राधा भन्छिनः पटक–पटक बोक्सी आरोप लगाउँथे कालिराम

  • शेरबहादुर ऐर
प्रकाशित मिति :

कैलाली । बुधबार सबैको घरमा लक्ष्मीको पुजा चलिरहेको थियो । बोक्सीको आरोपमा कुटपिटमा परेकी घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलिया बस्ने राधा चौधरी पनि घरमा लक्ष्मीको स्वागत गर्ने तयारीमा थिइन । घरकै आगनमा बसेकी राधाको घरमा छिमेकी कालिराम चौधरी पुगे ।
‘त वोक्सी होस्, तेरै कारणले भोले वावा जेलमा छ । तैले जालझेल गर्छेस् लगायतका आरोप लगायो’ कालिचरणले आफुमाथि लगाएको आरोप सम्झदै राधाले भनिन् ‘बेला–बेला कालिचरणले मलाई यस्तो शब्द प्रयोग गर्दै आएको थियो । मेरो आमाले त्यो सुनेपछि दुबै बिच बादविवाद भयो ।’ बादविवादकै क्रममा कालिचरणले आमा फुलकेशरी र राधामाथि कुटपिट गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
राधालाई अन्तराष्ट्रिय नारी दिवसका दिन बोक्सी आरोपमा निर्मम कुटपिट गरेको घटना अहिले पनि भुल्न नसकेको गुनासो गर्दै भनिन ‘गाउँघर कतिपयले अझै पनि ‘बोक्सी’ भनिरहन्छन् । सुने पनि नसुने झै गर्थे तर, हिजो (बुधबार) आमाले सहन नसकेपछि बादविवाद भएको थियो । बादविवादमै लठ्ठीले हामी दुबैलाई कुटपिट गर्यो ।’
इलाका प्रहरी कार्यक्रय सुखडका प्रहरी निरिक्षक यक्ष राज जोशीका अनुसार राधा माथि कुटपिट हुदैछ भन्ने खबर पाउने बित्तिकै घटना स्थलमा पुगेर कालिचरण चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
कालिचरणले मदिरा सेवन गरी अपशब्द बोल्नुका साथै कुटपिट गरेको प्रहरीको भनाई छ । कालिचरणलाई अपहेलना अन्र्तगत मुद्धा चलाईने सुखडका प्रहरी निरिक्षक जोशीले बताए ।
उनले राधाका परिवारले प्रहरीमा उजुरी दिई सकेको बताउदै जिल्ला अदालत खुलेको दिन म्याद थप गराई अनसुन्धान कार्य अघि बढाइने बताए ।
राधालाई यसअघि २०७४ फागुन २४ गते नारी दिवसका दिन ७ घन्टा निर्घात कुटपिट भएको थियो । २० वर्षीया राधामाथि ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरी र ‘पार्वती माता’’भनिने किस्मती चौधरीले बोक्सीको आरोप लगाउँदै निर्मम कुटपिट गरेका थिए ।
राधाको परिवारमा आमा, बुवा, दाइ, एक भाइ र एक बहिनी छन् । कमजोर आर्थिक अवस्थाका कारण अहिले राधाका बुवा, दाइ–भाइ भारतमा काम गर्न गएका छन् । अहिले राधासहित आमा र बहिनी मात्रै घरमा बस्छन् ।
राधाको कुटपिटमा संलग्न भएका सोही ठाउँका रामबहादुर चौधरी र किस्मती चौधरी अहिले जेल जीवन बिताइरहेका छन् ।

यो पनि पढ्नुस राधा चौधरीलाई फेरि कुटपिट

    Comment Here!