सुदूरपश्चिमको एक फन्को

प्रकाशित मिति :

यात्रा संस्मरण – 

२०७२ साल फागुन महिनाको तेस्रो साता । कैलाली बहुमुखी क्याम्पसमा आम सञ्चार तथा पत्रकारिता विषय तेस्रो वर्षमा अध्ययनरत हामी १२ जनाले अछाम, डोटी र डडेल्धुराको भ्रमणका लागि जाने निधो ग¥यौं । भ्रमणका प्रमुख रूपमा दुई उद्देश्य थिए– क) अछामा रहेको रेडियो सोसाइटी एफएममा विज्ञापनको अवस्थाबारे अध्ययन, अनुसन्धान र ख) सुदूरपश्चिमका पर्यटन स्थलहरूको भ्रमण । यो अनुसन्धान आम सञ्चार तथा पत्रकारिता विषय तेस्रो वर्ष अन्तर्गत ‘विज्ञापन, जन सम्पर्क र मिडियाका मुद्दाहरू’ विषयको प्रयोगात्मक सत्र थियो ।
हामी २०७२ फागुन २३ गते अछामको सदरमुकाम मंगलसेन पुग्यौं ।
रेडियो सोसाइटी एफएम, अछाम सामुदायिक सञ्चार अभियान, नेपालद्वारा सञ्चालित रेडियो सोसाइटी एफएम ८९ मेगाहर्ज सुदूरपश्चिमको पहिलो म्यागेजिन रेडियो स्टेसन हो । अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा स्टेसन रहेको यो रेडियोको प्रसारण क्षमता १०० वाट रहेको छ । यो रेडियोको अछाम, डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, दार्चुला, बझाङ, कैलाली, सुर्खेत, कालीकोट, हुम्लालगायत जिल्लामा पहुँच रहेको सञ्चालकहरूको दाबी छ । बिहान ४ः४५ बजेदेखि राति ११ः१५ बजेसम्म प्रसारण हुँदै आएको रेडियो सोसाइटीको नारा छ– ‘अब एउटै सुने पुग्छ’ । र, सञ्चालकहरूको दाबी छ– ‘हामीसँग साढे ११ लाख बढी रेडियो श्रोता छन् ।’

वैद्यनाथ धाम

वैद्यनाथ धाम, डडेल्धुरा

वैद्यनाथ धाम

अर्काे दिन अथवा फागुन २४ गते हामी मंगलसेनबाट साँफेबगरमा बिहानको खाना खाने गरी हिड्यौं । शिवरात्रिको दिन भएकोले हामीले प्रसिद्ध वैद्यनाथ धाम पुग्ने अठोट ग¥यौं । वैद्यनाथ धाम बुढीगंगा नदीको किनारामा अवस्थित फाँटमा रहेको छ । नेपालका पाशुवत क्षेत्र, बराह क्षेत्र, मुक्तिनाथ क्षेत्र र वैद्यनाथ क्षेत्रलाई चार धाम मानिएको छ ।
साँफेबगरबाट लगभग एक घण्टाको पैदल यात्रामा वैद्यनाथ धाम पुगिन्छ । बाटोमा जाँदै गर्दा लुंग्रा गाविसका स्थानीयले वैद्यनाथमा चढाउन पञ्चैबाजासहित परगलो (काँचो बाँसको भाटामा ध्वजापताका बाँधेर बाजागाजासहित ल्याइन्छ) ल्याउँदै थिए । पुरै बाँसको रुख नै हुने तथा ठाडो पारेर ल्याउनु पर्ने भएको उनीहरूलाई परगलो बोक्न हम्मेहम्मे परिरहेको थियो ।
वैद्यनाथ धाममा विक्रमसंवत २०५९ सालमा यज्ञशाला संस्कृतिक पर्यटनद्वारा विवाह मण्डप निर्माण गरिएको छ । वैद्यनाथमा सिद्ध गोरखनाथ, स्वामी कार्तिकेय, सिद्ध मण्डपनाथ, जगतमाता पार्वती लगायतका मन्दिर निर्माण भएका छन् ।
करिब तीन सय वर्षअघिसम्म वैद्यनाथ मन्दिर हालको स्थानभन्दा माथि श्रीकोटमा रहेको स्थानीय बनाउँछन् । बाढीपहिरोले श्रीकोटमा क्षति पु¥याएपछि मन्दिरलाई वैद्यनाथमा सारिएको वैद्यनाथ क्षेत्र विकास समितिका लिखतहरूमा उल्लेख छ । बाढीको कारण श्रीकोटमा रहेको मन्दिर तथा शिवलिङ्ग वैद्यनाथमा फेला परेपछि स्थानीयले सोही स्थानमा पूजाआजा सुरु गरेको लोकोक्ति छ । विक्रमसम्वत १९८६ सालमा साँफेबगर नजिक बुढीगंगामा मिसिने छिपेखोलामा आएको विनाशकारी बाढीले वैद्यनाथ क्षेत्रका प्रायः सबै संरचना बगाएकोमा शिवलिङ्ग भने यथावतै रहेकोले पुनः मन्दिर स्थापना गरी पूजाआजा जारी रहेको बताइन्छ ।
विसं १८५२ साल भदौमा नेपालका तत्कालीन राजा रणबहादुर शाहले वैद्यनाथ क्षेत्रका तीन गाउँ र नौ खेत जग्गामा लालमोहर लगाई राजगुठी घोषणा गरेको वैद्यनाथ क्षेत्र विकास संस्थाको अभिलेखमा उल्लेख छ । त्यस्तै, विसं १८८० तिर तत्कालीन राजा राजेन्द्रबिक्रम शाहले काठमाडौँबाट कालीगढ पठाएर अछामका चौतरिया पुष्कर शाहको अगुवाईमा वैद्यनाथमा भव्य मन्दिर निर्माण गरेको पाइन्छ ।

‘नौमुठे’ गाई
अछाम नौमुठे गाई पाइने नेपालको एकमात्र जिल्ला हो । नौमुठे गाईलाई अछामी गाई पनि भनिन्छ । यो गाईको आकार सामान्य गाईभन्दा निकै कम हुन्छ । अगाडिको खुट्टाबाट जुरोको भागसम्मको उचाइ मानिसको हातको मुट्ठीले मापन गर्दा नौ मुठी हुने भएकोले यसलाई नौ मुठी वा नौमुठे गाई भनिएको हो । न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसदेखि अधिकतम ८० डिग्री सेल्सियस तापक्रममा बाँच्न सक्ने यो गाईको औसत तौल एक सय ५० किलोग्राम र साढेंको औसत तौल एक सय ६० किलो हुने गरेको स्थानीयको कथन छ । यो विश्वकै सबभन्दा सानो प्रजातिको गाई मानिएको छ । जिल्ला पशुसेवा कार्यालय, अछामको तथ्यांकानुसार नौमुठे गाईको सङ्ख्या चार सय ४७ मात्र रहेको छ ।
वैद्यनाथको दर्शनसँगै झिसमिसेमा बुढीगंगा नदीमा निर्मित आकर्षक झोलूंगेपूल र नजिक रहेको परम्परागत पानी घट्टको अवलोकन ग¥यौं । अछामको दुई दिनको छोटो बसाई पछि हामी अर्काे बिहान (२५ गते) सुदूरपश्चिमको नौवटा भगवतीमध्ये डोटीको शैलेश्वरी माताको दर्शनका लागि जाने निधो गरेर साँफे फर्कियौं ।

शैलेश्वरी भगवती मन्दिर

शैलेश्वरी भगवती मन्दिर

शैलेश्वरी भगवती मन्दिर

डोटीको सदरमुकाम सिलगडीमा रहेको शैलेश्वरी भगवतीको मन्दिरको मुलद्वारमा एउटा सुन्दरपंक्तिमा दृष्टि प¥यो– ‘रिसले बुद्धिलाई खाईदिन्छ, घुसले न्यायलाई, लोभले इमानलाई र चिन्ताले उमेरलाई खाइदिन्छ ।’ आकर्षक कलाबाट निर्मित शैलेश्वरी मन्दिर रुद्राक्षको माला र शेषनागले घेरिएको छ । शैलेश्वरी विकास समितिले मन्दिरको व्यवस्थापन गरिरहेको छ । यहाँ ज्ञान मण्डप, सिद्धि मण्डप र मुक्ति मण्डप रहेका छन् । शैलेश्वरीको मूर्ती सबैले हेर्न पाइँदैन । शैलेश्वरीलाई गुप्त भगवती मानिन्छ । सुदूरपश्चिमका तान्त्रिक विधिबाट स्थापित भगवतीका प्रसिद्ध मन्दिरमध्येको एक मानिन्छ, शैलेश्वरी मन्दिरलाई । बाजुराको बडिमालिका, अछामको बरदादेवी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, मेलौली र निंगालासैनी र बझाङको सुर्मादेवीसँगै शैलेश्वरी भगवती मन्दिर यहाँका प्रसिद्ध शक्तिपीठ मानिएका छन् ।
विसं १९१६ सालमा काठमाडौँ असन न्हैकन्तला तुम्बहालका गुजेंनारायण राजभण्डारी (श्रेष्ठ) सिलगढी बसाईसराई गरी शैलेश्वरी मन्दिरको मूलद्वारमा सिंहको जोडी र मन्दिरको छाना निर्माण गर्नुका साथै एक सय आठ घण्टीहरू चढाएको शिलालेखमा उल्लेख छ । सो सिंह र घण्टीहरू जीर्ण भएपछि उनका सन्ततीहरूले २०५७ साल वैशाखमा ढलौटको नयाँ जोडी सिंह र घण्टीहरू राखेर २०५९ साल माघ महिनाको १२ औँ लक्ष्यहोमको उपलक्ष्यमा मन्दिरको माथिल्लो तला र तल्लो तला वरिपरि तामाको झलर बनाएर चढाएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ ।
शैलेश्वरीमा देवीको नित्य पूजा सिलगाउँका भट्ट ब्राह्मणद्वारा गरिन्छ । प्रत्येक वर्ष जेठ र कात्तिक पूर्णिमाका दिन लक्ष्यवहन महायज्ञ परम्परागत रूपमा प्राचीन कालदेखिनै हुँदै आएको छ । भगवान् शिव र माता पार्वतीले विवाहपश्चात मधुचण्डिकाका निम्ति डोटी जिल्लामा अवस्थित रमणीय चन्द्रागिरी पर्वतलाई रोजेका थिए । ब्रम्हा, विष्णु लगायतका देवताहरू भगवान् शिवको खोजी गर्दै यहाँ आईपुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरूप शिला बनेको हुनाले त्यसै बेलादेखि यसलाई शिलादेवी अर्थात् शैलेश्वरी देवी नामाकरण गरिएको लोकमान्यता छ ।

उग्रतारा माताको दरबार

उग्रतारा माताको दरबार

भ्रमणको अन्तिम दिन फागुन २६ गते सुदूरपश्चिमको नौवटा भगवतीमध्ये डडेल्धुराको उग्रतारा माताको दरबारको दर्शन ग¥यौं । उग्रतारा माताको महिमा गानका केही अंश यस्ता छन्–
‘तारा काली भैरवी, तिम्रो रूप अति,
सम्झ्यो जसले एक, दिन्छिन् राम्रो मति,
तिम्रो महिमा गाउन, कसले सक्छ यहाँ,
नाम मात्र जसले दिन्छ, पुग्छ शिवापुरीमा । जय माँ उग्रतारा ।’
मन्दिरको परिसरमा मूर्तीको सम्मान स्वरूप ‘मूर्तीहरूमा अँगालो हालेर फोटो लिए भनेदेखिन् पाप लाग्छ । किनभने जति मूर्तीहरू बनेको छ सबै पूज्यनीय हो’ भन्ने उल्लेख गरिएको छ । उग्रतारा मन्दिर सुदूरपश्चिमकै ठुलो शक्तिपीठ तथा ३३ कोटी देवताको धाम पनि मानिन्छ । यो मन्दिर डडेल्धुराको सदरमुकाम खलंगादेखि चार किलोमिटर पश्चिमउत्तरपट्टी रहेको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका बागबजारबाट करिब ६ किलोमिटर डडेल्धुरा–बैतडी राजमार्गको पश्चिम पट्टीको अग्लो विशाल तथा रमणीय फाँट देहिमाडौंमा माता उग्रतारा देवीको वासस्थान रहेको छ ।
उग्रतारा मन्दिरका विषयमा विभिन्न मत रहिआएका छन् । ग्रामीण महिला विकास तथा एकता केन्द्रको सौजन्यमा उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराले प्रकाशित गरेको ‘उग्रताराको एक झलक’ नामक पुस्तिकामा उल्लेख भएअनुसार– दशमहाविद्वारमा वर्णन भएअनुसार अक्ष्योम्य पुरुष र तिनको महाशक्ति उग्रतारा हुने वर्णन पाइन्छ । हिरण्यगर्भ विद्याका अनुसार निगमशास्त्रहरूले सम्पूर्ण विश्व रचनाको आधार सूर्यलाई मानेका छन् । सौर्यमण्डल आग्नेय हुनाले हिरण्य गर्भको लागि अग्नि कहिले पनि हिरण्यतामा एक शक्ति छन्, तिनको नाउ हो तारा तिनलाई नै उग्रतारा भनिन्छ । त्यो शक्तिलाई समन गर्न सूर्यको उग्ररूपताराको प्रादूर्भाव भयो अति उग्ररूप तारालाई साम्य पार्न अग्नाहुती दिइयो । त्यसबेला अग्नाहुती नदिइएको भए सूर्यशक्ति महाउग्र हुन्थे र सम्पूर्ण संसार प्रलय हुन्थ्यो । त्यही शक्ति उग्रताराका नाउले प्रसिद्ध भइन् ।
उग्रतारा मन्दिरको उत्पत्ति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शीलालेख भेटिएको छैन । उग्रताराको एक झलक पुस्तिकामा उल्लेख भएअनुसार– धेरै वर्ष उग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साकी जातिको बसोबास रहेको थियो । जुन त्यहाँको हाल रहेको भूबनोटले पनि स्प्रष्ट हुन्छ । उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साकी जातिहरूले कृषि कार्य गर्दथे । एक दिन एक जना किसान हलो जोतिरहेको अवस्थामा हलोको फाली शीलामा गढेर शीलाबाट निरन्तर रगतको धारा बगिरह्यो । किसानले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा पनि रोकिएन । रगतको खोला बग्न शुरु भयो । हाल पनि यो खोला तलन्वा खोलाको नामले चिनिन्छ । यसरी बगिरहेको रगत रोक्न किसानले खानु भनी ल्याएको मासको खिचडी सोही शीलाको घाउमा लगाउँदा रगत बग्न रोकियो ।
त्यसपछि त्यो शीलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो । ती किसान नै त्यहाँको पुजारी भए र तिनको सन्तानहरूले पुजारी हुँदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्री भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरीर सुति करिब पाँच किलोमिटर तल शैलेश्वर महादेव मन्दिर भित्रको सानो झ्यालबाट भित्र छिरी सकेर अन्य परम्परागत क्रिया गरी वास्तविक गृहस्थ जीवन त्यागी भगवतीको पूजामा रहनु पर्ने प्रचलन छ ।
अर्को श्रुतीअनुसार– एक समय उग्रतारा माताको पुजारीको वृद्ध अवस्थासम्म पनि सन्तान नभएकोले सन्तान पाउ भन्ने आग्रह गर्दा उग्रतारा माताले पछि दुःख पाइन्छ भन्दा उसले सन्तानको ढिपी गरिरहँदा उनको छोरो भयो । छोरो ठुलो भएपछि पुजारीको सबै घर व्यवहार छोराले सम्हाल्थे, तर एक वर्षको उग्रताराको मेला हुने अघिल्लो दिन सो गाउँमा थुप्रै पाहुना आए (पाहना आउने चलन अझैं पनि जारी छ र, आएका पाहुनाहरूको सत्कार गर्न त्यो गाउँको मानिस आफ्नो परमकर्तव्य सम्झन्छन्) आधा रातसम्म पाहुनाकै सत्कारमा ती बृद्धाको छोराबुहारीको समय बितेको र त्यस अवधिमा आफ्नो कुनै वास्ता नगरेकोले वृद्ध आक्रोसका साथ रातिनै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस् भन्दा भोलिपल्टा मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किम्बदन्ती छ ।
यसैगरी, कात्तिक पूर्णिमा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीन कालमा गर्खागर्खाबाट लडाकुहरूले आ–आफ्नो वीरता साथ लडाई हुँदा रगतको खोला बग्ने जसलाई यहाँ न्वाखोलाको रूपमा नामकरण गरिएको छ । कात्तिक शुक्ल पूर्णिमाको दिन जिल्ला भरीबाट मात्र नभई अन्य जिल्लाबाट मेला भर्न आउँछन् । यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिउद लाग्ने हुँदा डडेल्धुरावासीको कृषि कार्यबाट फुर्सदका दिनहरू आउँछन् । खनमडा, छचोडा, दमडा र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाउँबाट देउरो आउँछ । यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशीको राति रत्यौली मनाउने, मन्दिर पुग्नु अगाडि लटाउली लगायत खनमडाट, जिलोडा र दमडामा सांस्कृतिक जात्रा गरी देउरो उग्रतारामा लगिने गौरवमय परम्परा रहेको छ ।
उग्रतारा मन्दिरलाई २०३८ सालमा पुनःनिर्माण गरे पनि कतिपय कलाकृतिको अभावका कारण हाल उग्रतारा क्षेत्र विकास समितिको पहलमा नयाँ मन्दिर, कलात्मक मूर्तीले मन्दिर परिसर निकै रमणीय बनाएको छ । उग्रतारामा प्रत्येक महिनाको आमावस्या (औंसी), पूर्णिमा, एकादशी, सोह्र श्राद्ध, साउन र माघ महिना र तिथिमा बलि चढाउन नपाइने मन्दिरका मुख्य पुजारी दयाकृष्ण भट्टले बताए ।

अमरगढी किल्ला

अमरगढी किल्ला

अमरगढी किल्ला

भ्रमणको अन्तिम चरणमा फागुन २६ गते सुदूरपश्चिमको केन्द्रबिन्दुको रूपमा रहेको करिब दुई सय २५ वर्ष पुरानो अमरगढी किल्लाको अवलोकन ग¥यौं । अमरगढी किल्ला विक्रमसम्वत १८४७ मा बडाकाजी अमरसिंह थापाले स्थापना गरेका थिए । यो किल्ला नेपालको दुईवटा किल्लामध्ये पूूर्वको सिन्धुलीगढी र पश्चिमको पूर्ण जीवित र आफ्नो छुट्टै पहिचान रहेको ऐतिहासिक, पौराणिक, धार्मिक ढुंगेकिल्लाका रूपमा अमरगढी किल्ला चिरपरिचित छ ।
२२ वटा ड्युटी पोस्ट र तीन वटा तोप हान्ने पोस्ट रहेको विशाल ढुंगेकिल्ला मासको गाह्रो र काठबाट कलात्मक ढङ्गले निर्मित छ । किल्लामा चार सय ५० मिटर गुप्तद्वार रहेको थियो भने हाल तीन सय मिटर ध्वस्त भएको छ । अमरगढी किल्लाबाट पश्चिम गढुवालसम्म तोप हान्न सकिने जानकारहरू बताउँछन् ।
यसको निर्माणको वृतान्त यस प्रकार छ– श्री ५ रणबहादुर शाहको शासनकाल तथा राजकुमार बहादुर शाहको नायवीमा सञ्चालित नेपाल एकीकरणको सिलसिलामा विक्रमसंम्वत १८४७ भदौ १३ गते आइतबारको दिन सेती नदीको नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएका दश कम्पनीका गोर्खाली सैनिक र डोटेली सैनिकबीच घमसान युद्ध भयो । सो युद्धमा गोर्खाली फौजीका सामु डोटेली फौज पराजित भईसकेपछि डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो । बडाकाजी अमरसिंह थापा यस क्षेत्रको प्रथम प्रशासकको रूपमा नियुक्ति भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारि पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएकोे इतिहास छ ।
यो विशाल किल्लाकै कारण १८७३ को अङ्ग्रेजसितको लडाइमा महाकाली वारिको भू–भागको संरक्षण भएको थियो । यसरी इतिहासबाट के प्रस्ट हुन्छ भने १८७४ पछिको नेपालको सार्वभौमिकतामा यस किल्लाको सामरिक महŒव पनि धेरै छ । वडाकाजी अमरसिंह थापाले किल्लालाई आधार शिविर बनाएर नेपाल एकीकरणअन्तर्गत पश्चिम नेपालको विजय अभियान सञ्चालन गरेका थिए । अमरगढी किल्लाको नेपाली सेनाको टुकडीले सुरक्षा गर्दै आएको छ । (स्रोतः अमरगढी नगरपालिका कार्यालय, डडेल्धुराद्वारा प्रकाशित अमरगढी किल्लाको एक झलक पुस्तिका)
२०५४ सालमा अमरगढी किल्लाको नामबाट अमरगढी नगरपालिका घोषणा भयो । नगरपालिका स्थापना पछि २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो संरक्षणमा राखेको छ ।

अन्त्यमा,
सुदूरपश्चिमलाई सुदूर होइन, सुन्दर सुदूरपश्चिम भन्ने गरिन्छ । त्यो त्यसै भनिएको होइन । सुदूरपश्चिममा भौगोलिक आकर्षण, रमणीय छटा, मनमोहक धार्मिकस्थल भएकैले सुन्दर भनिएको हो । एक पटक सुदूरपश्चिमको भ्रमण गर्नुहोस्, र यहाँको सौन्दर्यपान गर्नुहोस् ।

    Comment Here!