बझाङ राष्ट्रिय प्रसारण लाइनमा जोडियो

प्रकाशित मिति :

बझाङ । लामो समयदेखि विद्युत अभाव बेहोर्दै आएका बझाङका बासिन्दाले अब यो समस्याबाट छुट्कारा पाएका छन् । बझाङ नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि विद्युत अभावको समस्या सकिएको हो ।
बझाङमा विद्युत पोल गाड्ने र विद्युत लाइन तान्ने काम पूरा भएको नरेन्द्र दावा जेभी निर्माण कम्पनीका प्राविधिक महेश जोशीले बताए । उनले भने– “हाललाई अस्थायी रूपमा विद्युत सेवा आपूर्ति गर्न चैनपुरमा दुईवटा ट्रान्सफर्मर जडान गरी मंगलबारदेखि विद्युत सेवा सञ्चालनमा ल्याइएको छ ।”
बैतडी जिल्लाको बजपानीमा केही ठाउँमा लाइन तान्नका लागि रुख काट्नुपर्ने भएकोले सामुदायिक वनसँग समन्वय गर्न केही समय लागेको र विद्युत लाईन तान्न तथा अन्य प्राविधिक समस्याका कारण विद्युत सेवा प्रवाहमा केही ढिलाई भएको उनले बताए ।
मंगलबारबाट सदरमुकाम चैनपुर र आसपासका गाउँका पाँच हजार बढी घरधुरीले राष्ट्रिय प्रसारण लाईनको विद्युत उपभोग गर्न पाएका छन् । जिल्लाको खप्तड छान्ना गाउँपालिकाका बाहेक बाँकी ११ वटा स्थानीय तहमा पनि विद्युत लाइन विस्तार गर्ने काम जारी रहेको छ ।
राष्ट्रिय प्रसारण लाईन वितरण गर्नका लागि केदारस्युँ गाउँपालिकाको बागथला र जयपृथ्वी नगरपालिकाको सेलाखेतमा सबस्टेसन निर्माण कार्य पनि जरी रहेको छ ।

    Comment Here!