हाइवे बालबाटिकालाई चौथो बर्दगोरिया सेती लोकमार्ग कप

  • पदम ओझा
प्रकाशित मिति :

बौनिया । हाइवे बालबाटिकाले चौथो बर्दगोरिया सेती लोकमार्ग कप फुटवलको उपाधि जितेको छ । मंगलबार सडकपुर बौनियामा भएको फाइनल खेलमा हाइवे बालबाटिकाले घोडाघोडी क्लव, सुखडलाई पाँच गोलका विरुद्ध छ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्यो ।
उल्लेख्य दर्शकमाझ निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो । पेनाल्टी सुटआउटमा घोडाघोडी युवा क्लवका कप्तान राकेश हमालले हानेको पेनाल्टी सुट पोष्टबाट बाहिरिएपछि खेल हाइवे बालिबाटिकाको पक्षमा गएको थियो ।
जीतसँगै हाइवे बालबाटिकाले दुई लाख रुपैयाँ पुरस्कार तथा ट्रफी प्राप्त गर्‍यो । भने उपविजेता घोडाघोडी क्लवले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । प्रतियोगिता समापनका अवसरमा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम चौधरीले विजेता टिमलाई ट्रफी, पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
कार्तिक ८ गतेबाट शुरु भएको प्रतियोगितामा कैलालीका विभिन्न १९ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता समापन समारोहमा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष भगवतीदेवी डंगौराथारू, वडाध्यक्षहरू जयरूप खतिवडा, भेखु चौधरी र कर्ने सुनार, नेकपाका नेता दिलबहादुर विक, नेपाली काँग्रेसका नेता गणेश शाही, राष्ट्रिय जनमोर्चाका नेता रूपा आलेमगर, मुडा बजार विकास समितिका अध्यक्ष मिथुन गौतम र वसन्त मुरारी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुँवरले मन्तव्य व्यक्त गरेका थिए ।
समापन कार्यक्रम आयोजक सडकपुर बौनिया युवा क्लवका अध्यक्ष प्रकाश साउँदको अध्यक्षतामा भएको थियो ।
क्लवका सचिव धिरज शाहीले सञ्चालन गरेको कार्यक्रममा क्लवका उपाध्यक्ष जीवन बिसीले स्वागत गरेका थिए ।
मंगलबार नै आयोजक सडकपुर बौनिया युवा क्लव र पत्रकार टिमबीच मैत्रीपूर्ण खेल भएको थियो ।

    Comment Here!