झुम्की, पर्खी बस्नु

  • दीपक ओली
प्रकाशित मिति :

दुई वर्ष भयो नि ! झुम्की तिमीले म हिड्ने बेला गहभरी आँसु र निन्याउँरो हुँदै भनेकी थियौं– ‘मेरो हृदयको राजा अब म साइपाल हिमाललाई हेरेर तपाईंको सुन्दर झुपडी सम्झिनेछु । सेती नदीको पानी हेरेर काली गाईको मही सम्झिनेछु । चैनपुर बजारको बीच सडकको बयसको रुख हेरी मेरो दिले रहेछ भनेर सम्झिने छु ।’

के गर्नु झुम्की ? यो बीचमा साइपाल हिमालमा कैयौं पटक हिउँले भरिएर पनि पग्लिसक्यो होला । सेती नदी अबिरल रूपमा सुसाउँदै निरन्तर हजारौं माइल पार गरिरहेको होला । अँ लाटी, त्यो काली गाईले त दूधै दिन छाडी छे हैन् । सायद अब त ऊ पनि बुढी भइछे क्यारे । म आउँदा तिमीले कालीलाई दुहेर बनाएको चिया खुवाएको झलझल्ली सम्झन्छु । दूध दिन छोड्यो भनेर कालीलाई हेला नगर्नु । उनको खानपिनमा विशेष हेरचाह गर्नु ।

झुम्की, यो त साउन महिना हगी । तिमीले छमछम बज्ने गरी हातभरी हरियो चुरा लगाएर मनभरी तिम्रो दिले आउने बाटो हेरेर बसिरहेकी हौंली । अँह, तिम्रो दिलेको त अझै भरोसा छैन् । मलाई पनि आएर तिमीसँगै पारी वनमा घाँस काट्दै तिमीसँगै लुकामारी गर्ने मन नभएको कहाँ हो र ?

के गर्नु झुम्की ? यो पापी संसारमा जिउँन मनले मानेको नपुग्ने रहेछ । घाँस काट्दै गर्दा एकपटक पारी वनको सिउँडीमा बसेर तिम्रो ह्रदयको राजा दिलेलाई सम्झनु अनि ठाडी भाका हालेर मलाई फुन गर्नु नि हैं । त्यसैमा मलाई आनन्द आउने र चित्त बुझ्नेछ । तर, आँसु भने नझार्नु हैं मेरी हृदयकी रानी, तिम्रो दिले एकदिन अवश्य आउनेछ अनि तिम्रो अँगालोमा कहिले नछुट्टिने गरी टाँसिएर बस्नेछ ।

झुम्की, बाध्यता र परिस्थितिले भौगोलिकरुपमा टाढा भएपनि यो आधुनिक सञ्चारको युगले तिमी र मलाई निकै नजिक बनाएको छ । तिम्रो सुनिरहौं लाग्ने कोइलीको जस्तो मधुर आवाजले कहिलेकाही मलाई भावबिभोर बनाउँछ । अनि मनमनै सोच्ने पनि गर्छु मेरी झुम्कीलाई भेटेर उसको मधुर आवाजसँगै उनलाई नजिकबाट माया गर्ने दिन कहिले आउँला ?

झुम्की, हिन्दु नारीहरुको महान पर्व तीज पनि आउँनै लाग्यो । मैले तिमीलाई तीजका लागि भनेर सारी, मेहन्दी, चुरापोते लगायतका सामान किनेर कोठामा राखेछु । गाउँको कोही आउने भेटाउनै बित्तिकै पठाइदिनेछु । तिमीले त्यही श्रृंगार हेरी मेरो हृदयको राजा दिले टुप्लुक्क आयो भनेर सम्झनु । झुम्की, वर्ष दिनको एकपटक आउँने चाँडमा ब्रत बसी हुनेवाला वा साथै भएको हृदयको ढुकढुकीको दीर्घायुको कामना गर्ने तीजको म पनि सराहना अनि प्रशंसा गर्छु ।

तर, मेरी हृदयकी रानी झुम्की, दिनभर पानी पनि नखाई एकोहोरो रूपमा छम्छमी नाच्दा भने मेरो मन साह्रै साघुँरो हुन्छ । तिमीले तीजमा फलफूल, जुस खाएर कम्मर मर्काएर नाच्यो भने मेरो मन साह्रैै हलुका र फराकिलो हुने थियो ।

देवीथानमा तिमीले कम्मर मर्काइमर्काइ नाचेको अझै झलझल्ली सम्झनछु । लाटी, तिमीले तिम्रो दिले देखेपछि त झन् कम्ता कम्मर मर्काएकी थिएनौं । झुम्की हुँदा त त्यहाँ धेरै नारीहरु थिए तर मेरो हृदयकी रानी झुम्की बराबर कसैले नाच्न नसकेको तिम्रो दिलेलाई लागेको थियो ।

म तीजमा आएन भनेर मन नखुम्च्याउनु नि हैं झुम्की । मन ठूलो बनाएर बस्नु । तिमीले हिजै पठाएको म्यासेजले भने मलाई सोच्न बाध्य बनाएको छ । तिमीले लेखेकी थियौं– ‘दिले पहिला त तिमी आउँन्थ्यौ र पो मैले बाँसुरी बजाउन्थे । ऐले त मेरो बासुँरीमा पनि खिया लागिसक्यो । दिले अब त तिमी पनि आउदैनांै होला त्यही सोचेर मैले बासुँरी छोडी सारंगी रेट्ने सोच बनाएकी छु ।’

धत् लाटी, यस्तो छोटो कुरा पनि गर्ने हो र ? अब तिम्रो दिले चाँडै आउँने छ । अनि मेरी हृदयकी रानीलाई कहिल्यै नछोड्ने गरीसँगै बस्ने छ । प्रतीक्षा गर । प्रतीक्षाको फल मिठो हुन्छ है मेरी रानी ।

एकपटक घरमाथिको बुढो पीपलको रुख ढल्दा तिमीले मेरो मुहारमा आत्तिदै हेरेर च्याप्प मेरो हात समाएकी थियौं र भनेकी थियौं– ‘दिले कतै हाम्रो माया पनि यसरी नै ढल्ने त हैन ?’

मैले तिमीलाई रोक्दै भनेको थिएँ– ‘धत् के भनेकी लाटी हाम्रो माया रुखजस्तो कहाँ हो र ? रुख त जति बुढो भो त्यति नै कमजोर हुन्छ । तर, हेर हाम्रो प्रेम जति बुढो भयो त्यति नै बलियो हुन्छ ।’

मेरो कुरा सुनेर मेरी हृदयकी रानी तिमी फिस्स हाँसेकी थियौ हगी ?

मेरी रानी हामी भौगोलिक रूपमा जति टाढा भएपनि हाम्रो मायाप्रेम त्यतिनै प्रगाढ र बलियो हुनेछ । सानो मन नबनाउनु ल । अर्को पटक त तिम्रो दिले अवश्य आउने छ ।

उही
दिले
धनगढी, कैलाली ।

    Comment Here!