महिलामाथि कुनै पनि नाममा कुनै पनि किसिमको भेद्भाव र हिंसालाई दण्डनीय बनाएको छ । तर, महिलामाथि अहिले पनि कुनै न कुनै बहानामा भेदभाव र हिंसा दोहोरिने गरेको छ । यो बिडम्बनापूर्ण अवस्थाको अन्त्य नै यस्ता अभियानको सार्थकता हो भन्नेमा विमति रहँदैन । त्यसैले महिला हिंसा विरुद्धको सोह्र दिने अभियान हरेक वर्ष दोहोरिने औपचारिकता मात्रै हुनुहुँदैन । त्यसैले सबै तहका सरकारहरू, समाज सहित सबै सरोकारवालाहरूबाट यो अभियानमा इमान्दारिका साथ ऐक्यवद्धता जरुरी छ ।

    Comment Here!