वनस्पति उद्यानमा गौशालाका गाईगोरु

प्रकाशित मिति :

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित देवरिया वनस्पति उद्यानभित्र घाँस दाउरा संकलन गर्न तथा पशुचौपायाको चरिचरनमा पूर्णरूपमा निषेध गरिएको छ, तर उपमहानगरपालिकाले स्वयंले नै यो नियमको उल्लंघन गरेको पाइएको छ ।
धनगढीमा छाडा पशुचौपाया व्यवस्थापनमा चुनौति थपिएपछि उपमहानगरपालिकाले देवरिया वनस्पति उद्यानभित्र अस्थायी गौशाला निर्माण गरेको थियो । “उपमहानगरपालिकाले देवरिया वनस्पति उद्यानमा कुनै किसिमको समस्या नपर्ने गरी गौशाला निर्माण गर्ने सम्झौता गरेको थियो” वनस्पति अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत लक्ष्मण झाले भने– “उपमहानगरपालिकाले सम्झौता अनुसार काम गरेन ।”
वरिष्ठ वैज्ञानिक अधिकृत झाले गौशालाभित्र राखिएका गाई गोरुलाई चरिचरनका लागि वनस्पति उद्यानभित्रै छोडिने गरेको बताए । उनले भने– “उद्यानभित्र जथाभावी रूपमा गाईगोरुहरूलाई छोड्न नपाइने र तोकिएको स्थानमा मात्र चरन र पानीको व्यवस्था गर्ने भनेर सम्झौता गरिएको थियो, तर अहिले गौशालामा रहेका हेरालुले उद्यानभित्र नै जहातही चराउने र तालमा पानी खुवाउने गरेका छन् ।” उनले गौशालाका कारण उद्यानमा रहेको जैविक विविधतामा नोक्सानी भइरहेको बताए । अनुसन्धान केन्द्रले गाईगोरु व्यवस्थापनका लागि उपमहानगरपालिकालाई दश हेक्टर जमिन उपलब्ध गराएको थियो ।
“हामीसँग एक वर्षका लागि सम्झौता गरिएको हो । त्यो बेला छाडा पशुचौपायाको चर्को समस्या भएकाले वैकल्पिक रूपमा व्यवस्थापन गर्न हामीले जग्गा उपलब्ध गराएका हौं” उनले भने– “तर, अहिलेसम्म उपमहानगरपालिकाले अर्को वैकल्पिक व्यवस्था गर्नमा ध्यान नै दिएको छैन ।”
देवहरिया वनस्पति उद्यानमा दुर्लभ, लोपोन्मुख, रैथाने तथा संकटापन्न सूचीमा सूचीकृत वनस्पतिहरूको स्वास्थानीय तथा परस्थानीय संरक्षण गरिरहेको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले छाडा पशुचौपाया व्यवस्थापनका लागि देवरियामा गौशाला निर्माण गरेको र गौशालामा आवश्यक पराल, पानी लगायतको व्यवस्थापन धनगढी उपमहानगरले नै गर्ने गरेको बताए । उनका अनुसार गौशालामा अहिले सात सय बढी गाईगोरु रहेका छन् भने व्यवस्थापनका लागि १० जना हेरालु राखिएको छ ।
“हामीले वनस्पति उद्यानको जग्गा बाहेक सम्झौता गरेको जग्गाभित्र दुई/तीन घण्टा चरिचरन गराउने गरेका छौं” नगर प्रमुख वडले भने– “हामीले जैविक विविधता संरक्षणमा ह्रास आउने कुनै काम गरेका छैनौं ।”

गौशाला हटाउन पत्राचार
यसैबीच, वनस्पति अनुसन्धान केन्द्र, कैलालीले उद्यानभित्र अस्थायी रूपमा निर्माण गरिएको गौशाला हटाउन धनगढी उपमहानगरपालिकालाई पत्राचार गरेको छ ।
केन्द्रले सोमबार उपमहानगरपालिकालाई पत्र पठाउँदै उद्यानभित्र अस्थायी गौशाला राख्ने सम्झौताको म्याद समाप्त भइसकेको ध्यानाकर्षण गराउँदै हटाउन अनुरोध गरेको छ ।
वनस्पति अनुसन्धान केन्द्रले उद्यानभित्र गौशाला सञ्चालनको सम्झौता मिति सकिएको र सम्झौता नवीकरणसमेत नभएकोले अन्यत्र पशुचौपाया व्यवस्थापन गर्न समेत अनुरोध गरेको छ ।
केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत लक्ष्मण झाको हस्ताक्षर रहेको पत्रमा भनिएको छ– वनस्पति उद्यानमा खडा गरिएका अस्थायी टहराहरू हटाइ जैविक विविधताको संरक्षणमा सहयोग पुर्‍याईदिनुहुन अनुरोध गरिन्छ ।
धनगढी उपमहानगरपालिकाले २०७४ साल साउन २५ गते देवहरिया वनस्पति उद्यानको जग्गामा अस्थायी गौशाला निर्माण गर्ने सम्झौता गरेको थियो । साविकको वनस्पति कार्यालय र धनगढी उपमहानगरपालिकाबीच १३ बुँदे सम्झौता गरी सो स्थानमा गौशाला निर्माण गरिएको वनस्पति अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत झाले जानकारी दिए ।
धनगढी उपमहानगरपालिका बजार लगायतका क्षेत्रभित्रका छाडा पशुचौपायाबाट सडक आवगमनमा अवरोध, सम्भावित सवारी दुर्घटना र बालीनालीको नोक्सानी हुनबाट जोगाउन भनी व्यवस्थापनका लागि सो क्षेत्रमा अस्थायी गौशाला निर्माण गर्नमा सहयोग पुर्‍याएको उनले जानकारी दिए ।
उनका अनुसार शहर बजारमा जथाभावी छोडिएका पशुचौपायालाई तत्काललाई अस्थायी प्रकृतिको काडेतार सहितको घेरबार र पशुचौपायाहरूको उचित चरन, आहारा रेखदेखको वन्दोवस्त, वेवारिसे गाई संरक्षण र व्यवस्थापन गर्न जरुरी देखिएकोले प्रमुख जिल्ला अधिकारीको राय सल्लाह बमोजिम सो सम्झौता गरिएको थियो ।
वनस्पति अनुसन्धान केन्द्रले पत्राचार गरेको बारेमा धनगढी उपमहानगरपालिका प्रमुख वडले भने– “छाडा पशुचौपाया व्यवस्थापन सबैको समस्या भएकाले सहमति र सहकार्यकै आधारबाट अघि बढिन्छ । यसमा सम्झौताको कुरा नै आउँदैन ।”

    Comment Here!