दिपु सोसाइटीद्वारा खेलाडीको सम्मान

प्रकाशित मिति :

धनगढी । प्रगतिशील र एकीकृत समाजका लागि विविध पहल (दिपु) सोसाइटीले मंगलबार धनगढीमा टोंग–इल मो–डोका खेलाडीहरूलाई सम्मान गरेको छ ।
दिपु सोसाइटीको आयोजनामा मंगलबार धनगढीमा भएको सम्मान कार्यक्रममा यही अक्टोबर ३० देखि नोभेम्बर २ तारेखसम्म भारतको नयाँदिल्लीमा भएको टोंग–इल मो–डो दशौं विश्वकप प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीहरूलाई सम्मान गरियो ।
सो प्रतियोगितामा स्वर्ण पदक विजेता ऋतु चौधरी, अनिता बिष्ट, पवन हमाल र प्रशान्त चौधरी, रजत पदक विजेता धिरज चौधरी, रोशन सिंह र झलक शाही तथा काँस्य पदक विजेता नम विष्ट, मीना बस्नेत, तीर्थ चौधरी र एञ्जेल चौधरीलाई सम्मान गरिएको थियो । त्यस्तै, खेलका राष्ट्रिय प्रशिक्षक तेज सिंह र फिलिपिन्सका अन्तर्राष्ट्रिय प्रशिक्षक एडोनिस आरसिल्सलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहले खेलाडीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रम संस्थाका अध्यक्ष खडकसिंह नागरीको अध्यक्षतामा भएको थियो ।
टोंग–इल मो–डोका राष्ट्रिय प्रशिक्षक सिंहका अनुसार कोरियाबाट शुरु भएको यो खेल सन् २००५ मा मात्र नेपालमा भित्रिएको थियो । “विश्वमा शान्तिका लागि शुरु भएको यो खेललाई नेपालीमा एकीकृत मार्सल आर्ट भनिन्छ” उनले भने– “यो खेल नयाँ भएकोले अहिलेसम्म नेपालका २५ जिल्लामा मात्र विस्तार भएको छ ।”

    Comment Here!