वित्तीय साक्षरताको उपलब्धी: आयआर्जनमा जुटे महिला, वैदेशिक रोजगारीबाट फर्किएका पुरुष पनि उद्यममा

मुकेश टेंर्रा

प्रकाशित मिति :

धनगढी । टीकापुर वडा नम्बर ३, घियाकी सीता चौधरीलाई शुरुमा बजारमा तरकारी बेच्न जाँदा निकै लाज लाग्थ्यो । “तरकारी किन्नुहोस् भनेर बोलाउनुपर्ने, तर लाजले मुखबाट आवाज नै फुटेन” शुरुका दिनको स्मरण गर्दै सीताले भनिन्– “एकदुई दिनपछि मैले हिम्मत जुटाए । तरकारी लिनुस् भनेर कराए । एकै छिनमा तरकारी बिक्री हुन थाल्यो ।”
एकैछिनमा तरकारी बिक्री भएपछि सीतामा आँट पलायो । तरकारी बेचेर आएको रकमले उनलाई अर्को दिन पनि तरकारी बेच्न बजार जाने हौसला मिल्यो । “तर मलाई अझैं लाज लागिरहेको थियो । चिनेका मान्छे देखेपछि मुख छोप्थे” उनले सम्झिइन्– “सकेसम्म चिनजानका मान्छे तरकारी किन्न्न नआउन् भन्ने लाग्थ्यो ।”
सीताले आफ्नै कसेराबारीमा तरकारी लगाएकी थिइन् । हरेक दिन तरकारी बिक्री गर्न बजार जान थालेपछि उनको लाज केही कम हुँदै गयो । अहिले उनी हरेक दिन तरकारी लिएर बजार जान्छिन् । उनले तरकारी खेतीका साथै घरमा ६ वटा बाख्रा र दुई वटा भैंसी पनि पालेकी छन् ।
टीकापुर नगरपालिका वडा नम्बर ३, कटानपुरकी कौशिला रावललाई पनि शुरुमा भैंसीको दूध बेच्न बजार जान लाज लाग्थ्यो । उनको भैसीले दैनिक छ लिटर दूध दिन्छ । कौशिलाका श्रीमान् वैदेशिक रोजगारमा रहेका छन् । घरमा दूध डेरीसम्म पुर्‍याउने अरू कोही नभएकाले उनले नै दूध लिएर डेरी जानुपर्ने बाध्यता भयो । केही हप्तासम्म दैनिक डेरीमा दूध पुर्‍याएपछि उनको पनि लाज हरायो ।


त्यस्तै, भोगाई टीकापुर नगरपालिका वडा नम्बर–७, सिम्रेनीका महिमा पुनमगरको पनि छ । उनका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदीअरब रहेका बेला उनले किराना पसल राखिन् । उनले किराना सामानका साथै चटपटे बेच्न शुरु गरिन् । केही महिनापछि उनले त्यो पसलको जिम्मा बुहारीलाई दिइन् र आफूले कुखुरापालन शुरु गरिन् । भन्छिन्– “मैले कुखरापालनका लागि गाईभैंसीको गोठ मर्मत गरे । कुखुरापालनका लागि ३१ हजार रुपैयाँ खर्च गरेर आवश्यक सामग्री खरिद गरे ।
शुरुमा दुईतीन सय कुखुरा पालेकी महिमाले अहिले एक हजार कुखुरा पाल्ने गरेकी छन् । “श्रीमान् विदेशबाट फर्केपछि कुखुरा फार्म ठूलो बनायौं” उनले भनिन्– “अहिले दुवै जना कुखुरापालमा जुटेका छौं ।”


यी सबै महिला उद्यमीलाई वित्तीय साक्षरता कक्षाले व्यवसायमा लाग्न हौसला दिएको हो । गाउँमै सञ्चालन भएका वित्तीय साक्षरता कक्षामा सहभागी भएका मध्ये धेरै महिला अहिले कुनै न कुनै व्यवसायमा लागेका छन् ।
गेटाको सरस्वती माविमा कक्षा १२ मा अध्ययन गर्ने गोदावरी नगरपालिका वडा नम्बर ५ गेटीकी सविता राना स्कूल जाँदा दैनिक दूध लिएर जान्छिन् र गेटा बजारको एउटा डेरीमा दिन्छिन् । उनी स्कूलबाट फर्किदा दूधको खाली ठेकी लिएर घर आउँछिन् । मलेसियामा रोजगारी गरेर फर्केका उनका बुवा पाँच कठ्ठा जमीनमा तरकारी खेती गर्छन् । तरकारी बारीबाट निस्किएका घाँसलाई सदुपयोग गर्न उनीहरूले एक लाख ५५ हजार रुपैयाँ खर्च गरेर तीन वटा भैंसी र पाँच वटा बाख्रा पालेका छन् ।
“आफूले आफ्नो बारीमा उत्पादन गरेको तरकारी बेच्नु लाजको कुरा होइन् रहेछ” दैनिक बजारमा तरकारी बेच्न जाने गरेकी सीता भन्छिन्– “बरु आफ्नै खेतबारी भएर पनि बजारबाट तरकारी किनेर खानु पो त लाजको कुरा रहेछ ।” हालै समापन भएको वित्तीय साक्षरता कक्षामा उनले भनेकि थिइन्– “मैले वित्तीय साक्षरता कक्षा पढेर यही कुरा सिके ।”
वित्तीय साक्षरता कक्षामा परिवारको आर्थिक व्यवस्थापनका लागि प्रत्येक दिन परिवारमा छलफल हुनुपर्छ भन्ने सिकेकी सविताको परिवारमा हरेक साँझ खाना खाएपछि यही विषयमा छलफल हुने गरेको छ । छलफलमा सविताले दिनभरिको आम्दानी र खर्चको हिसाव सुनाउँछिन र लेख्छिन् । छलफलमा उनको परिवारका सदस्यले भोलि गर्नुपर्ने कामको योजना बनाउनुका साथै कामको बाँडफाँट गर्ने गरेका छन् ।
सविताले वित्तीय साक्षरता कक्षामा बजारिया खानपानले स्वास्थ्यमा प्रतिकुल असर गर्नुका साथै पैसा पनि धेरै खर्च हुने गरेको पनि थाह पाएको बताइन् ।


सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको सुरक्षित आप्रवासन कार्यक्रमले १९ जना पुरुष र नौ सय ८१ जना महिला गरी एक हजार जनालाई वित्तीय साक्षरता तालिम दिएको छ । तीमध्ये ६४ प्रतिशतले आम्दानी र खर्चको हिसाब राख्न थालेको सुरक्षित आप्रवासन परियोजनाका कैलाली जिल्ला संयोजक पञ्चराम चौधरीले बताए । उनले १५ प्रतिशतले आयआर्जनका लागि व्यवसाय शुरुवात गरेको बताए ।
सञ्चार प्रतिष्ठान नेपालका सुरक्षित आप्रवासन कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सिनाले तालिममा सहभागीहरूले तरकारी खेती, बाख्रा, भैंसी, कुखुरा, बंगुर, माछापालन, सिलाई सेन्टर, नास्ता पसल जस्ता व्यवसाय आफ्नै पहलमा शुरु गरेको बताए ।
उनले कार्यक्रम वैदेशिक रोजगारसँग सम्बन्धित रहेकाले वैदेशिक रोजगारबाट रेमिट्यान्स प्राप्त गर्ने परिवारका सदस्यहरूलाई तालिममा समावेश गरिएको बताए । “रेमिट्यान्सको सदुपयोग र पटक पटक विदेश गइरहनुपर्ने बाध्यता हटाउने उद्देश्यले वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो,” कार्यक्रम संयोजक तिमिल्सिनाले भने– “वित्तीय साक्षरता तालिम लिएपछि महिलाहरूले शुरु गरेको छन् ।” उनीहरूका श्रीमान् विदेशबाट फर्केपछि आफ्नै ठाउामा उद्यम गर्न थालेका छन् । यसरी नै रेमिट्यान्सलाई जोगाएर आफ्नै गाउँघरमा उद्यम गर्ने वातावरण मिलेपछि पटकपटक वैदेशिक रोजगारमा जाने बाध्यता हट्ने छ ।

    Comment Here!