आमाबुबा त्यागौँ कि हुनेवाली !!

प्रकाशित मिति :

यमुना अर्याल (काफ्ले)

marrid

लगनको महिना मङ्सिर आउँदै छ, धेरै नवजोडीले सातजुनीसम्म सँगै मर्ने र जिउने कसम खाँदै आफूहरू एक भएको प्रमाणित गर्नेछन् अग्नि, आफन्त र समाजसामु । पारिवारिक सहमतिमा सबैको चाहनाबमोजिम कतिपय बिहेवारी हुँदै आएका छन्, जुन क्रमले यसपटक पनि निरन्तरता पाउनेछ तर कतिपय जोडी बरु जन्मदाता (आमाबुबा) छाड्न राजी होलान् तर आफूले मन पराएकी हुनेवाला जीवनसाथी छाड्न मञ्जुर देखिँदैनन् ।

या त आफूले मन पराएकी केटी घरपरिवारले स्वीकार गर्नुपर्छ होइन भने आमाबाबु टाढिन्छन्, हुनेवाली टाढिनेवाला छैनन् । केटीतर्फको पनि हालत उस्तै हुन्छ । कि त आमाबाबुले मन पराएको केटाको दायाँ–बायाँ नसोधी ज्वाइँ स्विकार्नुप¥यो होइन भने हुनेवालासँग छोरी टाप, आमाबाबु हेरेको हे¥यै ।

केही दिनअघि आमा–छोराको यस्तै वार्तालाप सुनियो । ‘यो कात्तिकमा कति वर्ष पुग्छस् छोरा ? कात्तिक २५ गते त तेरो जन्मदिन हो नि !’ आमाले निन्याउरो अनुहारमा प्रश्न गरिन् ।

‘के थाहा जन्माउने तपाईँ नै हो क्यारे थाहा होला नि साल, महिना, गते…’ आमाको प्रश्नको प्रवाह नगरी छोराले ठाडो जवाफ फर्काए ।
‘तँसँगैको साथीका बच्चाले एक÷दुई कक्षा पढ्ने भइसके, तँ भने…’ आमाको बोली यत्तिकैमा अडिन्छ तर छोराको डाँको ठुलो बन्छ, ‘भन्न खोज्या के हो आमा ? मैले खोजेको केटी तपाईँहरूलाई नहुने, तपाईँहरूले खोजेका केटी मलाई मन नपर्ने, यस्तै पाराले कति वर्ष जान्छ ? यो साल एउटा निर्णय दिनुस्, कि मैले मन पराएकी केटी भिœयाउन दिनुस् कि अंश दिनुस्, म आफंै बिहे गर्छु, आफंै भिœयाउँछु, श्रीमती पाल्न सक्छु जसोतसो ।’

भएको एउटा छोराले अंश दिनोस् रोजेकी केटी बिहे गर्छु भन्दा आमाबुबाको यति बेला पुर्पुरोमा हात भएको छ ।

पाँच वर्षदेखि आफूभन्दा तल्लो जातकी केटी मन पराएकै कारण पूर्वतिरको थातथलो भए पनि केही वर्षदेखि काठमाडौँको स्थायी बासिन्दा बनेका पौडेल परिवारका युवाको पारिवारिक सहमतिमा विवाह हुन नसक्दाको वार्तालाप हो यो । केटाकेटी राजीखुशी छन् तर परिवारमा बेखुशी हुँदा ती युवा यसपटक बरु घरपरिवार त्याग्ने, केटी त्याग्न नसक्ने निर्णयमा पुगेका हुन् ।

मङ्सिरमा जसरी पनि बिहे गर्ने सुर छ । अब कति कुर्ने ? मलाई केही फरक नपर्ला तर केटीको घरतिर तनाव भइसक्यो, जे–जे हुन्छ होस् यसपटक भागेरै बिहे गर्ने सुर छ उनको । आमाबुबालाई कति फकाउने ? जात–जात, कुरा सुन्दा–सुन्दा आजित भइसकेका छन्, बिहे गर्ने मैले, आफूलाई मन परेपछि अरूलाई टाउको दुख्ने कारण छैन– उनको सटिक जवाफ यही हो । यी पौडेल यति बेला पारिवारिक विद्रोहको मोडमा पुगेका छन् । तल्लो जातको केटीलाई बुहारी बनाउँदा समाजले खोइरो खन्ने, आफ्नो जातको केटीसँग छोराको मन नमिल्ने, कति अप्ठ्यारोमा परेको छ उनको परिवार ! यस्ता परिवार शहर या गाउँ जहीँ–तँही बग्रेल्ती छन् ।

सासूले तल्लो जातको भनेर अपमान गरेकै कारण ३ वर्षदेखि सँगै पढेकी मित्र दशैंमा घर जान सकेकी छैनन् । दशैंको दिनमा समेत सासूले तुच्छ वचन लगाएका कारण मन कुँडिएको दुखेसो छ उनको । बुहारीलाई विभेद गर्दा छोरासमेत टाढिन पुगेका छन् । यो साल पनि छोरो आएन, दशैंको दिन अरूको मुहारमा खुसी हुँदा साथीकी सासूआमा भने छोराबुहारी नआएको गुनासोमा खिन्नता पोख्दै थिइन् । बाहुनले क्षत्रीकी छोरी ल्याएको हो, पानी चल्ने नै हो । म अब केही भन्दिनँ भन्छिन् आमा तर वचनको तीरले तिखोसँग घोचेका कारण आफू दशैंमा घर नगएको बताउँछिन् बुहारी ।

जन्म दिने आमा र जन्मिएको ठाउँ चटक्कै छाडेर छोराले बुहारी च्यापेपछि बुढेसकालमा आमाको हविगत के होला ?

आमा काठमाडौँको खाँटी बाहुनकी छोरी, हुनेवाला बुहारी भक्तपुरको खाँटी नेवारकी छोरी । एक्लो छोराले आमा–बुबालाई मनाउन हजार कोसिस गरे तर पग्लिएन आमाको मन । छोरामाथि कि मन पराएकी केटी त्याग्ने कि आमाबाबु त्याग्ने विकल्प आइलाग्यो । पेशाले दुवै जना सरकारी अड्डाका इञ्जिनियर । एउटै फिल्डको भएकाले केटाकेटी विवाहका लागि राजी भए तर आमाबाबु मानेनन् । हुनेवाला बुहारी जागिरे नभए पनि फरक पर्दैन, सम्पत्ति जत्ति पनि छ तर कुल (बाहुन) की छोरी हुनुपर्छ भन्ने आमाको अडान तल–माथि भएन ।

केहीसीप नलागेपछि पहिलो विकल्प रोजे र आमाबाबु त्यागे । ६ वर्षदेखि मन पराएकी युवतीलाई गत वैशाखमा भगाएरै साथीभाइको रोहवरमा बिहे गरे । नेवार खलककी भएकीले युवतीका आमाबाबु पनि नेवारलाई नै ज्वाइँ बनाउने योजनामा थिए, उनीहरू पनि चिढिए, बाहुनले नेवारकी छोरी भिœयाएपछि पहिलेदेखि चिढिएका युवाका आमाबाबु झन् चिढिए । पाँच वर्षदेखि आमालाई सम्झाउँदा–सम्झाउँदा वाक्क भएका छोराले जन्मदिने आमाबाबु त्यागे तर प्रेमिका त्याग्न सकेनन् । ‘बिहे गर्ने हामीले हो, आमाबाबुका लागि बिहे गरिदिने होइन, आमा बाबुको मन हो एक दिन रिस मरेपछि फर्किन्छ,’ उनीहरू ढुक्क छन् ।

काभ्रेकी कुमाइँ बाहुनकी छोरी काठमाडौँको खाँटी उपाध्याय खलकका युवाले बिहे गरे । दुवै जना ब्राह्मण समुदायको भएकाले आमाबाबुको ‘सपोर्ट’ पाइनेमा ढुक्क थिए । युवतीका बाबुले बिहे नगरी आमालाई भिœयाएका कारण आफ्नो जात तल झरेको भन्दै सासूससुराले उनले पकाएको चियाबाहेक केही खान मानेनन् । बिहे गरेको १७ वर्ष भयो, ‘एक्लो छोरो भएकाले भिन्नै बस् भन्न सकेका छैनन्, सँगै बसेर बसेजस्तो पनि छैन,’ सत्र वर्ष दलितको व्यवहारमै बित्यो उनको । आफू के कारणले तल्लो जातको भएँ भन्ने थाहा छैन, पौडेलकी छोरी घिमिरेकी बुहारी हुन् तर सधैँ सासू–ससुरासामु तल्लो दर्जाको व्यवहार भोग्नुपर्छ उनले ।

नुवाकोटको बाहुनकै छोरी धादिङका बाहुनले बिहे गरे । बाहुनकै छोरी बिहे गरेकाले घरपरिवारमा राम्रो थियो । दुवै जना प्राविधिक लाइनका सरकारी जागिरे छन् । बुहारी जैसी बाहुनकी छोरी, आफू उपाध्याय भएपछि उनी पनि छुवाछुतको चंगुलमा फसिन् । घरमा ससुराको तिथि परेको दिन बुहारीलाई घर पोत्नसमेत दिइएन । बाहुन भए पनि उपाध्यायभन्दा तल्लो दर्जाको भएकीले उनले पोतेको घर पितृका लागि अशुभ हुन्छ रे † दुवै जना सरकारी जागिरे भए पनि उनीहरूको वैवाहिक जीवन सहज हुन सकेन । एक्ली आमा छाड्न सक्दैनन्, आमाको अहङ्कार पनि तोड्न सकेनन् । ‘शरीरमा बल हुञ्जेल जात र भात हो थला परेपछि कुन उपाध्याय बुहारी आएर स्याहार गर्ने हो हेरौँला,’ बुहारीको गुनासो छ ।

धेरै समय भएको छैन गाउँका छिमेकी एक जना दाइले आफूले मन पराएकी तर तल्लो जातकी केटीलाई भाउजू बनाएर ल्याए । घरमा आमाबुबाले भिœयाउन मानेनन् । ‘आमाबुबाको मुटुमा छुरा रोपेर तल्लो जातकी केटी भिœयाउन खोज्ने ? आफ्नो मनलाग्दी गर्नेले जहाँ लगेर पाल्छस् पाल्’ भन्दै आमाबुबाले छोराबुहारीलाई आँगनमा उभ्याएको उभ्याइ गरे । गाउँलेको बिन्तीपछि करले बुहारी त भिœयाए तर व्यवहार भने दलितकै जस्तो । खेतालाजस्तो बाहिरको काम गर्ने, भित्रको काम नगर्ने दर्जामा परिन् भाउजू ।

आफूले मन पराएर दुवै जनाको मन मिली ल्याएकी श्रीमतीलाई नानाथरी वचन र लाञ्छना लगाएपछि दाइले अलग्गै भान्सा गर्न थाले । अर्थात् आमाबाबु त्यागे तर मन पराएकी श्रीमती त्याग्न सकेनन् । आमाबाबु र सन्तानको सकारात्मक मनोभावना हुने हो भने कुनै पनि जोडी आमाबाबुबाट टाढिएर बस्नुपर्ने अवस्था आउँदैनथियो । सन्तान र आमाबुबाबीच मित्रता भएपछि पारिवारिक कलहको अवस्था पनि उत्पन्न हुने थिएन । सधैँभरि आमाबाबु त्याग्ने र हुनेवाली त्याग्ने विकल्पमा नवजोडी बाध्य हुनुपर्ने अवस्था अन्त्य गर्न सके कसो होला ?

(साभारः जनआस्था साप्ताहिक)

    Comment Here!