यसरी गरौं प्रधानमन्त्रीलाई सहयोग

  • सच्चिदानन्द जोशी
प्रकाशित मिति :

गएको शुक्रबार गोपाल खनालले चक्रपथ डटकममा लेख्नुभएको ‘प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने असफल प्रयास’ शीर्षकको लेखका सन्दर्भमा यो लेख लेखिएकोले यो लेख पढ्नुअघि त्यो लेख पढ्न अनुरोध छ ।

गोपाल खनालको सो लेखाईको आसय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष कामरेड केपी ओलीको महिमामण्डन गर्नु र उहाँ बाहेक अरू सबैको दोहलो काढ्नु नै देखिन्छ । लेखको सुरुवातमा नै पार्टीका अरू नेताहरूप्रति तिखो टिप्पणी गर्दै अघि बढेको र अध्यक्ष कमरेडको विरुदावली नै भन्न मिल्ने सो लेख पढेर आदरणीय कमरेड अध्यक्ष पनि मुसुमुसु हाँस्नुभयो होला । किनभने विरुदावलीले न शासक टिकाउन सक्छ, न सत्ता भन्ने उहाँ जत्तिको नेतालाई मनज्ञ थाहा छ । र, पनि आम मान्छे बराल्नेहरूको प्रयास सफल हुँदैहुन्न भन्न मिल्दैन । अनि जनता र कार्यकर्ता पनि छरिएको भ्रममा दिग्भ्रमित हुन्नन् भन्ने बुझाई राख्नु अति हुन्छ । त्यसैले सो लेखको फेसभ्यालु बढ्ने कुरा बुझेरै पनि यो नलेखी चित्त बुझेन ।

१) लेखमा प्रधानमन्त्री ओलीले नेपालको गुमेको आत्मसम्मान फर्काएको भनिएको छ, तर लेखले नेपालको आत्मसम्मान कैले र केले गुमेको थियो र के, कसरी र कसले फर्कायो भन्ने कुरा खोलेको छैन । न त त्यो विषय सामान्यज्ञानको कुरा हो, न सर्वस्वीकार्य नै ।

२) कमरेड अध्यक्षले केही समयअघि सम्पादक, पत्रकारहरूलाई बोलाएर भन्नुभएको वाक्यांस ‘निराश मान्छे घातक हुन्छ’ कपि गर्दै लेखमा भनिएको छ– ओलीले जनतालाई निराश हुन दिएनन् । तर, लेखले जनता निरास हुन नदिन वर्तमान सरकारले के के गरेको छ ? भन्ने कतै उल्लेख गर्नुभएन । यो यो गरियो भन्न सक्नु पर्छ । कामले हो निराशा चिर्ने हो ।

३) यसअघिको प्रधानमन्त्रीको नौ महिने शासनकाल (जसमा खनालजी विदेश मामिला सल्लाहकार नै हुनुहुँदो रहेछ) को उल्लेख गर्दै पत्रकार खनाल लेख्नुहुन्छ कि सम्भवत नौ महिने प्रतिकुलतामा ओली सत्तामा थिएनन् भने नेपाली पहिचानको तस्बिर पनि शायद बदलिने थिएन । नाकाबन्दीताका अध्यक्ष कमरेड ओलीको भूमिका प्रशंसायोग्य छ र त्यसको पुरस्कार जनता र पार्टी पंक्तिले उहाँलाई यत्रो प्रचण्ड बहुमतको प्रधानमन्त्री बनाएर दिएका छन् । तर देवत्वकरण चरम चाप्लुसी हो । भगवान विष्णु भनिएका महाराजाहरू, त अब यो मुलुक मै छैनन् भने जनताको मसिहा, तारणहार कसैलाई किन घोषणा गर्नु ?

४. लेखमा विप्लवको विद्रोह, सिकेको देशद्रोह, माधव नेपालको आलोचना र जनताको आकांक्षालाई एउटै बोरामा खाँदेर गुन्द्रुक बनाइएको छ । जनतालाई तर्साएर टिक्ने शासनको प्रकृति नै फरक हुन्छ । न जनता अब विप्लवको ध्वाँसले तर्सन्छन्, न सिकेको फुँईले । सहजै सत्ता बदल्न नमिल्ने युग त जनताले अन्त्य गरिदिएका छन् । यो त सत्ता सहज बदल्न मिल्ने युग हो । जनतालाई थर्ड पार्टी थ्रेट नदिएकै वेश ।

५. लेखमा सामुहिक जवाफदेहिताको विषय उठाइएको छ । मानौं की निर्णय गर्दा त सबै सहमत हुन्छन्, तर जब परिणाम नकारात्मक आउछ, सबै पल्ला झाड्छन् । तर के त्यहि सत्य हो त ? सामुहिक जवाफदेहीताको पूर्वशर्त हो सामुहिक निर्णय अनि त्यसको प्रक्रिया । के त्यो पूर्व शर्त पालना भएको छ त ? अनि अर्काे पनि गम्भीर प्रश्न उठ्छ– के प्रधानमन्त्रीले दिने जवाफ र पार्टीका अन्य नेताले दिने जवाफ एउटै हो ? जवाफदेहिता एउटै हो ? त्यस पछि एउटा गम्भीर प्रश्न पनि उठ्छ, कि पार्टीका सारा कमिटी भत्काएर असरल्ल पारेर एकल शासन गर्न खोजेपछि विषय छताछुल्ल नभई के हुन्छ ?

६. लेखले एउटा अत्यन्तै हास्यास्पद दाबी गरेको छ– कि ओली सरकारबाट नागरिकले अतिरिक्त आकांक्षा राखे रे । यो हाँस्यास्पद हुँदाहुँदै पनि गम्भीर विषय हो । अंग्रेजीमा सिरियस जोक । यो हास्यास्पद दावीमा कुनै सत्यता छैन, किनभने जनताको सरकारबाट कुनै अतिरिक्त आकांक्षा छैन । जनताका त दैनन्दिन जीवनसँग जोडिएका, जनजीविकासँग जोडिएका पुरानै मागहरू हुन्, जसलाई पुरा गर्ने पार्टीेले दिएको वचनमा विश्वास गरेर जनताले साथ दिएका हुन् । यो चुनावमा मात्र होइन् विगत सात दशकदेखि । यी माग र आकांक्षा पुरानै कुरा हुन् जसका कुरा गरेरै सत्तामा आयौं । प्रम भन्नुहुन्छ “सडक के अहिले भत्किएको हो ?” कस्तो जवाफ हो ? म बनाउछु भनेको होइन् ? “म के जादु हो ?” भन्नुहुन्छ । जादुसम्म पनि होइन् भन्ने मान्छेलाई हामी चाँही देवता बनाउन तल्लिन छौं ।

लोकतन्त्रमा आवधिक निर्वाचन लडेर आएका हामी त्यो नेतृत्वको कल्पना पनि गर्न सक्दैनौं, गर्दैनौ । त्यो त राजा महेन्द्रको बेला थियो । उनले पनि पूर्वपश्चिम राजमार्ग बनाएकै हुन्, औद्योगीकरण, विर्ता उन्मुलन, रजौटा उन्मुलन, भूमिसुधार, मुलुकी ऐन, नयाँ शिक्षा, गाउँफर्क उन कै देन थिए । अब त्यो बेला सकियो । 

 

९. देशप्रेम र समृद्धिको सपना नै हो जसका कारण जनताले आँखा चिम्लेर हामीलाई भोट हाले । अध्यक्ष कमरेड ओली प्रधानमन्त्री बन्नुभो । जनतालाई भनिराख्नु पर्दैन, गरेको देख्छ, बुझ्छ र निर्णय दिन्छ जनता । तर, जनता जति कमलो हुन्छ उत्ति नै क्रूर पनि । पानी जस्तै । पानी पनि जति कमलो देखिन्छ, त्यति नै धारिलो पनि हुन्छ । चट्टान काट्ने । ओली जस्तो अर्काे रहेनछ भन्ने जनतालाई महसुस हुने काम भइदिए लेखमा भनिए जस्तो गरी ओली जस्तो अर्काे छैन भनेर भक्तिभाव प्रकट गर्नै पर्दैन ।

१०. लेखमा सिंगापुर, मलेसिया र दक्षिण कोरियाको उल्लेख हुनुले त्यस्तै बन्ने बनाउने रहर देखिन्छ । र, त्यसका लागि त्यहाँको तत्कालीन स्थिरतालाई प्रशंसा गरिएको छ । तर के विर्सनु हुँदैन भने त्यस्तो स्थायित्व नेपालमा पनि थियो । त्यो पञ्चायती स्थायित्व थियो । सेना, शासन र शीतयुद्धको उपयोग । युग बदलिसक्यो । नेपाल त्यो मोडमा छैन । विश्व नै छैन । राजनीति, अर्थतन्त्र, समाज विकास कुनै बिन्दुमा पनि त्यो मोड अहिले हुदै होइन् । त्यो सपना देख्न र देखाउन पनि हुँदैन् ।

११. लेखले वर्तमान मन्त्रिमण्डलका एकदुई नै भए पनि नकारात्मक छवि एका मन्त्रीहरू छन् भन्ने स्वीकार गरिएको छ । प्रथम त ती मन्त्रीको छवि मात्र नकारात्मक हो वा व्यवहार नै नकारात्मक हो भन्ने विषय महत्त्वपूर्ण छ । द्वितीय एकदुई जना नै भए पनि नकारात्मक छवि भएकालाई सुधार गर्न किन नलाउने वा नसुध्रनेलाई किन टिकाउने ? त्यस्तै, लेखले मन्त्रीहरूले सरकारको प्रतिरक्षा नगरेको कुरालाई उठाएको छ । यस्तै विषय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पनि पटकपटक उठाउने गरेबाट यो एउटा प्रमुख विषय रहेछ भन्ने बुझिन्छ । तर, के बुझिदैन भने सरकारको प्रतिरक्षाको आवश्यकता किन पर्‍यो ? सरकार त्यस्तो प्रतिरक्षामा रहनुपर्ने किन भयो ? आक्रामक किन भएन ? आक्रामक यस अर्थमा की असल कामको पहलकर्ता । यस अर्थमा होइन् कि आलोचना माथिको दमनकर्ता । यस लेखाईमा प्रदीप कमरेडको अनावश्यक उल्लेख भएको छ जसले उहाँप्रति समेत अरू मन्त्रीहरू अनावश्यक रूपमा नकारात्मक बन्ने देखिन्छ । (परराष्ट्र विषय क्षेत्र भएका लेखकले मन्त्रीहरूको सन्दर्भ चर्चा गर्दा प्रदीप कमरेडलाई किन चाकरी गर्नुभो भन्ने त छ्यांगै छ, तर यहाँ त ह्वांगै भएछ ।)

१२. लेखमा मन्त्रीहरूलाई आफ्नो मन्त्रालय वाहेक सरकारको चिन्ता नभएको आरोप लगाईएको छ । मन्त्रीको जिम्मा नै आआफ्नो मन्त्रालयबारे सोच्ने हो । क्याबिनेटमा प्रधानमन्त्री सर्वेसर्वा हो । विषयगत मन्त्रीहरूले अरूकोमा चियोचर्चाे नगर्नु नै यो प्रणालीको विशेषता हो । कुनै घोषणा गर्नुछ भने प्रधानमन्त्रीले गर्ने हो । कुनै कार्यान्वयन गर्ने हो भने मन्त्रीले गर्ने हो । दुवै कुरा बाहिर ल्याउने प्रवक्ता हो । सबैले गाउँदै हिड्ने होइन् । तर, पत्रकारलाई घुस लिन मन्त्रालय आउनु भन्दै सार्वजनिक र संवैधानिक निकायमा बौलाउँछन् प्रवक्ता । प्रधानमन्त्री हप्काउँदैनन् । अनि मन्त्री कसरी ठिक हुन्छन् ?

१३. लेखमा कमरेड ओलीले अहिलेसम्म जुन प्रणालीबाट देश चल्दै आयो त्यसमा परिवर्तन खोजेको र उहाँले यथास्थितिवाद तोड्न चाहेको कुरा उल्लेख छ । अध्यक्ष कमरेड ओली मात्र होईन जनताले, पार्टी कार्यकर्ताले त्यस्तो परिवर्तन खोजेका छन् । त्यसैका लागि सिंगो संविधान नै नयाँ बनाइयो । हामीलाई पत्याए । कमरेड ओलीलाई पत्याइयो । अब अहिले कर्मचरीतन्त्र र माफिया देखाएर न तर्क गर्न मिल्छ न तर्किन मिल्छ । के यो कर्मचारीतन्त्र र माफिया रातारात बनेको हो ? हिजो थिएन ? हामी जितेपछि मुलुक असल बनाउछौं भनेकै अहिले खराब छ भनेको होइन् ? त्यो हामीले नबुझेको थियौं र ? बुझेरै आएको हो भने आएका एक वर्षसम्म पनि कर्मचारीतन्त्र र माफियातन्त्र बदल्न के के प्रयास भए ? के के कानून बन्यो ? के के विशेष घोषणा भयो ? प्रमाणमा बात गरौं । प्रधानमन्त्रीको जिम्मा पाएको थोरै दिनमा नै पाकिस्तानका प्रधानमन्त्रीले कसरी काम गर्दैछन् बुझौं । कम्तिमा १४ सेप्टेम्बरको उनको कर्मचारीहरूबीच गरेको चर्चित भाषण हेरौं । युट्युवमा छ्यापछ्याप्ती छ । असफलता महत्त्वपूर्ण होइन् प्रयास महत्त्वपूर्ण हो ।

१४. तातो भातमा बीच्चमा हात चोबल्ने होइन्, छेउछेउबाट सुरु गर भन्ने शिक्षा हरेक बच्चालाई दिइने शिक्षा हो । बिर्सेपछि के लाग्छ ? हिरो बन्न खोजे पछि जिरो हुन्छ । सिण्डीकेट, ठेकेदार सब त्यस्तै हुन् ।

१५. लेखले उठाएको अर्काे विषय हो– पार्टीमा आन्तरिक एकताको अभाव । तर, पार्टीभित्र आन्तरिक एकता नहुनुमा जिम्मेवार को हो ? दुई तिहाईको शासक बन्ने रहरले हतारहतार पार्टी विघटन गरेर हामीले विचार, विधि, संगठन सवै ध्वस्त पार्‍यौं । तल्ला कमिटीहरू पार्टीका लाइफलाईन हुन् । त्यसलाई समाप्त पारियो । एकीकरणका नाममा सिफारिसमा कमिटी चयन हुने परिपाटी बनाइयो । त्यो मठ प्रणाली हो, मत प्रणाली होइन् । मठाधिसका मन लागेका मान्छे नेता हुने र अरूले मान्नु पर्ने, नमाने पतीत हुने । यो सब कसको अभिभावकत्वमा भयो ? विघटित तल्ला कमिटी, ह्याण्ड पिक्ड प्रदेश कमिटी, बुख्याँचा केन्द्रीय कमिटी, कोई ताली मात्र पिट्ने, कोही गाली मात्र गर्ने, दर्शक दीर्घा स्थायी कमिटी कसरी बने ? मणी माणिक्य, हिरा जुहारात जस्ता सजावटका सामान थुपारेजस्तो हाईकमाण्ड बनाएर, अनि हाँडीगाउँको जाात्राजस्तो दुई/दुई जना अध्यक्ष बनाएर त्यहि दुई जनाले चलाउन थाले पछि र त्यहि दुईटा अध्यक्ष पनि हाम्रो गाउँघरमा सुनिने उखान जस्तो “त राजा, म रानी, को ल्याउँछ पँधेराको पानी ?” जस्ता भएपछि पार्टीपंक्तिलाई गाली गर्ने नैतिक अधिकार रहन्छ की रहँदैन ? गोपालजीले जवाफ खोज्न चाहनुभएको छैन ।

१६. लेखको शीर्षक नै प्रधानमन्त्रीको घेराबन्दीबारे राखेर लेखले अरूको त्रास देखाएर तर्साउन खोजेको छ । नेश्नालिज्म खतरनाक विचारधारा हो । अरुको त्रास देखाएर आफ्नालाई कज्याउने । छिमेकीको, पश्चिमाहरूको त्रासले अब कोही तर्सिदैनन् । प्रधानमन्त्रीलाई घेराबन्दी पार्न कुनै विदेशी ताकत चाँहीदैन, उहाँका सल्लाहकार, प्रशंसक र क्रोनीहरू प्रशस्त छन् । म गुट भन्दिन किनभने म आफै पनि उनको गुटमा पर्छु, तर घेराबन्दी गर्ने घेरामा पर्दिन । मेरा रहरले पनि र मेरा करले पनि । रहरले यसकारण कि गुट बन्नु समकालिन अवस्थाको वेष्ट च्वाईस थियो र बन्यो । हामीले नवौं महाधिवेशनमा वैधानिक रूपले प्यानल पद्दति स्वीकार गर्‍यौ जुन गलत त थियो, तर वैधानिक थियो । प्यानललाई अब समूह भनौं वा गुट भनौं त्यो अर्काे कुरा हो । तर त्यो स्थायी हुँदैन, हुनुहुँदैन भन्ने मेरो मान्यता हो । करले यसकारण कि त्यो घेरासम्म पुग्न बाहिर यति घेरा छन्, जसलाई म त्यहि गुटको भए पनि तोड्न सक्दिन । प्रवेश निषेध छ ।

१७. लेखमा जुन स्थायी कम्युनिष्ट सत्ताको कुरा गरिएको छ त्यो हामीले स्वीकार गरेको लोकतान्त्रकी गणतन्त्रमा असम्भव छ र अनावश्यक पनि ।

१८. यो लेखको शब्दार्थ जे भए पनि भावार्थ गजब छ । यो पार्टी पंक्तिलाई चिढाएर राख्ने र बरबर आउन नदिने नियतप्रधान छ । यसमा कार्यकर्ता र खासगरेर अध्यक्ष कमरेडका समकक्षी, समवय, सहयात्रीहरू उहाँको नजिकै नपरुन् र क्रोनीहरूको हालिमुहाली चलिरहोस भन्ने साधना छ । प्रधानमन्त्रीको आलोचक उहाँलाई असफल पारेर आफू हुने दाउ पर्खेर बसेकाहरू हुन् र ओलीको उचाईको अर्काे नेता नेपालमा कोही छैनन् जस्ता पुराण बाचन गर्नु स्वयं अध्यक्ष कमरेडको हितमा छैन । अध्यक्ष कमरेडले यस्ता लेखकलाई बोलाएर हप्काउनु हुन्छ की स्यावासी दिनुहुन्छ ? त्यो त म जान्दिन, तर दयालबहादुर शाहीहरू पुरस्कृत भएका देखेकै भएर अन्दाज गर्न सक्छु ।

१९. लेखमा उल्लेख गरिएका महाथिर, लिक्वान, पार्क चङहरू उल्लेख नगरिएका मार्सल टिटो, महेन्द्र जस्तै असान्दर्भिक पात्र हुन् । लोकतन्त्रमा आवधिक निर्वाचन लडेर आएका हामी त्यो नेतृत्वको कल्पना पनि गर्न सक्दैनौं, गर्दैनौ । त्यो त राजा महेन्द्रको बेला थियो । उनले पनि पूर्वपश्चिम राजमार्ग बनाएकै हुन्, औद्योगीकरण, विर्ता उन्मुलन, रजौटा उन्मुलन, भूमिसुधार, मुलुकी ऐन, नयाँ शिक्षा, गाउँफर्क उन कै देन थिए । अब त्यो बेला सकियो । तानाशाहीबाट विकास अब सम्भव छैन । अबको विकासको नेतृत्व व्यक्तिबाट हुँदैन । बीसौं शताब्दीको पनि ६० को दशकको तानाशाहको सपना देखाएर प्रधानमन्त्रीलाई दिग्भ्रमित गर्नु चाप्लुसी मात्र होइन्, अपराध हो ।

२०. लेखमा सरकारका केही नियुक्तिहरू विवादित भएको कुरा उल्लेख छ । केही होइन् कैयौं नियुक्ति विवादित छन् । विवादित भएका होइनन्, छन् । भ्रष्टाचारको कुरा ठूलो स्वरमा उठ्ने भएर मान्छेहरू जिएम र राजदूत जस्ता कुरा गर्दा हुन्, तर हामी राजनीतिक कुरा गर्छौ । राजनीतिक रूपमा कुरा गर्ने हो भने मन्त्रीहरू र सल्लाहकारहरूबाट सुरु गरौं । अर्थमन्त्रीको नियुक्ती गलत थियो भन्ने कुरा बजेटले प्रष्ट पार्‍यो । सञ्चारमन्त्रीलाई विवादमा अरूले ल्याई दिएका होइनन् । घाउलाई ढाकछोप हैन, निर्मम चिरफार गरौं– असलका लागि, उपचारका लागि । लेख्ने साथीहरूले आलोचकहरूसँग असहिष्णु बन्ने र प्रशंसामा रमाउने इतिहासका बादशाहहरूको कथा लेखौं, तिनको नियती र परिणती लेखौं । प्रधानमन्त्रीसँग पहुँच भएकाहरूले फेसबुकमा आएका टिप्पणी स्क्रिनसट गरेर देखाउँदै उक्साउने बचकाना काम बन्द गरेर गम्भीर छलफलका लागि प्रोत्साहन गर्न सुरु गरौं ।

आउनुहोस् प्रधानमन्त्रीलाई साँच्चै सहयोग गरौं, पार्टी अध्यक्षलाई साँच्चै सफल पारौं ।

    Comment Here!