संहिता लागू हुनुपूर्वका भवन नक्सा पास गरिदै

प्रकाशित मिति :

कञ्चनपुर ।  भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण साहिता लागू हुन पूर्व निर्माण गरिएका भवनहरूको नक्सापास गर्न सुरु गरिएको छ । भीमदत्तको तेस्रो नगर सभाबाट नगरपालिकाका भवन निर्माण साहिता लागू हुन पूर्व निर्माण गरिएका भवनहरूको मापदण्ड पूरा गरी नक्सापास गर्ने निर्णय गरिएको थियो ।
नगर सभाको निर्णय अनुसार नगरपालिका कार्यालयले ती भवनको मापदण्ड पुगाएर नक्सापास सुरु गरिएको छ । अहिले नगर सभाको निर्णय अनुसार दैनिक रूपमा कार्यालयमा नक्साका लागि वासिन्दा आउने गरेका छन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय भवन निर्माण साहिताको प्रभावकारी कार्यान्वयनका लागि तेस्रो नगर सभाबाट भवन साहिता लागू हुन पूर्व निर्माण गरिएका भवनको नक्सापास गरिने निर्णय गरिएको जानकारी दिए ।
नगर सभाको निर्णय अनुसार भदौ १ गतेदेखि सुरु गरिएको नक्सापास ६ महिनासम्म जारी रहनेछ । भीमदत्त नगरपालिकामा आर्थिक वर्ष २०७२/०७३ देखि राष्ट्रिय भवन साहिता लागू गरिएको हो । स्थानीय तह निर्वाचनमा नगर प्रमुख विष्टले भीमदत्तलाई व्यवस्थित सहर बनाउन भवन साहिता कार्यान्वयनका लागि प्रतिवद्धता गरेका थिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ बमोजिमको प्रक्रिया पूरा गरी भवन साहिता लागू हुन पूर्व निर्माण गरिएका सबै भवनको नक्सापास सुरु गरिएको हो ।
यो परिच्छेदको भवन निर्माण तथा सडक सम्बन्धी व्यवस्था अन्र्तगत स्थानीय तहबाट नक्सा पास नगरी भवन निर्माण गर्न नपाइने प्रावधना राखिएको छ । नगरपालिका वा गाउँपालिकाकाले तोकेको क्षेत्रमा भने नक्सा पास नगराई भवन निर्माण गर्न सकिने व्यवस्था गरिएको छ ।
भीमदत्त नगरपालिकाका वडा कार्यालयले नगर सभाको निर्णय अनुसार पूराना भवनको नक्सापास गराउन नगर वासिन्दालाई सार्वजनिक सूचना गरी आव्हान गरेका छन् ।
नगरपालिकाका भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इञ्जिनियर गोरखबहादुर सिंहले नगर सभाको निर्णय अनुसार भदौ १ गतेदेखि भवन साहिता लागू हुन पूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न थालिएको बताए ।
भीमदत्त नगरपालिकामा हालसम्म ७ हजार ५ सय भवनको नक्सापास गरिएको छ । नगरपालिका क्षेत्रमा २२ हजार भन्दा बढी घरधुरी छन् ।
गत आर्थिक वर्षमा नगरपालिका कार्यालयमा ३ सय ८२ नक्सा दर्ता भएकोमा २ सय ७५ पास गरिएका छन् ।

    Comment Here!