मोहन मैनालीको उपल्लो थलो तिरको अक्षर यात्रा

  • सच्चिदानन्द जोशी
प्रकाशित मिति :

छ वर्ष जस्तो भयो होला पत्रकार प्रकाशबिक्रम शाहले उपल्लो थलो मलाई दिनुभएको । किताबको प्रवद्र्धन गर्दै मेरो कार्यालयमा आउनु भएको थियो । खासमा किताबको मामलामा म अलि फरक छुँ । पाए जति सबै पढ्ने र त्यसमध्ये असल छान्ने गर्दा असल हुन्थ्यो होला तर म असल छ भन्ने लाग्यो भने पढ्छु । अरूको भनाई सुनेर, समीक्षा वा लेख पढेर वा सरसरती पढाई गरेर किताब छान्ने बानी छ । अरू त केही होइन् यसले समय बचाउँछ । मैले प्रकाशजीलाई टार्न खोजेँ । उहाँले अलि बढी नै प्रसंशा गरेपछि म त्यो किताब लिन राजी भएको थिएँ राम्रो नभएमा फिर्ता गर्ने सर्तमा । तर त्यो फिर्ता गर्नु परेन । त्यसले मेरा पुस्तकालयका अरू अभागी किताबहरू जस्तै कैद जीवन बिताइरहेको छ ।

पहिलो हेराई
सवैजसो पुस्तक पढ्नु पहिले म गाता अगाडिपछाडि पढ्छु । हस्त गुरुङ्गको उक्साउने दुईहरफ पढेपछि खिसिक्क हाँसे, पढ्ला भनेर लेखेछ भन्दै । ‘पुस्तकवाट’ भन्ने टुक्राले खासै अर्थ दिएन । लेखकले नै छानेर राखेकाहुन भने त्यो लेखाईको विशिष्टता लेखकलाई मात्र थाहाहुने खालको, सम्पादक वा डिजाईनरले राखेकाहुन भने राखिदिनका लागि राखिदिए जस्तो लाग्यो ।

भूमिकाको सन्दर्भ
मलाई कार्लमाक्र्सको लेखन शैली मज्जा लाग्छ भूमिका मै सवै कुरा लेखिभ्याउने । अनि किताब चाँही त्यसको पुष्ट्याईका लागि लेख्ने । यसो गर्दा पाठकलाई सजिलो हुन्छ । भूमिका मै कुरो बुझिहाल्यो भने थप किन पढ्नु प¥यो ? वुझेन भने भित्र पढ्नेभयो । त्यो शैली भएन भने पनि मलाई लेखक आफैले लेखेको भूमिका मनपर्छ । किन लेखेको ? कुन परिवेशमा लेखेको ? कसका लागि लेखेको ? आदि कुरा लेखकलाई थाहा हुन्छ । अर्कैले लेख्यो भने अन्दाज हुन्छ । कहिलेकाँही त आनका तान फरक पर्छ । सात्र्रले फ्याननको किताब ¥याच्ड अफ दि अर्थको भूमिका दुवै जना हिंसाका पुजारी नै हुन की भन्ने जसरी लेखिदिए । अनेक उदाहरण छन् । यो पुस्तक पनि अपवाद छैन । मैले भूमिका पढें । बेईमान स्वास्थ्यकर्मी, उपचार बिहिन मर्ने गरेका भेडाका पाठा, देश लुट्ने नेता–कर्मचारी–व्यापारी, पुल–बाटोको अभाव, अशिक्षा, जातीय छुवाछूत कति पढ्ने ? मलाई पीडाका कथा, विरहका गीत, अभावका निवन्ध, दुःखान्त फिल्म, अन्धविश्वसको आलोचना उपलव्धिमूलक कुरा हुन जस्तो लाग्दैन । लेखन शैलीका कारण मिठो चाँही हुनसक्छन् तर अगाडि के त ? मैले यो किताब नपढ्ने विचर गरें, प्रकाशजीसँग मनमनै रिसाएँ र थन्क्याएँ ।

यो थन्क्याएको केही दिन पछि फिल्ड जानु पर्ने भो । अलि लामो दिन उतै वस्ने भए पछि समय काट्न केही बोक्न प¥यो भनेर हेरेको त्यहि हात प¥यो । अर्काै कुरा प्रकाशजीले भेंटै पिच्छे ‘पढ्नुभो त सर’ भन्ने र मैले वहाना गरेर टार्ने क्रम चलेको धेरै भएको थियो । टीकापुर वसाईमा किताब पढ्दै गर्दा लेखकले भूमिका आफै लेख्नुपर्छ भन्ने मेरो वुझाई झन पुष्टि हुँदै गयो । भूमिकाले यो किताबसँग न्याय गरेको रहेनछ । यसले त किताबलाई नकारात्मक टिप्पणीहरूको ढड्डा होकी भन्ने बनाईदिएको थियो । तर किताब त्यस्तो थिएन । भूमिकाको सबैभन्दा नकारात्मक हिस्सा पेज झ को अन्तिम दुई वाक्य थिए जसमा सबलाई बेईमान र घिनलाग्दा बताइएको थियो । अरू सवैलाई वेईमान देख्नेले आफूलाई ठिक भन्ने आधार गुमाइसकेको हुन्छ । किनभने उ आफू पनि त अरूका लागि अरू नै हो नी । “देश लुटेर धन कमाउने अनि उल्टै फुर्तिलगाउने राजनीतिकर्मी, व्यापारी, कर्मचारी र त्यस्तै समूहका अन्य मानिसलाई इमानदारीताको पाठ सिकाउँछ यस पुस्तकले” भन्ने वाक्य नै थियो जसले मलाई पुस्तक नपढ्न प्रेरित गरेको थियो । किनभने यदि त्यसो हो भने म त्यस पुस्तकको लक्षित पाठक थिइन् । मलाई लक्षित गरेर नलेखिएको किताब मैले किन पढ्नु प¥यो ? फेरि मूल्य मान्यताका बारे गार्नरको विचारवाट प्रभावित म नैतिक शिक्षाका लागि अरूले लेखिदिएको किताब अर्थहिन ठान्छु । अर्काका विश्वासहरूलाई अन्धविश्वासको जामा लागाईदिनेहरूका लेखाईहरूलाई महत्त्व दिएर म विश्वास गर्नेहरू उपर अविश्वास गर्न चाहन्न पनि । एउटा माक्र्सवादी हुनुको नाताले मलाई कुनै विश्वासहरू अन्धविश्वास हुन की हैनन् भनेर नजाँची भन्नहुन्न भन्ने लाग्छ । ‘हिमाल चढ्न हुन्न’ भन्ने स्थानीय विश्वास विश्वास हो की अन्धविश्वास भनेर हेर्न कार्यकारण सम्बन्ध नहेरी हुन्न । तर कारण नसोधी अन्धविश्वासको लालमोहर लगाउनु ठिक होइन् । खोज पत्रकारिताको महासचिव नै भए पछि त यस्तो लेख्न नहुने हो क्या रे । मानव समाज र सँस्कृतिको अध्ययनमा नियम खोज्ने माक्र्सवादी तरिका क्लिष्ट मान्नेहरूका लागि क्ल्फिोर्ड ग्रिजको अर्थ खोज्ने तरिका पनि त छदैछ । तर केही नखोजी अरूको विश्वासलाई अन्धविश्वास भन्नु पो अन्धविश्वास हो त । त्यसै गरी एउटा मान्छेको जीवन अर्काको जस्तै किन हुन प¥यो ? किन मनासलुका मान्छेको जीवन सगरमाथा र अन्नपूर्ण जस्तै हुनप¥यो ? के जीवन अर्काको जस्तै हुनु पर्ने हो ? के आफ्नै जस्तो जीवन ठिक छैन ?

यस्ता कैयौं कुराहरूले मलाई यो किताब नपढ्ने निधो गर्न उक्साएका थिए । तर पढ्दै जाँदा मलाई लाग्यो (यसबारेमा दोहोरो सम्वाद नभएकाले निश्चित भने छैन) सम्भवतः लेखकले “देश लुटेर धन कमाउने अनि उल्टै फुर्ति लगाउने राजनीतिकर्मी, व्यापारी, कर्मचारी र त्यस्तै समूहका अन्य मानिसलाई इमानदारीताको पाठ सिकाउन” यो किताब लेखेका थिएनन् । इमानदारिताको पाठ पढाउने यान्त्रिक नीति संग्रह होइन् रहेछ यो पुस्तक । यो त लोक जीवनचर्याको जीवन्त चर्चा रहेछ । लेखकले बुढीगण्डकीमा आनन्द देखे, हस्तजीले दुःख देख्नुभो । लेखाईमा हो वा हेराईमा खोट अवस्य छ । भूमिका र मुल किताबमा आधारभूत रूप मै देखिएको यो एउटा उल्लेख्य फरक हो ।

अब पुस्तकको कथाबारे
पुस्तकको कथा भनिए पनि यो पुस्तक प्रादुर्भावको कथा हो । यसमा खासै उल्लेख्व विषय नभए पनि यो मेरा लागि भने महत्त्वपूर्ण छ । पुस्तक पढ्दा मन परेको वा नपरेको, मिले नमिलेको कुरा पुस्तकका छेउ पुछारमा लेख्ने मेरो बानी छ । मैले पढेका कतिपय किताब धेरै फोहर हुन्छन् । टीकापुर बसाईका बेला मैले त्यो किताब सिनित्तै पढी भ्याएको थिएँ । कतिखेर धनगढी पुगेर प्रकाशजीलाई सुनाउला भएको थियो । खासमा यति मज्जाको किताब उपलव्ध गराएर उहाँले लाएको गुनको कृतज्ञता ज्ञापन गर्न चाहन्थेँ म । धनगढी पुगे पछिको चिया भेंटमा मैले प्रकाशजीलाई आफूले किताब पुरै पढिभ्याएको र राम्रो लागेको बताएँ र धन्यवाद दिएँ । प्रकाशजी खुसी वा वेखुसी भएको कुरा उहाँका वडिल्यांग्वेजबाट बुझ्ने गरी परिचित छौं हामी । उहाँ खुसी हुनुहुन्थ्यो खासमा सुरुको दिन मैले किताब लिन नमानेको विषय सम्झेर अझबढी । किताब पढ्दा मलाई लागेको कुरा मैले टिपोट गरेको कुरा बताउँदै म त्यो तपाईलाई दिउँला, लेखकलाई पठाईदिनुहोला भनें । मलाई प्रकाशजी र लेखकको सम्बन्ध अलिअलि थाहा पनि थियो । मैले के पनि भनेँ भने त्यो अलि आलोचनात्मक छ लेखक रिसाउने हुन भने नपठाउँ । उहाँले अत्यन्त उत्साहका साथ ‘हुन्छ नी सर म पठाइहाल्छु नी, मोहन सर यस्तो कुरा राम्रो मान्ने मान्छे हो’ भन्न भ्याउनु भो । तर मलाई ‘पुस्तकको कथा’ शीर्षकको च्याप्टर झलक्क याद आयो । खासमा ‘मोहन सर’ आलोचना त्यति रुचाउने मान्छे होइनन् की भन्ने मलाई परेको थियो । त्यो भेंट पछि प्रकासले धेरै पटक खै त दिनु भएन भन्नुभो तर मैले आनाकानी गरें । मलाई प्रत्यकपटक यो च्याप्टरले रोक्थ्यो । वास्तवमा म पनि ‘आहा कस्तो गज्जब’ भन्यो भने पढेनकी क्याहो भन्ने सोच्ने भित्र पर्छु । त्यसैले यो लेख लेख्ने रहर पनि जागेको हो । तर सगरमाथाको शृंखलाका बारे लेखकका साथीले गरेको प्रशंसामा मख्ख लेखक अन्तिम भागलाई झुर भनिदिएकोमा चाँही वेखुसी भएको प्रष्ट छ । जे राम्रो थियो त्यो त उनले गरे, जे नराम्रो भो त्यो जति अरूले गर्दा भयो भनेर लेखेको देखेपछि यसअघिको प्याराग्राफमा प्रशंसा सुन्न भन्दा आलोचना सुन्न चाहने उनको कुराको नक्कली पना यहाँनेर छताछुल्ल हुनपुगेको लाग्यो । कसैले झुर भनिदिने वित्तिकै उनले स्पष्टिकरण दिइहाले ‘त्यो त मेरो थिएन’ भनेर । नहुन सक्छ । तर त्यो पनि अति राम्रो भनिएको भए सायद विचरा सगरमाथाका कार्यक्रम संयोजकले लेखिदिएको भएपनि यसरी बाहिर आउथ्यो भन्ने लागेन मलाई । आफूले लेखेको कुरालाई प्रशार गर्ने लेखकको हुटहुटी यस च्याप्टरमा पनि सुरुमै छ । हस्तजीले पनि त्यसलाई उल्लेख गर्नुभएको छ । त्यस्तो हुटहुटीलाई सजिव पार्न जुन साथीेले सहयोग ग¥यो उस्का प्रति एक पेज लामो कृतघ्नता विचारणीय विषय हो । त्यसैले मेरो कुराले पनि उनलाई अरू कसैका प्रति कृतघ्नता व्यक्त गर्ने मौका नमिलोस भनेर मैले त्यो दिइन । अब वर्ष धेरै वितेपछि मात्र यो सार्वजनिक गरको हुँ ।

लेखाईका बारे
यात्रावर्णनको सुन्दर प्रस्तुतिहरूमध्ये यो पुस्तक उदाहरण योग्य छ । सुन्दर यस मानेमा की यसमा रूप र सार दुवैमा मेहनत छ, कलाकारिता र स्ट्रेन्थ दुवै छ । खोला, जंगल र हिमालका प्रशंसाहरू, होटल, सडक र कलेजका वर्णनहरू, समुन्द्री किनारा, महिला, मदिरा र जुवाघरका वयानहरू यावत थुप्रै पढियो । ती कतिपय अत्यन्तै सुन्दर थिए । आफ्नै विशेषता युक्त । यसमा विशेषता के छ भने यसमा जनता छ, धेरैमा हुने गर्दैन । जनताको पनि त्यो तप्का जसको वर्णन इतिहासमा खासै पाइदैन । महाभारत ती सिपाईहरूको पनि थियो जो काटिए, मारिए । तर नाम कौरव, पाण्डव र कृष्णको अनि उनका मामा, काका, फुपु र ससुराहरूको मात्र आयो । संसारभरी नै गरिखानेका कथा कमै लेखिन्छन् । गरिखाने वर्गको भनिने कम्युनिष्ट साहित्यमा पनि लेनिनका, स्टालिनका, माओका, चेग्वेभेराका नायकत्व ठसाठस हुन्छन् उनको देवत्वकरण हुन्छ तर धेरै कम मात्र ‘युवाहरूका गीत’ लेखिन्छन् । त्यस्तै गोर्कीलाई पनि विर्सिहाल्ने भनेको हैन । यस किताबमा लेखक आफै पनि पात्र भएर होला नायकत्वको अभाव त छैन तर पनि यसमा गरिखानेहरूको कथा छ । यस अर्थमा यो जनताको कथा हो । कार्लमाक्र्सका सर्वहारा वनिनसकेका तर नेपालका कम्युनिष्टहरूले जवर्जस्ती सर्वहारा घोषणा गरेकाहरूको मज्जाको कथा, खासमा मज्जाको त कथा वुन्ने शैली छ । त्यसैले मैले दुवै मोर्चाको कुरा गरेको हँु । जति तल गयो त्यति हाँर्दिक मान्छेहरू, हाकिम भन्दा पियन हार्दिक, सुव्वा भन्दा मुखिया हार्दिक । हार्दिकताको मात्रा र गुण जति तल गयो त्यति बढी । यो सुन्दर हैन त ?

‘हिउँ भन्दा ठूलो शक्ति केही छैन संसारमा’ भन्ने बुझेको छिरिङ त्यसै हिउँसँग पौठाजोरी खेलेर जति भत्काए पनि फेरि पुल बनाएर, कहिले चौरी वारि सारेर कहिले चौरी पारि सारेर जविति छ, जीवन प्रति आशावादी छ । आगोको अन्वेषणदेखि कन्ट्रासेप्टिकको आविस्कारसम्म प्रकृतिसँगको संघर्षमा विजय हाँसिल गरेको मानव सन्तान हो छिरिङ । हिउँको शक्तिको प्रशंसामा उसको आफ्नो शक्तिको छद्म उद्घाटन पनि छ । यो छिरिङलाई भन्न लगाएर मानव इतिहासका ठूल्ठूला पोथी पात्राहरूलाई एक पेजमा लेखिदिनु सुन्दरता हो । नेपाली समाजलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक, प्राक्पुँजिवादी, पुँजिवादी, सामन्तवादी, वा अरूनै केही विशेषण लाइहाल्ने विद्वानहरूले पनि एकपटक यो किताब पढी दिए गाउँ र सहरको दुई नेपाल, लेक र वेसीको दुई नेपाल, सिंहदरवार र हिउँको सत्ताको दुई नेपाल फरक छुट्याउन काम लाग्थ्यो होला ।

शासकीय सुधारका ठूलाठूला परियोजना र भाषणहरू सुनेर अनि क्रान्ति र परिवर्तन बाँडीचुँडी गरेर हुर्केको मेरो पिंढीले जान्नै पर्ने छेकम्पारको कथा (पेज ४७) अर्काे सुन्दरताको नमुना हो । नेपाली शासनको ‘महान’ गाथाको सरल प्रस्तुति । नेपालमा जवाफदहिताको प्रश्न मुर्खहरूले मात्र गर्ने प्रश्न हो रे । नेपाल भरी समान भोगाई, समान पीडा, समान दरिद्रता, समान वेवास्ता र समान गैरजिम्मेवारी पनको समान भिक्टीम हजारौं छेकम्पारहरू छन् तर तिनको कथा यति मज्जाले कमै आउछ ।

गरिबी र विभेद धेरैले भोग्छन् । कमैले देख्छन् र धेरै कमले लेख्छन् । लेख्नेले पनि रुवावासी लेख्छन् किन भने त्यस्तै देख्छन् । देख्ने र लेख्नेहरू भोग्नेवाट आएका थोरै भएर मात्र पनि त्यसो भएको होला । गरिबी र विभेद रुवावासी होइन् । मृत्यु होइन् । यो त विरामी हो क्युरेवल । क्वायर्ड हो प्राकृतिक होइन् । अझ एक्वायर्ड पनि नभनौं थ्रस्टेड हो । गरिबी सिर्जित विभेद गरिबीको अन्तसँगै समाप्त हुन्छ रुवावासीले होइन् । यसलाई वदल्न नयाँ जीवन दृष्टि चाहिन्छ । खसेको छाँगोमा विजुलीको टर्वाईन घुमाउन पाए (पेज १९) महिला र केटाकेटीले पनि चप्पल लाउन पाउथे भन्ने दृष्टि । रुवावासी त मृत्युमा हुन्छ । अब कहिल्यै फर्की नआउने आफन्तका नाममा । विरामी विदाई गर्दा र लास निकाल्दाको फरक एउटै होइन् । तर द्रष्टा दुवैमा सम्यक भैदिए कसको के लाग्छ । यस किताबमा भने रुवावासी छैन । महिला र केटाकेटीका खुट्टा नांगा र पुरुषले मात्र चप्पल लगाएको (पेज १७) लाई विभेद भन्दै उरालेको भए पनि हुन्थ्यो । विभेदलाई एकोहोरो उरालेर अस्तव्यस्त पार्ने अनि बेचिखाने रहर देखिदैन यहाँ । यो त्यसैले सुन्दर छ ।

ताक्लाकोटको हुम्ली भरियाले ‘हामी नेपालीहरू खच्चर हौं र नेपाल सरकार खच्चरहरूको मालिक हो’ भन्दा आँङ जिरिंग हुन्नथ्यो भने, आँखा र मुटुलाई एक्कैचोटी चिमोठ्दैनथ्यो भने यो लेखाई सुन्दर हुन्नथ्यो । रेमिटान्समा वाँचेको म र मेरो सरकारको नक्कली पर्दाको कति सुन्दर च्यातचुत । यो एकाँगी छैन । सुख छ, दुःख छ, पीडा, स्नेह, क्रोध, घृणा, रिस, द्वेष, आनन्द छ आक्रोस छ, मनोविज्ञानको प्रस्तुति पनि छ । समग्रमा यी सबको समग्र छ । त्यसैले जविन्त छ । भव्य छ । भिमनिधी तिवारीको एउटा नाटक छ शिलान्यास । त्यसमा मानव मनोविज्ञानको एउटा सुन्दर प्रस्तुति छ । घले र द्रव्यशाह दौडमा प्रतिस्प्रधा गरिरहँदा एकजना दर्शक जो जित्यो उस्कै प्रशंसा गर्ने । नेपाली आम मनोविज्ञानलाई लेखकले कति सुन्दर प्रस्तुत गरेका छन् । शाहवंसीय प्रसस्तीगान भए पनि लेखकले कति सुन्दर ढंगले त्यसमा शिक्षा पनि दिएका छन् कि महाराज जनता घलेले जते घले तर्फ र शाहले जित शाह तिरै लाग्छन् है । इतिहासको त्यो क्रम काठमाडौं र त्यसपछि नेपाल एकीकरणमा पनि देखिएको थियो । त्यहि कुरा लेखकले मज्जा भनेका थिए । मनोविज्ञानमा केवल विपि कोइराला, विजय मल्ल वा पोषण पाण्डे मात्र देख्नेहरूमा दृष्टिभ्रम छ । छिटो पुग्ने रहरमा बाढी आएको खोलामा गाडी हाल्ने चालकको प्रशंसा गर्ने, गाडी फस्दा उसैलाई गाली गर्ने गाडी पारलागे पछि प्रशंसा गर्ने (पेज २०६) कलात्मक कम भए पनि प्रतिनिधिमूलक छ ।

यसको सुन्दरताको अर्काे कारण हो यसले अंगिकार गरेको वातावरणवारेको बुझाई । वातावरण केवल Ecology मात्र हैन Environment पनि हो र अझ मुख्य रूपमा Environment नै हो भन्ने पुष्टि गर्न किताब सफल भएको छ । प्रकृति मान्छेका लागि हो र मान्छे बिना प्रकृति केही होइन् साँच्चै केही होइन् भन्ने माक्र्सको विचारलाई पुस्तकले पुष्टि गरेको छ । धेरैले भोग्छन्, थोरैले लेख्छन् । लेख्नेका कुरा भोग्नेहरूलाई आफ्नै हो भन्ने लाग्यो भने जिवन्त साहित्य त्यही हो । सुन्दरता त्यहि हो ।

लेखन शैलीका बारे
साहित्यमा यो विवाद लामै छ कि लेखाई प्रकृतिक ढंगको, स्वतन्त्र हुने कि परिष्कृत हुने ? देवकोटाको जस्तो अर्थ खोजेर पढ्न पर्ने राम्रो की समको जस्तो अर्थ खोजिखोजि लेखिदिएको राम्रो भन्ने कुराको भ्यालु जजमेण्ट गर्न सकिदैन, मिल्दैन । अनि हामी पत्रकारिता र साहित्य पनि अलि फरकै बुझ्छौं । हुन त पत्रकारिता पनि सरस र सरल भए फरक नपर्ने हो तर नेपालमा ङ्याक्ने शैली मुलधारमा छ । यसतर्फ लेखकले ‘काल्पनिक कुराको गन्ध पनि नआओस् र धेरै टर्राे पनि नहोस् भन्नेमा सजग छुँ’ भनेबाट विश्वस्त थिएँ । त्यसमा उनी धेरै हदसम्म सफल पनि छन् । मैले यहाँ जानाजान धेरै हदसम्म मात्र भनेको छुँ । किनभने अरूको टर्राेपनको व्याख्या गर्दा गर्दै लेखकले आफू टर्राे भएको भेउ नपाएको पनि छ किताबमा । झोला जाँच्ने इन्सपेक्टर (पेज २०८), बाटोमा पसल थाप्ने व्यापारीका (पेज २०९) बारे त्यति टर्राे नलेख्दा पनि किताबमा केही घट्ने थिएन, न गुण, न मात्रा । यस्ता अरू पनि प्रसंगहरूले मलाई ‘धेरै हदसम्म’ भन्न लगाएका छन् ।

मलाई नेपालीमा अनुवाद गरिएका किताब त्यति राम्रा लाग्दैनन् । तर बाध्यताले पनि होला रुसी किताबहरू अनुवादै पढ्नुपर्छ मैले । पढ्दैजाँदा शैली मन पर्ने पनि रहेछ । मलाई रुसी साहित्यको खास गरेर कथा र उपन्यासको अनुवाद प्रस्तुति मज्जा लाग्छ । धार्चुलाको लजवाला गोविन्द सिंहको कथा नेर आइपुग्दा मलाई यो कथा बुन्ने र भन्ने शैली पनि त्यस्तै लाग्यो ।

पस्किारवादी वन्नु ठिक नपर्ला तर खट्किएकै कुरा पनि नलेख्नु इमानदारी होइन् । मलाई लाग्छ इतिहासलाई इतिहास कै रूपमा अध्ययन गर्नु उपयुक्त हो । यस लेखाईले राजा महेन्द्रको राजनीतिक आलोचना त गरेको छैन तर उनको विकास प्रयास, देशव्यापी भ्रमण, जस्ता कुरालाई कम मूल्यांकन गरेको छ । उनको तानाशाहीका वावजुद उनी विकासवादी नेता थिए । उनको भ्रमण ताका वाचा गरिएका र पुरा गरिएका थुप्रै उदाहरण पूर्वदेखि पश्चिमसम्म पाइन्छन् । १९६०–७० को त्यो बेलालाई त्यतिबेला कै नजरले हेरेको भए सहि निश्कर्ष आउथ्यो । त्यतिबेला विश्वव्यापी देखा परेको तानाशाही मार्फत विकास नीतिका उनी एकजना उदाहरण हुन, मार्सल टिटो र पार्क चङ ही जस्तै ।

किताबमा केही प्रविधिगत र सम्पादकीय समस्याहरू पनि छन् जसलाई सच्याउन सकिन्थ्यो । ३०–४० जना पढाई हुने विद्यालयमा ‘एकजना’ मात्र शिक्षक हुने तर प्रायः ‘सबै’ शिक्षक तल्लो भेगवाट आउने (पेज २०) लेख्दा अमिल्दो देखिएकोछ । खासमा पाँचौ र छैठौं प्याराको सुरुको यहाँ शव्दले अर्थ गाँजेमाजे पारेको छ । त्यस्तै बाली छरिसकेपछि मल हाल्ने चलन पहाडमा अन्यत्र पनि छ र माथिबाट परेको पानी वा जमेको हिउँले मललाई भित्र पु¥याउँछ भन्ने विश्वास छ । यो प्रविधिमाथि प्रविधिकहरूको टिप्पणी छ । त्यसैले पहिलो प्याराको रस जमिनमा ‘जान्थ्यो’ र करु हलक्क ‘बढ्थ्यो’ (पेज ४८) लाई ‘भन्ने उनीहरू मान्दछन्’ भनेको भए ठिक चित्र आउँथ्यो की । ‘चीनमा साँस्कृतिक क्रान्तिले आतंक मच्चाएको बेला’ (पेज १२८) ‘चीनमा साँस्कृतिक क्रान्तिका बेला’ मात्र भन्दिँदा कसनै तथ्य वा तथ्यांक फरक पर्दैनथ्यो र पूर्वाग्रह देखिदैनथ्यो । लाई यस्तै यस्तै । त्यसवाहेक पत्रकार भएर होला सुनि जानेकालाई पनि देखि जानेको जस्तो प्रस्तुत गर्ने बानी परेको (नेपाली नम्बर प्लेटवाला गाडीको प्रसंग पेज २०६) ।

सबैभन्दा मज्जा लागेको र नमज्जा लागेको
किताबमा सबैभन्दा मज्जा लागेको प्रसंग र लेखाई प्याटर्न हो प्रौढ कक्षा पढ्ने एकजना महिलासँगको कुराकानी (पेज ८) । “अलिकती बुद्धि आउदो रहेछ क्या ‘क’ जान्दाखेरी । धेरै जाँनिदो रहेछ । ‘क’ पनि भन्न नजान्ने भएपछि के जानियो र ?” आहा । त्यसैमा थप सुन्दरता थपेको छ जयबहादुरको भनाईले (पेज ९) । “चाहिएको त धेरै थियो तर सबै कुरा एकै पटक पाइदैन । त्यसैले केटाकेटीलाई चाँही पढाउने विचार गरेको छुँ । साक्षर भइयो भने आजभोलिका बच्चासँग दिमाग मिल्थ्यो होला भनेर आफू पनि पढ्ने विचार गरेका छौं ।” यी दुई प्याराग्राफ पढ्दा मलाई स्टेफेन ड्याल्ड्रीले निर्देशन गरेको वर्नहार्ड स्कलाईनको किताबमा आधारित फिल्म द रिडरको याद आयो जसमा केट विन्सलेटको मुख्य भूमिका छ । कति सानो कुरालाई लिएर कति भव्य फिल्म बनको छ । अनि गाउँको एउटी ‘अनपढ’ महिला त्यहि स्तरमा आफ्नो कुरा राख्छे र एउटा नेपाली लेखक त्यसलाई कति सामान्य ढंगले जीवन्त प्रस्तुत गर्छ । त्यस्तै फौंदसिंहले केराको दाम्चो काटेर निचोर्दै बच्चाहरू पानी ख्वाएको कुरा (पेज ११) गड मष्ट वि क्रेजीको झझल्को दिन्छ । गड मष्ट वि क्रेजि फिक्सियस होइन् भन्ने पुष्टि गर्छ र … लाई सलाम गर्न लगाउँछ । नेपालमा गम्भीर विषयमा फिल्म बन्दैनन् भन्नेहरूलाई यो पुस्तकमा सयौं प्रसंगछन् कथा कथ्न । कसैले गरे हुने ।

नमज्जा लागेको विषय हो लेखकको जातीय धारणा । यस सन्दर्भमा दुईवटा प्रसंग उल्लेख्य छन् । एक त मानबहादुर विश्वकर्माको उच्चस्तरको साँस्कृतिक सम्वेदनशीलता (पेज १०) सहि ढंगले प्रस्तुत भएन र उनीमाथि अन्याय भयो । अर्काे सार्कीले चिया ल्याएर दिएको (पेज ३०) विषयलाई यति धेरै मजाक र व्यंग्यको विषय बनाइनु हुन्नथ्यो । त्यसमा पनि एउटा अदना भरियाले ‘अब जातीय विभेदवाट मुक्त भइयो’ भनेर, ‘अब वाहुनले मैले छोएको खानपर्छ’ भन्ने आग्रहवाट प्रेरित भएर चिया ल्याएका थिए कि भन्ने लेखकको आशंका जातीय अहंकारमा आधारित छ । सार्कीले ओच्छ्यान मै चिया ल्याएर दिँदा लागेको रिस अभिव्यक्ति गर्न नसकेर यो वनावटी कुरा गरेको होइन् भन्न लेखकले सक्दैनन् । उ खुसी भए कै थियो भने पनि उस्को खुसीमा खुसिहुनुको सट्टा लेखकले व्यंग्य कसेका छन् र उस्को खुसी टुट्दा पनि खुच्चिङ गरेका छन् । मज्जा लागेन । यसले आफूलाई उपल्ला जातको भन्नेहरू तल्ला भनिएका जातिको खुसीमा, माथिल्लो वर्गका भन्नेहरू तल्ला भनिएका वर्गका खुसीमा रमाउन सक्दैनन् भन्ने नै देखाउँछ । अन्यथा यहि कुरा अर्कै ढंगले पनि आउथ्यो । गुरङसेनी दिदीले आगो ताप्न दिएको कुरामा (पेज ३१) पनि लेखकको मन वटारिएको बुझिन्छ । कामी र दमाई भरियाहरूका अनुहारमा देखिने मौन विद्रोह देख्न बत्तिको होइन् भावना र विचारको उज्यालो चाहिन्छ । निष्पट्ट अध्यारोमा पनि त्यो भेउ पाउन सकिन्थ्यो । दुव्र्यवहार गर्नेहरू र पोल लाउनेहरू विरुद्ध उनीहरूले प्रकट गरेको झिनो भावमा छद्म विद्रोह छ । त्यो विद्रोह लेखकको टोलीसँग पनि हो । तर ज्यालाको आश र डरले गरिब बोल्दैन । यत्ति भने लेखिछोडेँ ।

लेखकले देखेर पनि नदेखे झैं गरेको वा नदेखेको वा देख्न नचाहेको वा भन्न नचाहेको कुरा पनि छ किताबमा । यो भने अनौठो टिप्पणी भयो हैन त ? हो छ । राजनीतिक व्यवस्था परिवर्तन जनसाधारणको जीवनमा केही पनि परिवर्तन आएन भन्ने टिप्पणी (पेज ८ र ९) यस श्रेणीमा पर्दछ । यो या त लेखकाको दृष्टिभ्रम हो, या पूर्वाग्रह, या निराशावाद । नराम्रो व्यवस्था हटेर राम्रो व्यवस्था आउँदा जनतालाई नै फाइदा पुग्छ शासकलाई होइन् । शासकलाई त जति नराम्रो व्यवस्था रह्यो त्यति राम्रो हुन्छ । उदाहरण त यो पुस्तक नै हो यसमा लेखिएका कतिपय कुरा पञ्चायतकालमा आउन सम्भव नै थिएन । त्यस्तै रानागाउँको सामुदायिक सुशासन नयाँ परिवेशको उपज होइन् र ? के यो नमुना अभ्यास शासकहरूको हितमा छ ? सहि तथ्यहरूको आधारमा निकालिएको भन्दैमा गलत निश्कर्ष सहि हुँदैन । यो कलात्मकता वा काव्यकारिता नमिलेको मात्र होइन् नयाँ परिवर्तनलाई आतमसात गर्न नसकेको पनि हो भन्ने देखिन्छ ।

र अन्तमा,
मेरा धेरै पत्रकार साथीहरू छन् । स्थानीय जातका देखि राजधानी जातका सम्म । उनीहरूमध्ये कति सँग ‘पत्रकार हुनुमा हैन पत्रकार भएर के गरें भन्नेमा गर्व गर्नुस््’ भन्ने मेरो आग्रह छ । कति सँग त मेरो वहसै हुन्छ । आत्मश्लाघामा रमाउने मेरा कतिपय साथीहरूले “चुपचाप आफ्नो काम गरिरहेका गुमनाम मानिसहरू आफू र आफन्तलाई दुनियाँ सामु देखाईदिने मानिसलाई गुणी सम्झदा रहेछन् । आफ्नो अस्तित्व कसैले स्वीकार गरेको ठान्दा रहेछन् । पत्रकारहरूले गर्ने कामलाई महत्त्व दिंदारहेछन् । त्यसप्रति कृतज्ञ हुँदा रहेछन् ।” भन्ने प्याराग्राफ पढे बुझे हुनेथ्यो भन्ने लाग्छ ।

सल्लाह र धनियाँ सुरुमा गन्हाउँछ है (पुस्तकबाटै)

    Comment Here!