स्वास्थ्यकर्मीहरूको गुनासो– स्वास्थ्य सेवा प्रवाहमा समस्या थपियो

  • शेरबहादुर ऐर
प्रकाशित मिति :

धनगढी । गत आर्थिक वर्षमा कैलालीको टीकापुर अस्पतालले सुरक्षित मातृत्व कार्यक्रमका लागि आठ लाख रुपैयाँ प्राप्त गर्‍यो । टीकापुर अस्पतालले ११ महिनाको अवधिका लागि सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्न सरकारसँग ९५ लाख रुपैयाँ बजेट माग गरेको थियो । तर, संघीय सरकार र प्रदेश सरकारबीच तालमेल नमिलेकोले सुरक्षित मातृत्व कार्यक्रम समेत प्रभावित हुने अवस्था आएको छ ।
टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर नरेन्द्र खनालले भने– “सुरक्षित मातृत्व कार्यक्रमका लागि संघीय मन्त्रालयसँग बजेट माग गर्दा प्रदेश सरकारसँग माग गर्न निर्देशन आउँछ, प्रदेश सरकारसँग माग गर्दा संघीय सरकारलाई देखाउने गरिन्छ । मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खनालको प्रश्न छ– “अस्पतालले यो रकम कहाँबाट पाउने हो ?”
कैलालीको टीकापुर अस्पताल झैं सुदूरपश्चिम प्रदेशका अधिकांस सरकारी अस्पतालले अहिलेको नयाँ संरचनाका कारण बजेटको अभाव लगायतका समस्या बेहोर्नु परेको स्वास्थ्यकर्मीहरूको गुनासो रहेको छ ।
संघीय संरचना अनुसार जिम्मेवारीमा परिवर्तन भएपछि स्वास्थ्य सेवाको क्षेत्रमा समस्या बढेको स्वास्थ्यकर्मीहरूको अनुभव छ । धनगढीमा आइतबार समापन भएको सुदूरपश्चिम प्रदेशस्तरीय स्वास्थ्य समीक्षा गोष्ठीमा सहभागी भएका नौ वटै जिल्लाका स्वास्थ्य अधिकारीहरूले परिवर्तित संरचना र प्रणालीका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या र कठिनाई भइरहेको बताए ।
बाजुरा जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर रूपचन्द्र विकले बाजुरामा स्वास्थ्य बिमा गरेका सेवाग्राही (विमित) ले लिएको सेवा अनुसार बिमा बोर्डले रकम उपलब्ध गराउन नसकेको बताए ।
अछाम जिल्ला अस्पतालका डाक्टर अशोककुमार शाहले अस्पतालको एम्बुलेन्स विग्रिएर लामो समयदेखि धनगढीमा थन्किएको बताए । उनले भने– “एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि स्थानीय तह र संघीय सरकारलाई जानकारी गराइयो, संघीय स्वास्थ्य मन्त्रालयबाट आश्वासनसम्म पाइयो, तर अहिलेसम्म न मर्मत भएको छ, न मर्मतका लागि आवश्यक रकम नै प्राप्त भएको छ ।” डाक्टर शाहका अनुसार एम्बुलेन्स मर्मतका लागि जिल्लाका स्थानीय तहहरूलाई गुहार्दा ‘मर्मत गर्नुभन्दा बरु नयाँ एम्बुलेन्स खरिद गर्ने’ जवाफ आएको थियो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीको अनुभवमा देश संघीय संरचनामा प्रवेश गरेसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि विनियोजन हुने बजेट तीन तहका सरकारमा विभाजन हुँदा रकम निकासामा समस्या भइरहेको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले स्वास्थ्य संस्थाका लागि सिधैं बजेट नआउँदा स्थानीय तहमार्फत खर्च गर्न कठिनाई हुने गरेको, एउटै शीर्षकको रकम विभिन्न निकायको बजेटमा विनियोजन हुने गरेका, अस्पताल विकास समिति गठन नहुनु, अस्पतालहरूमा दरबन्दी अभाव तथा १५ सैय्याभन्दा माथिका अस्पतालमा आवश्यकता अनुसार दरबन्दी पूर्ण नहुनुले समस्या देखिएको बताए ।
उनले भने– “अधिकांस अस्पतालले सुरक्षित मातृत्व तथा शिशु कार्यक्रम अन्तर्गतको बजेट नै प्राप्त गर्न सकेका छैनन् । यदि यस्तै अवस्था रहिरहने हो भने यो कार्यक्रम नै बन्द गर्नुपर्ने हुन्छ ।”
त्यस्तै, टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर खनालले सुत्केरी आमाहरूले सुरक्षित सुत्केरी वापतको रकम किन नदिएको भनेर प्रश्न दोहोराउने गरेको बताए । उनले भने– “यदि अस्पताललाई सुरक्षित मातृत्व कार्यक्रमको बजेट उपलब्ध गराइदैन भने हामीले सुत्केरी गराएवापतको शुल्क तोक्नुपर्ने बाध्यता हुनेछ ।”
उनका अनुसार टीकापुर अस्पतालमा गत आर्थिक वर्ष २०७४/०७५ मा एक हजार सात सय ५७ सुरक्षित सुत्केरी भएका थिए । तीमध्ये दुई सय २० जनाको सल्यक्रिया गरेर बच्चा निकालिएको थियो ।
प्रादेशिक स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि संघीय सरकारले आवश्यकता अनुसार छिटो दरबन्दी पूरा गर्नुपर्ने बताए । “संघीय स्वास्थ्य मन्त्रालयले वार्षिक एक सय बढी डाक्टर उत्पादन गरिरहेको छ” उनले भने– “त्यसको कम्तिमा ३० देखि ४० प्रतिशत यस प्रदेशका लागि उपलब्ध नगराए म पनि अनसन बस्न बाध्य हुने छु ।”

समीक्षा बैठक समापन
धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय स्वास्थ्य समीक्षा गोष्ठी आइतबार समापन भएको छ । बैठकको समापन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले समीक्षा बैठकबाट स्वास्थ्य क्षेत्रको सुधार गर्न धेरै अपेक्षाहरू व्यक्त भएको प्रतिक्रिया दिए ।
“केही अपेक्षाहरू प्रदेश सरकारतर्फ रहेका छन् भने अधिकांस अपेक्षाहरू संघीय मन्त्रालयतर्फ व्यक्त भएका छन्” मन्त्री सोडारीले भने– “प्रदेश सरकारले आफ्नोतर्फबाट हुन सक्ने सुधारहरू हरसम्भव प्रयास गर्ने छ ।”
उनले संघीयताको यो पहिलो अभ्यास भएकाले केही अन्यौलताहरू रहेको बताए । भने– “विस्तारै सुधार गरेर प्रदेशलाई स्वास्थ्य सेवाको क्षेत्रमा देशकै एक नम्बर प्रदेश बनाइने छ ।” उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, संघ/संस्था, कर्मचारी सबै जिम्मेवार हुनुपर्ने बताए । उनले सबैको मेहनत र प्रयासबाट सबै सुधार गर्न सम्भव रहेको बताए ।
प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशको स्वास्थ्य सूचकांकहरू घट्दै गएकोमा छिट्टै विशेष छलफल चलाइने बताए । उनले भने– “स्वास्थ्य क्षेत्रमा राम्रो भएको यो प्रदेशमा अहिले किन यस्तो अवस्था आयो भन्ने बारेमा छलफल गरेर सुधार गर्न जरुरी रहेको छ ।”
मन्त्रालयका सचिव गोगनबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका स्वास्थ्य/जनस्वास्थ्य प्रमुख, तथ्यांक अधिकृत, अस्पतालका प्रमुख, कर्मचारी, सामाजिक विकास मन्त्रालयका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

    Comment Here!