अतिक्रमणले बसन्ता जैविक मार्गको अस्तित्व खतरामा

मुकेश टेंर्रा

प्रकाशित मिति :

धनगढी । “‘यसैगरी वन विनास हुँदै गयो भने वसन्ता जैविक मार्गको अस्तित्व ४० वर्षमा सकिनेछ” वनविज्ञ एकराज सिग्देलले ‘वसन्ता करिडोर टुवार्ड एक्सटेन्सन’ शिर्षकको लेखमा कैलालीको वनजंगल विनासको अवस्था विश्लेषण गर्दै उल्लेख गरेका छन्– “सन् १९५८ देखि सन् २००१ सम्म कैलालीको वसन्ता वनको १७ हजार पाँच सय ६० हेक्टर क्षेत्र घटेको छ ।” सन् २०१० मा प्रकाशित सो लेखअनुसार वार्षिक चार सय आठ हेक्टरका दरले वसन्ता वन नासिँदै गएको छ ।

विगत र वर्तमानमा वसन्ता जैविक मार्ग । पहेलो घेरासम्म पहिलेको वसन्ता वन र सो घेराभित्रको हरियो वन वसन्ता क्षेत्र । खैरो क्षेत्र अतिक्रमित वसन्ता वन ।

वसन्ता जैविक मार्गमा अतिक्रमण अझै रोकिएको छैन । डिभिजन वन कार्यालय, कैलालीका एक वन प्राविधिक अनुसार वसन्ता वनमा पछिल्ला वर्षहरूमा अतिक्रमण झन् बढेको छ । बाढीपीडित, भूमिहीन र सुकुम्बासीका नाममा भइरहेको अतिक्रमण तथा विकास निर्माणका नाममा वनजंगल कटानीका कारण वसन्ता जैविक मार्ग नासिँदै गएको छ ।
विभिन्न समयमा गरिएका अध्ययन अनुसार कैलालीमा एक सयभन्दा बढी ठाउँमा वन अतिक्रमित छ । वसन्ता वन क्षेत्रमा मात्रै २० भन्दा बढी ठाउँमा अतिक्रमण भएको छ । वसन्ता वनका चारैतिर अतिक्रमण भएको पाइन्छ । त्यसमा पनि पश्चिमीतिरबाट अझ बढी अतिक्रमण भएको छ ।
सन् २००१ पछि वसन्ता जैविक मार्गको अवस्था विश्लेषण भएको छैन । डिभिजन वन कार्यालय, कैलालीका प्रमुख अमरबहादुर बुलनका अनुसार वसन्ता वन अतिक्रमणमा परेको भए पनि अतिक्रमित वन र मौजुदा वनको विस्तृत सर्भे भएको छैन ।
डिभिजन वन कार्यालय, कैलालीका प्रमुख बुलनले भने– “राष्ट्रिय महत्त्वका ठूला विकास निर्माण आयोजना, हुलाकी सडक, सेती लोकमार्गका साथै स्थानीय तहले निर्माण गर्ने सडक, गौशाला, विद्यालय, खानेपानी आदिका लागि वन मासिने क्रम जारी छ । त्यस्तै, मुक्त कमैया, सुकुम्बासी तथा बाढीपीडितको नाममा अतिक्रमण जारी छ । यसको प्रत्यक्ष प्रभाव वसन्ता वनमा पनि पर्ने गरेको छ । अतिक्रमण तथा लगातारको निवासका कारण अहिले वसन्ता वन निकै संवेदनशील भइसकेको छ ।”
वसन्ता वनबारे डिभिजन वन कार्यालय, कैलालीले अहिले अध्ययन रिपोर्ट बनाइरहेको छ । वन कार्यालयका सूचना अधिकारी भोलानाथ ढकालले रिपोर्ट सार्वजनिक गर्न केही समय लाग्ने बताए । अध्ययन प्रतिवेदन अनुसार वसन्ता वनको कुल ६९ हजार एक दशमलव २२ हेक्टर संरक्षित छ । त्यसमध्ये १४ हजार चार सय ३७ दशमवल ६८ हेक्टर कृषि तथा आवदीमा छ । वसन्ता वन कुल ८३ हजार चार सय ३८ दशमलव नौ हेक्टरमा फैलिएको छ ।
डिभिजन वन कार्यालय, कैलालीकै आर्थिक वर्ष २०७४/०७५ को अर्को प्रतिवेदनमा वसन्ता संरक्षित वनको क्षेत्रफल ६८ हजार आठ सय ३६ दशमलव ५३ हेक्टर मात्रै छ । यसले पनि वसन्ता वनको संरक्षित क्षेत्र दिन प्रतिदिन घट्दै गएको प्रमाणित गरिरहेको छ ।
स्थानीय तहमा वसन्ता वनलाई ‘बर्का वनुवा’ (ठूलो वन) भनेर चिनिन्छ । केही वर्ष पहिले यो वनको क्षेत्रफल निकै ठूलो रहेको थियो । स्थानीयका अनुसार त्यतिबेला एक/दुई जना मानिसहरूले जंगल पार गर्न सक्ने स्थिति थिएन । जंगलमा बाघ, भालु, हात्ती लगायत जंगली जनावरको त्रास थियो । हिंडेर जंगल पार गर्न दिनभरि लाग्ने गर्दथ्यो ।
अहिले अवस्था परिवर्तन भएको छ । लगातारको अतिक्रमण तथा फडानीका कारण वसन्ता वन क्षेत्र ठाउँठाउँमा पातलिएको छ । बसन्ता पूर्वपश्चिम लोकमार्गमा सबै भन्दा साँघुरिएको छ भने पूर्वपश्चिम हुलाकी मार्गमा १८ किलोमिटर मात्र छ । बसन्ताको दक्षिणी क्षेत्रबाट अतिक्रमण भई बसन्ता अव भारतको दुधुवा नेशनल पार्कसंग करिब करिब विच्छेदको अवस्थामा पुगेको छ । यसले गर्दा जैविक मार्गको अस्तित्व नै खतरामा परिसकेको छ ।

कैलाली जिल्लामा अतिक्रण अंकित गरिएको नक्सा । रातो चिन्ह लगाएको क्षेत्रहरू वन अतिक्रमित क्षेत्र हुन् ।

“वसन्ताको चौडाई पातलिनुमा अतिक्रमण नै प्रमुख कारण हो” एक जना वन प्राविधिकले भने– “पछिल्लो समय कैलाली जिल्लाका विभिन्न वनमा अतिक्रण बढेको छ र त्यसको सबैभन्दा ठूलो मारमा वसन्ता परेको छ ।”
हुलाकी सडक आयोजनाका इञ्जिनियर पदमबहादुर मडैका अनुसार निर्माणाधिन पूर्वपश्चिम हुलाकी मार्गको दुई किलोमिटर खण्डमा मात्रै एक हजार ४० वटा रुख काटिने छन् । यसअघि हुलाकी सडकको वसन्ता खण्डको १६ किलोमिटर निर्माण भइसकेको छ ।
वसन्ता वन संरक्षणमा चूनौति थपिदै गएको छ । राजनीतिक दल, कर्मचारीहरू समेतको मिलेमतोमा वसन्तामा अतिक्रमण हुने गरेको कतिपय घटनाले देखाएका छन् ।
हालै तराई आर्क ल्याण्डस्केप (ताल) परियोजनाले वसन्ता वनमा गरेको ‘पार्टीसिपेटरी थ्रेट असिस्मेन्ट’ रिपोर्टमा नौ वटा चूनौतिहरू उल्लेख गरिएका छन् । रिपोर्टमा अतिक्रमण र भौतिक संरचना निर्माण नै वसन्ता वनको अति उच्च चूनौतिका रूपमा उल्लेख गरिएको छ । त्यस्तै, उच्च चरिचरण र चुरे विनासको उच्च चूनौतिका रूपमा उल्लेख छ भने आगलाली, नदीकटान र सिमसार तथा वन्यजन्तुको वासस्थान घट्ने चूनौति पनि छ । रिपोर्टले अनुमति विना स्थानीयहरू जंगलमा पसी चोरी सिकारी गर्ने र काठ तस्करी गर्ने नयाँ चूनौति विकास भएको जनाएको छ ।

बसन्ता वन अतिक्रण गरी बनाइएका घर तहरा ।

संरक्षित वनको रूपमा रहेको वसन्ता वनलाई जोगाउन चूनौति थपिएपछि डिभिजन वन कार्यालय, कैलालीले सामुदायिक वनको रूपमा धमाधम हस्तान्तरण गर्न थालेको छ । डिभिजन वन कार्यालयका प्रमुख बुलनले वसन्ता वन जोगाउन नसकिने स्थितिमा पुगेपछि समुदायलाई जोगाउने र प्रयोग गर्ने गरी सामुदायिक वनको रूपमा हस्तान्तरण गर्ने क्रम जारी रहेको बताए ।
उनका अनुसार वसन्ता वनमा ८८ वटा समूहलाई सामुदायिक वन हस्तान्तरण गरिरसकेको छ । ७१ वटा समूहले वसन्ताभित्र पर्ने वन संरक्षण गरिरहेका छन् । उनीहरूलाई पनि छिट्टै हस्तान्तरण गर्ने तयारी भइरहेको वन डिभिजन कार्यालय प्रमुख बुलनले बताए । उनले संरक्षित वन भन्दा सामुदायिक वन जोगाउन सहज रहेको कैलालीका सामुदायिक वनको ईतिहासले देखाएको हुनाले वसन्तालाई पनि समुदायमा हस्तान्तरण गरिएको बताए । “समुदायले घास, दाउरा गर्छन्, वन जोगाउँछन्,” कार्यालय प्रमुख बुलनले भने– “वन वरिपरीको समुदाय नै वनको संरक्षक भएपछि बाहिरकाले आएर अतिक्रमण र तस्करी गर्न सक्ने सम्भावना कम हुन्छ ।

वसन्ता वनसम्बन्धी केही तथ्य
वसन्ता वनको सीमाना
पूर्व : भजनी–त्रिशक्ति र घोडाघोडी नगरपालिका
पश्चिम : गौरीगंगा नगरपालिका, कैलारी, चुरे र मोहन्याल गाउँपालिका
उत्तर : मोहन्याल गाउँपालिका
दक्षिण : कैलारी गाउँपालिका, भजनी–त्रिशक्ति नगरपालिकासँग जोडिएको नेपाल–भारतको सीमाना छुट्याउने मोहना नदी
वसन्ताको जैविक विविधता : ३४ प्रकारका स्तनधारी, एक सय ४० प्रजातिका चरा, २७ जातिका माछा, विविध प्रकारका उभयचर तथा सरिश्रृपहरू र एक सय १३ प्रजातिका रुख, जंगली धान ।
जैविक विविधताका संवेदनशील क्षेत्र
पाटेबाघ– भजनी, खैलाड, लालबोझी
हात्ती– लालबोझी, चुरेभावर हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज
गिद्ध– जोशीपुर, भजनी र लालबोझी
सारस– पुरैनाताल, लालबोझी वन्जरिया ताल
डल्फिन– मोहना नदी,
सिमसार : २७ वटा ताल (लौकाभौका, वन्जरिया, पुरैना, घोरताल, सोनिया, रूपिया, नुक्लीताल, लम्की, बखारी, कोलकट्ला, ढडरौवा, पिपरौवा, गुर्दवा, लखराया, दिदीबहिनी, लोहटिहुवा, नमकी, खौरवा, खरौना आदि)

तस्बिर र  नक्सा स्रोत : डिविजन वन कार्यालय कैलाली

    Comment Here!